भर्खरै :

पश्चिमाहरूलाई आश्चर्यमा पारेको युद्धकालीन रुसी अर्थतन्त्र

पश्चिमाहरूलाई आश्चर्यमा पारेको युद्धकालीन रुसी अर्थतन्त्र

आजबाट रुस–युक्रेन युद्ध दुई वर्ष पूरा भएको छ । २०२२ फेब्रुअरी २४ देखि सुरु भएको रुस–युक्रेन युद्धपश्चात् कसरी रुसले आफूलाई आर्थिकरूपमा अझै सबल बनाइराख्न सक्यो ? भन्ने नै अहिले अमेरिकालगायत पश्चिमेली राष्ट्रको लागि चासोको विषय बनेको छ । एकातिर अमेरिकाले सहयोग गरेको युद्धग्रस्त राष्ट्र युक्रेनमा झन्डै ३० प्रतिशतले अर्थतन्त्र सङ्कुचनमा परेको छ भने रुसको अर्थतन्त्र ३.१ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ । रुसी अर्थतन्त्रलाई ध्वस्त बनाउन पश्चिमेली मुलुकले अनेक थरीका नाकाबन्दीलगायत रुसको आम्दानीको प्रमुख स्रोत तेलको मूल्यमाथि बजार मूल्त्न्दा कम ६० डलर अधिकतम मूल्य तोके । तर, कुनै पनि जालझेलले रुसी अर्थतन्त्र कमजोर नभई उल्टै झनै बलियो हुँदै जाँदा पश्चिमेली मुलुकको गलत मनसायमाथि चिसो पानी खन्याइदिएको छ ।
युद्धकालका गतिविधिहरूले रुसको अर्थतन्त्रलाई झनै मजबुत बनाएको छ । विशुद्ध आर्थिक परिप्रेक्ष्यमा रुससँग युद्धलाई जारी राख्ने पर्याप्त तागत छ । युक्रेनबाट क्रिमिया कब्जा गरेपछि पश्चिमेली राष्ट्रले गरेको व्यापार प्रतिबन्धको मारलाई रुसले २०१४ देखि नै पचाइसकेको थियो ।
दुई वर्षदेखिको युद्ध लडेर पनि रुसले आफ्नो अर्थतन्त्र बलियो राख्न सफल हुनुको कारण थुप्रै छन् । तेल, प्राकृतिक ग्यास, गहुँ र धातुजस्ता वस्तुहरूको उत्पादक हुँदा रूस विश्वको आठौँ ठुलो अर्थतन्त्र हुनसकेको छ । यी नभई नहुने वस्तुमा मात्र आत्मनिर्भर होइन विदेशमा पनि निर्यात गर्न सक्ने हैसियत हुँदा रूसले पश्चिमेली राष्ट्रहरूको वर्षौँ प्रतिबन्धहरूको सामना गर्नुको साथै उल्टै थुप्रै युरोपेली मुलुकहरूलाई आर्थिकरूपले अप्ठेरो अवस्थामा पारेको छ । रुसको उच्च प्रविधिमा महत्वपूर्ण विशेषज्ञताले पनि रूसलाई वर्षौँ प्रतिबन्धहरूको सामना गर्न मद्दत गरेको छ । यसबाट सबै मुलुकले सिक्नुपर्ने महत्वपूर्ण पाठ भनेको राष्ट्रको सार्वभौमिकताको रक्षा गर्न कमसेकम मानव जातिकोे आधारभूत आवश्यकतामा पर्ने वस्तुको उत्पादनमा आत्मनिर्भर रहनुपर्छ ।
युद्धकालीन सामान र सेवाहरूको लागि माग उत्पन्न हुँदा उल्टै यसले आर्थिक गतिविधि बढाउनमा मद्दत ग¥योे । युद्ध जारी हुँदा युद्धसँग सम्बन्धित सामान र सेवाहरूको माग बढ्यो । रुसी सेनालाई आवश्यक पर्ने सामग्रीहरू प्रतिबन्धका कारण रूसमा आयात हुन नपाउँदा देशमै ती सामानहरू उत्पादन गर्ने उद्योगहरूलाई सरकारले अनुदान दियो ।
रुसको अर्थतन्त्र अझै बढ्दै जानुको एउटा महत्वपूर्ण कारण युद्ध स्थल हो । रुसले छिटपुटबाहेक आफ्नो सिमाना बाहिर युद्ध गरिरहेको छ । यसले ठुलो मात्रामा युक्रेनी अर्थतन्त्र नष्ट भइरहेको छ भने रूसी उत्पादक क्षमतामा नगण्यमात्र प्रभाव परेको छ । विश्वको शीर्ष हतियार निर्यातकर्तामध्ये एकको रूपमा रूसले आफ्नो अधिकांश रक्षा आवश्यकतामा पर्ने अत्याधुनिक हतियारहरू आफैँ आपूर्ति गर्न सक्ने हुँदा यसको प्रभाव रूसी रक्षा उद्योगमा नगण्य छ । यद्यपि, सैन्य सामग्रीको माग यति तीव्र भयो कि एक बेकरी उद्योगले पनि युद्धजन्य सामान उत्पादन गर्नुप¥यो ।
त्यसैगरी, चीन र भारतजस्ता वैकल्पिक आयातनिर्यात बजार सिर्जना गरेर र नयाँ आपूर्ति शृङ्खलाहरू युरोपको सट्टा एसियातर्फ मोडेर आफ्नो अर्थतन्त्रलाई बढावा दिन रूसले उठाएका उपायहरू प्रभावकारी देखिन्छन् । यसले गर्दा रुसी युद्धकालको अर्थतन्त्रमा पश्चिमी प्रतिबन्धहरूको प्रभावलाई न्यून गरेको छ ।
सरकारी अनुदान, खर्च र नीतिहरूले पनि रूसको अर्थतन्त्रलाई चलायमान बनाएको छ । युद्धकालीन अर्थतन्त्रलाई उकास्ने रुसको प्रयास यति आक्रामक भएको छ कि सहुलियत धितोका लागि दिइने अनुदानले घर जग्गा व्यवसाय नयाँ उचाइमा पुगेको छ । रुसी सरकारले व्यवसायीहरूलाई अन्य प्रकारका सहुलियतपूर्ण ऋण उपलब्ध गराउँदा अर्थतन्त्रमा थप माग बढाएको छ ।
युक्रेनमाथि आक्रमणपछि रुसी नीति निर्माताहरू पनि बजार र अर्थतन्त्रलाई स्थिर बनाउन द्रुतगतिमा अघि बढे । रुसमा मस्को एक्सचेन्जलाई केही दिनको लागि बन्द गर्ने, पुँजी नियन्त्रण लगाउने र मौद्रिक नीति व्यवस्थापन गर्नेलगायत धेरै कदम चालिएको थियो । युद्धकालको खर्च र सरकारी अनुदानको संयोजनको कारणले पनि आर्थिक वृद्धिमा टेवा पुगेको हो ।
वस्तुको मूल्यमा युद्धको प्रभावका कारण यसको चालु खाता बचतमा रह्यो । त्यस्ता घटनाक्रमले केन्द्रीय बैङ्कको विदेशमा रहेको सञ्चित रोक्का गर्नेजस्ता पश्चिमी उपायबाट हुने क्षतिलाई न्यून गरेको छ । सबै प्रतिबन्धहरूको बाबजुद रूसले सन् २०२४ को बजेटमा अघिल्लो बजेटमा भन्दा ४० प्रतिशत रक्षा खर्चमा विनियोजन गर्न सफल भयो ।
आर्थिक वृद्धिको बाबजुद रुसको लागि आर्थिक ‘त्रिविधा’ ठुलो चुनौतीको रूपमा रहेको छ । ती तीन चुनौती भनेको युक्रेनविरुद्ध चलिरहेको युद्धलाई वित्त व्यवस्थापन गर्ने, जनताको जीवनस्तर गुणस्तरीय बनाउने र बृहत् आर्थिक सूचक स्थिर राख्ने रहेका छन् । पहिलो र दोस्रो लक्ष्यहरू प्राप्त गर्न थप खर्च चाहिन्छ, जसले मुद्रास्फीति निम्त्याउँछ भने यी दुईले तेस्रो लक्ष्यको उपलब्धिलाई रोक्न सक्छ । रुसमा मुद्रास्फीति चिन्ताको विषय रहेको कुरा राष्ट्रपति पुटिनले यसअघि नै रुसमा अण्डाको मूल्य गत वर्ष ४२ प्रतिशतले बढेकोमा व्यक्तिगतरूपमा माफी माग्नु परेको घटनाले पुष्टि गर्छ ।
यति हुँदाहुँदै पनि युद्ध सामग्री हतियार र गोलाबारी उत्पादनबाट हुने आर्थिक वृद्धिले सर्वसाधारण जनताको जीवनस्तरलाई सकारात्मक असर नपार्ने भएकोले यसलाई ‘राष्ट्रिय आम्दानी गणना’ मा रहेको त्रुटी मानिन्छ । युद्ध सामग्रीले मानव जीवनको गुणस्तर उकासिदैन र भविष्यको आर्थिक विकासमा योगदान गर्दैन । युद्ध जति लामो हुन्छ, त्यति नै अर्थतन्त्र सैन्य खर्च बढाउनेमा अभ्यस्त हुन्छ ।
दिगो आर्थिक वृद्धिको लागि दीर्घकालीन नीति आवश्यक हुन्छ । स्रोत र साधनको वर्तमान अवस्थालाई बेवास्ता गर्दै अल्पकालीन वृद्धिलाई मात्र लक्ष्य बनायो भने दुर्घटनाको प्रबल सम्भावना हुन्छ । मानौँ, अर्थतन्त्र गाडी हो । यदि उल्लेख गरिएको मापदण्डविपरीत कारको गति बढायो भने इन्जिन धेरै तातिन्छ जसले गर्दा लामो दूरीको यात्रा सम्भव हुँदैन । गति त बढाउन सकिन्छ तर छोटो अवधिका लागि मात्र । अर्थतन्त्रमा पनि यस्तै नियम लागु हुन्छ । अतः यो वास्तविकतालाई मनन गरेर दीर्घकालीन आर्थिक वृद्धिको लक्ष्य राख्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *