भर्खरै :

अनुकरणीय कार्यको अभियानमा भक्तपुर

अनुकरणीय कार्यको अभियानमा भक्तपुर

आजको बिहानी सधैँको भन्दा फरक र आनन्दमय भयो । बिहानका दैनिक क्रियाकलापपछि बिहानको पूरै समय लेखनमा बिताएँ । विगत केही दिनदेखि मेरो बसाइँ भक्तपुर नगरपालिकामा थियो । भक्तपुर नगरपालिकाले सँगालेका अनुभव तथा गरिरहेका कार्यहरूको बारेमा सोधखोज गर्दै लिपिबद्ध गर्ने मेरो मनसाय थियो । मेरो भक्तपुर बसाइँको क्रममा सङ्कलन गरेका सूचनाहरूलाई जोडघटाउ गर्ने कार्य थालनीमा बिहानभरि बित्यो । मैले आफूले देखेका, सुनेका, अनुभूति गरेका सबै दृश्यहरूको सँगालो तयार गरेँ । केही पत्रपत्रिकाको पनि सहयोग लिएँ, केही पुस्तकको पनि सहयोग लिएर भक्तपुरको बारेमा तयार गरेको लेखले मलाई आनन्दित तुल्यायो । हृदयमा खुसी र गौरवको महसुस भयो ।
अनुकरणीय निर्माणको अभियानमा भक्तपुर
१२ आँै शताब्दीदेखि १५ औँ शताब्दीसम्म नेपालमण्डलको राजधानी तथा १८ औँ शताब्दीसम्म छुट्टै स्वतन्त्र राज्यको रूपमा रहेको एउटा ऐतिहासिक सहर हो भक्तपुर । कला, कौशल, संस्कार, संस्कृति र सम्पदाको जननी भएको यो सहर स्वतन्त्र राज्यको अस्तित्व गुमेपछि लामो समयसम्म सत्ता, शक्ति, स्वाभिमान तथा समग्र प्रगतिको पथमा ठगिएको पाइन्छ । जसलाई विभिन्न विज्ञ तथा इतिहासकारहरूले अन्धकारको अवधि भनेको पाइन्छ । नेपालमा २००६ सालमा स्थापना भएका पुराना नगरहरूमध्येको एक नगर भक्तपुर भएर पनि बत्तीमुनिको अन्धकार भनेझैँ काठमाडौँको काखैमा रहेको यो सहर सधैँ शिक्षा, स्वास्थ्य, विकास तथा समग्र क्षेत्रमा सधैँ ओझेलमा परेको विगत देखिन्छ ।
शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सरसफाइ, चेतना, रोजगारलगायत समग्र पक्षमा सबैभन्दा पछि परेको भक्तपुरको विकास र उन्नति तथा प्रगतिको यात्राको श्रीगणेश अर्थात् अहिलेको भक्तपुरको विजारोपण २०१९ सालमा नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगर पञ्चायतको वडाध्यक्षका रूपमा निर्वाचित भएपछि सुरु भएको देखिन्छ । सकारात्मक सोच, सृजनात्मक चिन्तन, निःस्वार्थ भावना, पवित्र हृदय, फराकिलो दृष्टिकोणले भक्तपुरलाई कामदार र गरिखाने व्यक्तिहरूको सभ्य र असल नागरिक बनाउने अभियान थालनी भएको देखिन्छ । योग्यताअनुसारको काम, कामअनुसारको ज्याला, गाउँ र सहरबिचको विभेद कम गर्ने, शारीरिक श्रम र मानसिक श्रमबिचको विभेद घटाउने, मानिसले मानिसलाई शोषण, दमन, अन्याय, अत्याचार गर्ने परिपाटीको अन्त गर्ने, काम र मामको ग्यारेन्टी गर्ने, शिक्षा स्वास्थ्य सर्वसुलभ र निःशुल्क गर्ने, पर्यटनलाई अगाडि बढाउने, कला, कृति, संस्कार, संस्कृति, सम्पदा, भाषा, भेषभूषा, मौलिकता आदिको संरक्षण, संवद्र्धन र विकास गर्ने र भक्तपुरलाई शिक्षा, स्वास्थ्य, कला र संस्कृतिको केन्द्र बनाउने अभियानको विजारोपण गरेको देखिन्छ । यसरी सूक्ष्मरूपमा थालिएको भक्तपुरलाई उदाहरणीय नगर बनाउने अभियानलाई व्यवस्थित र प्रभावकारीरूपमा अगाडि बढ्ने काम २०३९ सालमा नगर पञ्चायतमा नेपाल मजदुर किसान पार्टीका प्रतिनिधिहरू पुगेपछि देखिन्छ । फोहरी, अशिक्षित, अविकसित, विकास र प्रगतिको दृष्टिले पछि परेको यो नगर अहिलेको अवस्थामा पुग्दा अनगिन्ती समस्या, चुनौती, कठिनाइ पार गरेको देखिन्छ । तत्कालीन बुद्धिजीवीका अनुसार ‘एसएलसी पास गर्न भक्तपुर जानुपर्छ’ भन्ने कहावत अन्य आसपासका जिल्लामा भन्ने गरिन्थ्यो रे ¤ किनकि, भक्तपुरमा परीक्षा चिट चोर्ने परिपाटी धेरै रहेछ । यस्तो शिक्षा, स्वास्थ्य, सरसफाइमा पछि परेको, गरिब, किसान र कामदारवर्गको बाहुल्यता भएको यस नगरलाई ‘शिक्षा विकारे सकलो विकार, शिक्षा सुधारे सकलो सुधार’ भनेझैँ शिक्षालाई सबैभन्दा पहिलो प्राथमिकतामा राखेको देखिन्छ । २०३९ सालमै यो नगरले प्रत्येक विद्यालयमा कम्तीमा एक जना नगर शिक्षकको व्यवस्था गरेको थियो । जुन कुरा वर्तमान अवस्थामा नेपालका केही स्थानीय तहहरूले भर्खरै अनुकरण गर्न थालेका छन् । नेपालमा पञ्चायती व्यवस्थाले कक्षा पाँचसम्म निःशुल्क शिक्षा घोषणा गर्ने बेला यो नगरले कक्षा सातसम्म निःशुल्क शिक्षा गरिसकेको थियो । बाल शिक्षा, प्रौढ शिक्षाको माध्यमले हरेक टोलहरूमा साक्षरता अभियान सञ्चालन गरेको देखिन्छ । आर्थिक पारदर्शिता, इमानदारीता र आर्थिक अनुशासनको थालनी गरेर सबै कुरा जनतालाई सुसूचित गर्न, जनताको चेतना स्तर उकास्न, शिक्षा, स्वास्थ्य र सरसफाइमा सबैलाई सहकार्य गर्न अभिप्रेरित गराउने उद्देश्यले ‘ पञ्चायत’ मासिक पत्रिका प्रकाशन गरिएको थियो जुन पत्रिका अहिलेसम्म ‘भक्तपुर’ को नामले प्रकाशित भइरहेको छ । शिक्षा, स्वास्थ्य, सरसफाइका अभियानहरू, मोहियानी हक स्थापना गर्ने अभियान (आन्दोलन), राजनैतिकरूपले सचेत र सङ्गठित गर्ने, नियमित कार्यक्रम, छलफल, अन्तरक्रिया, बहस सञ्चालन गर्ने कामलाई नियमितरूपमा निरन्तरता दिएकोले नै अहिलेको भक्तपुर भएको देखिन्छ । पञ्चायती कालमा जनप्रतिनिधिहरूले जनताको पक्षमा गरिरहेका जनप्रिय काम देखेर त्रसित भएर तत्कालीन सरकारले अनेकौँ जालझेल तथा षड्यन्त्र गरेर यो अभियानलाई समाप्त गर्न खोजेको देखिन्छ । सम्पूर्ण जनप्रिय व्यक्तिहरूलाई समूल नष्ट गर्ने अकल्पनीय ‘भक्तपुर काण्ड’ राज्यस्तरबाट रचेको देखिन्छ । जुन काण्डमा तत्कालीन सरकार प्रमुख वा प्रधानमन्त्री मरिचमान श्रेष्ठ, व्यवस्थापकीय प्रमुख नवराज सुवेदीसमेत सडकमा उत्रिए र देश बनाउने अभियानका प्रमुख व्यक्तिको विरुद्ध ‘रोहितलाई फाँसी दे’ जस्ता नारा लगाए । धेरैलाई जेलमा हालिएको थियो, कडा यातना दिने काम गरियो । घरघर, बस्तीबस्तीमा पसेर सुरक्षाकर्मी तथा पञ्चायत समर्थक गुण्डाहरूले धेरै दुःख दिएका थिए । यस्तै गलत प्रवृत्तिका कारण ‘आगोमा खेल्नेलाई आगोले पोल्छ, पानीमा खेल्ने पानीमा डुब्छ वा रुख चढ्ने व्यक्ति रुखबाटै लड्छ’ भनेझैँ अरुलाई समाप्त गर्न खोजेको पञ्चायत आफैँ समाप्त भयो । अझै भक्तपुरको शैक्षिक अभियान २०४६ सालपछि व्यवस्थितरूपमा तीव्रगतिले अगाडि बढेको देखिन्छ । अनौपचारिकरूपमा जनस्तरबाट यहाँको शैक्षिक उन्नति र प्रगतिको अभियान २०४९ सालको स्थानीय चुनावपछि तीव्रता पाएको देखिन्छ । नेपाल मजदुर किसान पार्टीका प्रतिनिधिहरू आफू निर्वाचित भएपछि निःस्वार्थरूपमा जनताको सेवामा लाग्ने अठोट गर्दै शिक्षालाई विशेष जोड दिन नीतिगत सुधार गरेर अगाडि बढेको पाइन्छ । शिक्षाको विकास र विस्तारको लागि नगरपालिकाले आर्थिक स्रोत जुटाउन पर्यटन शुल्क लिएर अगाडि बढेको देखिन्छ । भक्तपुर नगरपालिकाको शिक्षामा चौतर्फी विकासको घोषणा २०५७ सालमा नारायणमान बिजुक्छेँ (रोहित) ले बृहत् समारोहबिच ‘पन्ध्र वर्षभित्र एक घर एक स्नातक’ बनाउने घोषणा तथा ‘सय वर्षपछि को भक्तपुर’ नामक पुस्तक प्रकाशित गरेर थप उचाइमा पुगेको देखिन्छ । उक्त घोषणाप्रति कति बुद्धिजीवीहरूले यो योजना कार्यान्वयन गर्न सम्भव छैन भन्दै विरोध गरेका थिए । उक्त घोषणालाई पूरा गर्न यहाँका कार्यकर्ता, बुद्धिजीवी, किसान, मजदुर, जनप्रतिनिधि, शिक्षक, कर्मचारीहरू सबैले आ–आफ्नै स्थानबाट ऐक्यबद्धता जनाउने काम भयो । शैक्षिक अभियान अगाडि बढाउन नगरपालिकाले शिक्षण संस्था सञ्चालन गर्ने निर्णय गर्दै अगाडि बढेको देखिन्छ । २०५७ सालमा भक्तपुर नगरपालिकाले ख्वप उच्च मावि ( ख्वप कलेज) को स्थापना ग¥यो । भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउने उद्देश्यले ख्वप इन्जिनियरिङ कलेज, ख्वप बहुप्राविधिक अध्ययन संस्थान, ख्वप कलेज अफ इन्जिनियरिङ, ‘शारदा कलेज’, ‘शारदा मावि’, ‘ख्वप कलेज अफ ल’ गरी आठवटा उच्च शिक्षा दिने शैक्षिक संस्थाहरू सञ्चालन भइरहेका छन् । अहिले उक्त कलेजहरूमा नेपालका ७७ वटै जिल्लाबाट सात हजारभन्दा धेरै विद्यार्थीहरूले अध्ययन गरिरहेका छन् । बाल उद्यान, शिशु स्याहार, आदर निकेतनदेखि विभिन्न विषयमा उच्च शिक्षासम्म अध्ययन अध्यापन गराउने कलेजहरूको स्थापना गर्ने नेपालकै पहिलो नगरपालिका भक्तपुर बनेको छ । गरिब तथा जेहेनदार विद्यार्थीहरूलाई वार्षिक चार करोडभन्दा बढी छात्रवृत्तिको व्यवस्था गरिएको छ भने पाँच लाखसम्म शैक्षिक ऋण दिने गरिएको पाइन्छ । नगरपालिकाको तथ्याङ्कअनुसार हालसम्म ६ सत्न्दा धेरैले शैक्षिक ऋण लिएर उच्च शिक्षा लिएका छन् । यहाँका कलेजहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विभिन्न समयमा शैक्षिक गोष्ठी, अभियान, मेला, प्रदर्शनी, सेमिनार, सम्मेलनहरू सञ्चालन गरेर सधैँ नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको देखिन्छ । यहीँ वर्ष २०८० सालमा दुईवटा इन्जिनियरिङ कलेजहरूले ‘कम्प्युटर, विद्युत्, सञ्चार, प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन २०८०’ सञ्चालन गरेर आफ्नो अन्तर्राष्ट्रिय शैक्षिक दायित्व निर्वाह गरेको देखिन्छ । यो पालिकामा हरेक व्यक्तिले आ–आफ्नो इच्छा, चाहना र रुचिअनुसार उच्च शिक्षासम्म पढ्न पाउने व्यवस्था गरेको देखियो । आर्थिक अभावका कारणले कोही पनि उच्च शिक्षा लिनबाट वञ्चित हुन नपर्ने गरी भरपर्दो व्यवस्था मिलाइएको छ । विभिन्न स्थानीय सरकार, प्रदेश सरकार वा केन्द्रीय सरकारले डाक्टर, इन्जिनियर, पाइलटजस्ता विषयमा उच्च शिक्षामा छात्रवृत्ति दिने गरेको पाइन्छ । भक्तपुर नगरपालिकाले माथिका विषयका साथै थप इतिहास, भूगोल, राजनीतिशास्त्र आदिको बारेमा अध्ययन गर्न छात्रवृत्तिको व्यवस्था मिलाएको छ । जनताका छोराछोरीलाई न्यूनतम शुल्कमा डाक्टर, इन्जिनियरलगायत विभिन्न विषयमा उच्चस्तरीय शिक्षा दिने उद्देश्यले ख्वप विश्वविद्यालय स्थापनाको लागि लागिरहेको छ ।
‘सदाचारको टापु’ बाट परिचित भक्तपुरमा विकास निर्माण कार्यदेखि जनचेतना तथा शिक्षा, स्वास्थ्य, संस्कृति, सम्पदाको निर्माण कार्यमा इमानदारीता, पारदर्शिता र निष्पक्षताको दृष्टिकोणले यो नगरपालिका देशकै नमुना बनेको छ । जुनसुकै कामकाजमा ठेकेदारहरूले तोकिएको सर्तमा, समयमा, गुणस्तरीय काम नभएको देखिन्छ भने उपभोक्ता समितिबाट पनि भनेअनुसारको कामहरू पूरा हुनसकेको छैन । श्रमदान लगभग लोप भएको, जताततै भागबन्डा, अनियमितता, भ्रष्टाचार, मनपरीमात्रै देखिएको अवस्थामा भक्तपुर नगरपालिकाले सबै विकास निर्माणका कामहरू उपभोक्ता समितिबाट अगाडि बढिरहेको छ । हरेक निर्माण कार्यमा श्रमदान गर्न स्वयं उपभोक्ताहरू लागेको यहाँ पाइन्छ । नगरपालिकाले अगाडि बढाएका कार्यमा आर्थिक सहयोग गर्न, चन्दा दिन, भौतिक सहयोग गर्न, श्रम सहयोग गर्न पाउनु आफ्नो लागि उनीहरू गौरव महसुस गर्छन् । निर्माण कार्यलाई उपभोक्ता समितिले तोकिएको समत्न्दा पहिल्यै पूरा गरी बचेको रकम नगरपालिकाको खातामा फिर्ता गर्ने गरेको पाइन्छ । प्रत्येक निर्माण कार्यको प्रगति विवरण सार्वजनिक गरिन्छ । निर्माण कार्यको खर्च विवरण मासिक पत्रिका ‘भक्तपुर’ मा प्रकाशन गरिन्छ । हरेक सानोतिनो विषयसमेत पारदर्शी गर्ने भएकोले ट्रान्सपरेन्सी इन्टरनेसनलले २०५६ मा नै भक्तपुर नगरपालिकालाई ‘सदाचारको टापु’ घोषणा गरेको देखिन्छ । यो पालिकाले आफ्नो अस्तित्व र स्वाभिमानमा आँच आउने कुनै काम गर्दैन, कसैसँग सम्झौता गर्दैन । २०७२ सालको भूकम्पले यो नगरमा आठ हजारभन्दा घरहरू, १२५ भन्दा धेरै सम्पदाहरू नष्ट भए, सयौँको ज्यान गएको दुःखद अवस्थामा समेत विदेशी हस्तक्षेपकारी सर्तको अरबौँ रकमलाई अस्वीकार गरेर नेपाल र नेपालीको गौरवशाली इतिहास कायम राख्न सफल भएको छ । जर्मन सरकारले एक अर्ब बीस करोडको सहयोगलाई विनासर्त भए स्वीकार्ने तर नेपाल र नेपालीको स्वाभिमानमा आँच आउने सर्त भएकोले अस्वीकृत गरेर फिर्ता गरेको देखियो । कुनै पनि विदेशी लगानीको ७० प्रतिशतभन्दा बढी रकम उनीहरूकै हितमा खर्च गर्ने वास्तविक उद्देश्यमा २०÷२५ प्रतिशत रकम पनि धौधौ पुग्ने गर्छ । यो नगरपालिकाले ‘आफ्नो काम आफैँ गर्ने’, जनताको काम जनताले गर्ने भन्ने अभियान चलाएर जनताबाट लाखौँको श्रमदान, लाखौँ आर्थिक सहयोग जुटाएर भूकम्पले पु¥याएको क्षतिलाई पुनर्निर्माणको कार्य सम्पन्न भएको छ । विचार, सिद्धान्त, व्यवहार र जनताको सेवा गर्ने भावनाले यहाँका जनप्रतिनिधिहरू लागिपरेकाले १२४ वटा सम्पदाहरू ५÷६ वर्षभित्रै थोरै लगानीमा र श्रमदानबाट पूरा भएका छन् ।
स्वास्थ्य क्षेत्रमा भक्तपुर नगरपालिकाले सुविधा सम्पन्न सय शøयाको ख्वप अस्पताल निर्माण, वडावडामा जनस्वास्थ्य केन्द्र निर्माण गरेर प्रत्येक जनतालाई २०/२५ मिनेटमा स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । टोलटोलमा सहरी क्लिनिङ, घरघरमा नर्सिङ सेवा सबैभन्दा धेरै प्रभावकारीरूपमा सञ्चालन गरिएको छ । स्वास्थ्य क्षेत्रमा नगरपालिकाले तिलगङ्गा आँखा अस्पताल, श्वासप्रश्वास केन्द्र, नागरिक आरोग्य केन्द्र, निःशुल्क रक्तदान सेवा, हरेक नगरवासीलाई निःशुल्क अक्सिजन सेवा दिएको छ ।
नाचगानको राजधानी, सांस्कृतिक नगर र खुला सङ्ग्रहालयको रूपमा नेपाल तथा विश्वभर चिनिएको यस नगरपालिकाले प्रत्येक घरमा सड्ने र नसड्ने फोहर छुट्टाछुट्टै सङ्कलन गर्ने व्यवस्था मिलाएर उचित सङ्कलन र व्यवस्थापन गरेको छ । जनचेतनामूलक गीत र सङ्गीत बस्तीबस्तीमा गुन्जाउँदै फोहर सङ्कलनका गाडीहरू हिँडिरहेका देखिन्छन् । फोहोरलाई मोहरमा रूपान्तरण गर्न नगरपालिकाले सङ्कलित फोहरबाटै अर्गानिक मल उत्पादन गर्दै प्रत्येक किसानलाई न्यूनतम लागतमा वितरण गरिरहेको छ । कृषकलाई बीउबिजन, मल, विभिन्न तालिमहरूमा विशेष ध्यान दिएको पाइन्छ । हरेक युवालाई उद्यमशील बनाउन व्यावसायिक सीपसम्बन्धी तालिमहरू, विभिन्न देशका भाषाका तालिम सञ्चालन गर्नुका साथै युवा उद्यमशीलता ऋणको व्यवस्था गरिएको छ । प्राकृतिक वातावरणमा स्वस्थता र सौन्दर्यता ल्याउन नगरभित्रका पोखरी÷तालहरूको मर्मत, संरक्षण र विकास गर्ने, मठ मन्दिर, बौद्ध गुम्बा, बिहार, सत्तल, ढुङ्गेधाराहरूको सरसफाइ र संरक्षण गर्नुका साथै हरियाली वातावरण बनाउने कामअगाडि बढाइएको छ ।
भक्तपुर नगरपालिका अहिले सबैको गन्तव्यस्थल बनेको छ । यो सम्पदाको खुला सङ्ग्रहालय भएकोले हरेक दिन देश तथा विदेशका अध्ययन र अवलोकन गर्ने भ्रमण टोलीहरू आइरहेका देखिन्छन् । नगरपालिकाको अभिलेखअनुसार २०८० सालमा ७५ वटा विभिन्न नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूका प्रतिनिधिमण्डलले अवलोकन भ्रमण गरेका छन् । सङ्घ र प्रदेश सरकारको तर्फबाट २० वटा प्रतिनिधिमण्डलले अवलोकन भ्रमण गरिसकेका छन् । अनौपचारिकरूपमा सयौँ टीमले अवलोकन गरेको पाइन्छ । अवलोकन भ्रमणमा विभिन्न देशबाट आइरहेका छन् । यसै वर्षमा तान्जानिया, बेलायत, अर्जेन्टिना, चीन, जापान, नर्वे, क्युवा, लक्जम्वर्ग, घाना, फिलिपिन्स, कम्बोडिया, लावसलगायत २० भन्दा धेरै देशका प्रतिनिधिमण्डलले औपचारिकरूपमा अध्ययन तथा अवलोकन भ्रमण गरेको पाइन्छ ।
‘सय वर्षपछिको भक्तपुर’ भन्ने पुस्तकमा परिकल्पनाकार नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुरको बारेमा लेख्नुभएको छ, भक्तपुर आश्चर्यजनक सहर हो, बिहान प्राचीन सहरजस्तो, दिउँसो विश्वविद्यालयजस्तो, राति साँच्चै प्राचीन लुगा लगाएकी आधुनिक नर्तकि वा सुन्दरी जस्तो हुनेछ । साँझपख दरबार क्षेत्र, टौमढी क्षेत्र, दत्तात्रय क्षेत्र तथा अन्य क्षेत्रहरूमा झिलिमिली बत्ती बलिरहनेछन् । यसरी शिक्षित र सभ्य समाज निर्माण गरेर मानव जातिको सेवामा भनपाले गरिरहेको विकास, प्रगति र सफलताको कामना व्यक्त गर्न चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *