भर्खरै :

शैक्षिक ख्वप सही चिन्तन, इमानदारी तथा सङ्घर्षको एक उपहार

शैक्षिक ख्वप सही चिन्तन, इमानदारी तथा सङ्घर्षको एक उपहार

ख्वपको वार्षिकोत्सव तथा शैक्षिक प्रदर्शनीको भव्य सफलताको निम्ति शुभकामना छ ! वसन्तको आगमनसँगै हरेक साल हुने यी गतिविधि ख्वपको आफ्नै शैलीको शैक्षिक वसन्त पर्व हो भन्नु समीचीन होला ! वसन्त पञ्चमीमा कलिला मस्तिष्कहरूलाई सरस्वतीको तस्बिर बेचेर या सरस्वतीको मूर्ति ढोगाएर अक्षर आरम्भ तथा ज्ञानको खोजी गरेको दाबी गर्ने उपबुजु्रकहरू तथा सफा पोशाकका ढोँगीहरूको जगजगी बढिरहेको परिस्थितिमा यो मौलिक शैलीको शैक्षिक वसन्त पर्वको आफ्नै विशिष्ट महत्ता रहेको निर्विवाद छ ।
शिक्षा क्षेत्रमा पाखण्ड, आडम्बर, अन्धपरम्परा, बेथितिका कैयौँ जन्जालहरू चिर्न ख्वपले नयाँ नयाँ नमुना तथा अभ्यासहरू प्रस्तुत गरेर शैक्षिक प्रकाशस्तम्भ बन्दै जाओस्, शुभकामना छ ! शैक्षिक क्षेत्रको शिशिर ऋतुको अन्त्य गरी वसन्तलाई स्वागत गर्न नेपाली समाज आतुर छ । वसन्तको एक वाहक ख्वप बन्दै छ । धेरैको मनमनमा यही विश्वास छ । सारा पूmलहरू निमोठे पनि वसन्तको आगमन रोक्न सकिन्न ! पूर्वका झ्यालढोका थुने पनि पश्चिमका झ्यालढोकाका कापकापबाट छिर्नेलाई नै प्रकाश भनिन्छ । त्यो प्रकाश ख्वप हो भनी स्वीकार्नेहरू र यही प्रकाशमा ख्वपलाई बझ्नेहरूको आज कमी छैन ।
विद्यार्थीहरूलाई अवसर, प्रोत्साहन, मार्गनिर्देशन दिँदै थप सक्रिय, मेहनती एवम् सिर्जनशील बनाउने अवसरको रूपमा यो वार्षिकोत्सव समारोह र यी गतिविधिलाई लिनु व्यावहारिक हुनेछ । विद्यालय जीवनमा वार्षिकोत्सवले वसन्त बहार ल्याउँछ । वार्षिकोत्सवबिनाको विद्यालय जीवन पूmलबिनाको बगैँचाभैmँ हुन्छ । त्यसैले आइन्स्टाइनले भनेका थिए, “विद्यालयमा पढेका कुराहरू सबै बिर्सिसकेपछि जे बाँकी हुन्छ त्यही नै शिक्षा हो ।” विद्यार्थीहरूले दबु पाउनु या ‘एक्सपोजर’ पाउनु भनेको क्यामेराले प्रकाश पाउनु र फोकस मिल्नु हो जसबाट एउटा सुन्दर तस्बिरको जन्म हुन्छ । खालि क्यान्भासले रङ्ग पाउनु हो जसबाट मनमोहक चित्र सम्भव तुल्याउँछ । विद्यार्थी जीवनमा यस्तो वातावरण पाउनु भनेको सही समयमा सही मानिसले सही चिज पाउनुभैmँ हो जसले आशा गरिएको नतिजा नजिक ल्याउँछ । पानीले पात सफा गरेर टल्काउने होइन जरामा पानी दिएमात्र पात हरियो हुन्छ र बिरुवामा जीवन सल्बलाउँछ । समयमै जराले पानी पाए फलको बारे धेरै चिन्ता लिन नपर्ला !
चौबिस वर्ष अगाडिको घटना आज सम्झिँदा गर्वको अनुभूति मिल्छ । नयाँ ख्वपको जन्म भएको पवित्र दिन । ख्वपले पुनः जीवन पाएको दिन । ख्वप माविसँगै ख्वप देले नयाँ जीवन पाएको खुसीको दिन । ख्वप देले नयाँ परिचय पाएको नयाँ दिन । शैक्षिक पुनर्जागरणको बिहानी झुल्केको शुभ दिन ।
कसैले ध्वंशको आयातीत हतियार उठाइरहँदा ख्वपले निर्माणको ज्यावल उठाएको दिन ! पद, पैसा र प्रतापको पछाडि धेरैधरै दौडिरहँदा ख्वपले शिक्षा सेवाको शङ्खनाद गरेको गौरवशाली दिन ।
कहिलेकाहीँ भयमिश्रित भाव मनमा छचल्किन्छ र एउटा भयानक चित्र सामुन्ने खडा हुन्छ ! ख्वपले चौबिस वर्षअगाडि यो बाटो नहिँडेको भए ! ख्वप पनि अरुकै लहलहैमा लागेको भए ! ख्वप पनि अन्यत्रै बहकिएको भए ! ख्वप पनि अरुसँगै लहसिएको भए ! ख्वपले पनि बाटो बिराएको भए ! हो, त्यसो भएको भए के हुन्थ्यो ! सोच्दा मात्र पनि कहाली लाग्छ ! सौभाग्यवश भनौँ या अरु कारण, त्यसो हुन पाएन र आज ख्वप छ । यतिखेर पाण्डोराको बाकसभित्रको शैक्षिक आशा, विश्वास एवम् भरोसा बन्दै छ, ख्वप । ख्वप आज अनिकालको बीउ बन्दै छ । यो आत्मश्लाघा जरुर होइन । यसमा नार्सियाली रोगको गन्ध कदापि छैन ।
ख्वपको जन्म कसरी सम्भव भयो त ? ख्वपको जन्मदाता को हो ? ख्वप कसरी ख्वप बन्यो ? अनिकालमा बीउ जोगाउने आखिर को हो त ? यी सवाल यतिखेर उठिरहेका छन् ।
ख्वप जन्मिनुभन्दा २५ वर्षअगाडि अर्थात् आजभन्दा ४९ वर्षअगाडि नेपाल र नेपाली जनताको निःस्वार्थपूर्वक सेवा गर्ने दृढ सङ्कल्पसहित समाजको तल्लोवर्गको मुक्ति एवम् आमूल परिवर्तनको निम्ति सङ्घर्ष गर्ने मुख्य उद्देश्यका साथ एउटा राजनीतिक दलको जन्म भयो । देशको स्वतन्त्रता तथा स्वाधीनता जोगाउन सुझबुझपूर्ण तरिकाबाट चालिएको त्यो साहसिक कदम थियो । समाजको पीँधसम्म पुगेर मजदुर, किसान, शोषितपीडित जनतालाई शिक्षित बनाउने, सचेत एवम् सङ्गठित पार्ने र समाजवादी क्रान्तिको तयारी गर्ने दीर्घकालीन लक्ष्यसहित नेपाली जनताकै पार्टी नेपाल मजदुर किसान पार्टी स्थापना गरिएको थियो– विसं २०३१ माघ १० गते । नेमकिपाको जनपक्षीय राजनीति, निःस्वार्थ सेवाभाव तथा कामदारवर्गलाई शासकवर्गमा उठाउने चिन्तनको परिणाम नै यो शैक्षिक ख्वप हो भन्नु बढी उपयुक्त हुनेछ । सही विचार, चिन्तन तथा सिद्धान्त र त्यसलाई व्यवहारमा उतार्ने इमानदारीबिना यस खालका उपलब्धि सम्भव नहुने आज हामी भोगेरै अनुभव गर्दै छौँ । त्यसअर्थमा यो शैक्षिक ख्वप सही चिन्तन, इमानदारी तथा सङ्घर्षका सुन्दर उपहारहरूमध्ये एउटा हो भन्नु मनासिब हुन्छ ।
यो वर्ष नेमकिपा स्थापनाको ५० औँ वर्ष हिमाल, पहाड र तराईका कामदार जनताबिच मनाउँदै छ । नेमकिपालाई जति अरु कसैलाई देश दुखेको भए यति दुर्दशा नेपाली जनताले देख्न नपर्ने संवेदनशीलहरू अनुभव गर्दै छन् । नेमकिपा जति अरु कोही पनि इमानदार बनिदिएको भए नेपाली समाज यति भ्रष्टीकरणको खाडलमा जाकिने थिएन भनी चिया चौतारीमा चुकचुकाइँदै छ । नेमकिपाले जति निर्भिकतापूर्वक देश बोलेको भए देशको सार्वभौमिकता यति कमजोर र देशभित्रै देश हार्ने थिएन भनी सच्चा नेपालीहरू चिन्ता व्यक्त गर्दै छन् । नेमकिपाले जति सिद्धान्त र व्यवहारको तादात्म्यता अरु कसैले पनि मिलाएको भए देश यति बिध्न खोक्रो हुने नै थिएन भनी पर्यवेक्षकहरू थाप्लोमा हात राख्दै छन् । यथार्थमा यो नेमकिपाको नैतिक जीत हो ।
समय अभैm बाँकी छ । वास्तवमा बल बुद्धिजीवीहरू, शिक्षक, प्राध्यापकहरूको कोर्टमा छ । हामीले पनि विवेक पु¥याएनौँ भने भावी पुस्ताले योभन्दा बढी अपमान, दुःख, बर्बादी बेहोर्नुपर्नेछ । विदेशमा मात्र होइन देशभित्रै दोस्रो दर्जाको जीवन यापन गर्नुपर्नेछ । यो हाम्रो निम्ति कदापि मञ्जुर छैन ।
त्यसैले त पी.बी. शेलीले लेखे— आज शिशिर छ भन्दैमा के वसन्त टाढा छ र ?
(नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले फागुन ९ गते ख्वप मावि, ख्वप कलेज र शारदा क्याम्पस माविको स्थापना दिवसको अवसरमा राख्नुभएको मन्तव्यको सार–सं.)

Leave a Reply

Your email address will not be published. Required fields are marked *