भर्खरै :

दोस्रो अध्याय/वितरण व्यवस्था

दोस्रो अध्याय/वितरण व्यवस्था

कम्युनहरूमा ‘हरेकलाई कामअनुसार’ भन्ने समाजवादी वितरण व्यवस्था प्रचलनमा ल्याइएको थियो । जसले धेरै काम गर्छ, उसले त्यति नै बढी पाउँछ, जसले काम गर्दैन उसले केही पनि अथवा खान पनि पाउँदैन भन्ने साधारण सिद्धान्तलाई कार्य रूपमा ल्याइएको थियो । तर, यो नियम काम गर्न नसक्ने, ज्येष्ठ नागरिक, केटाकेटी, असक्षम, टुहुराटुहुरीहरूलाई लागु हुँदैन । हरेक कम्युनमा खान, लाउन, बस्न, पढ्न आदि जीवनको तल्लो र आवश्यकीय वस्तुहरू निःशुल्क वितरण हुन्छ । हरेकलाई ‘कामअनुसारकै’ सिद्धान्तअनुसार नगदी र जिन्सी दुवै रूपमा ज्याला पाउँछन् । कामदारहरूमा कामगर्ने उत्साह बढाउन र काममा निपुणता ल्याउन इनामको राम्रो व्यवस्था मिलाइएको थियो, जसमा मात्रा र गुणको आधारमा ‘कामअनुसार’ कै नियम कार्यरूपमा ल्याइएको थियो ।
वितरण व्यवस्था कम्युनको उत्पादनमा निर्भर गर्दछ । कम्युनको कुल उत्पादनको सयकडा १० (दस) राज्य सरकारलाई करको रूपमा दिएपछि बाँकी हुन आउने जम्मा रकमको सय कडा ३० भाग जति जनकल्याण, उपचार, बालोद्यान आदि लोककल्याणको क्षेत्रमा लगाइन्छ । सयकडा १० उत्पादन बढाउन कम्युनको कोषमा दाखिला हुन्छ र सयकडा ५० कामअनुसारको नियमअनुसार कम्युनका सारा सदस्यहरूमा वितरण गर्छ । तर, सबै कम्युनहरूमा यो नियम समान छैन । ‘कामअनुसार’ को समाजवादी सिद्धान्तलाई नछोडेर बजेट शीर्षकहरू घटबढ कम्युनको सभाले गर्नसक्ने भएको हुँदा कम्युनको उत्पादन र स्थिति हेरेर फरकफरक हुन्छ । कम्युन उत्पादनको वृद्धिकै अनुपातमा कामदारहरूको ज्याला र आवश्यकीय वस्तुहरू निःशुल्क वितरणमा पनि वृद्धि हुँदै जान्छ । यसरी कम्युनहरूमा वितरण व्यवस्था समाजवादी ढङ्गले सञ्चालन हुनुका साथै कामको ज्याला पुरानो चिनियाँ समाजमा जस्तो घरको मुलीलाई नदिई काम गर्ने व्यक्तिकै हातमा दिइन्थ्यो । पुरानो सामन्तवादी व्यवस्थामा ज्याला जम्मै घरको मुलीले लिने हुँदा काम गर्ने छोरी–बुहारी र जहानहरूको काम गर्ने उत्साह पनि कम हुन्थ्यो । तिनीहरूको सानोभन्दा सानो आवश्यकीय वस्तु किन्न पनि मुलीको मुख ताक्नु पर्दथ्यो । कम्युनमा त्यसो नभई काम गर्नेले नै ज्याला पाउने व्यवस्था गरेको हुँदा युवायुवतीहरू खुसी थिए ।
व्यक्तिगत सम्पत्तिको प्रश्न
विरोधीहरूले कम्युनको सम्बन्धमा विरोध गर्ने विषयमध्ये व्यक्तिगत सम्पत्ति पनि एक हो । देशका ठुलठुला समाजवादी नेताहरू पनि कम्युनमा व्यक्तिगत सम्पत्ति राख्न पाइन्न भनेर घाँटी सुकाएर कराउँथे । अरु विदेशी समाजवादी नेताहरूले भनेजस्तै नेपाली काङ्ग्रेसका नेताले पनि मिनेटैपिछे चिनियाँ कम्युनको विषयलाई लिएर बोल्दा ‘दाल, भात तरकारी अरु जम्मै सरकारी’ भन्ने गर्थे । वास्तवमा कुरा त्यस्तो थिएन ।
कम्युनमा आफूले कमाएको जम्मै सम्पत्ति आफूसँग खुसीसाथ राख्न पाउँथ्यो, तर व्यक्तिगत सम्पत्तिको नाउँमा त्यस सम्पत्तिबाट आफ्नो फाइदाको निमित्त अरुको शोषण गर्न पाइँदैनथ्यो । पुँजीवादी देशमा पाएको जस्तो सम्पत्तिको व्यक्तिगत स्वतन्त्रता भने कम्युनमा जरुरै थिएन भनेमा केही अत्युक्ति नहोला ।
मानिसले मानिसलाई शोषण गर्ने एउटा बलियो साधन उत्पादनका साधनहरू हुन् । जग्गा, जमिन र कलकारखानाहरू, खेतमा काम गर्ने ज्यावल, जोतिने जनावरहरू आदि उत्पादनका साधनहरू हुन् । यी उत्पादनका साधनहरूमा व्यक्तिगत स्वामित्व भएसम्म ज्यावल नभएका अथवा उत्पादनका साधनहरू नहुने किसानहरू अथवा मजदुरवर्ग सधैँ उत्पादनका साधनका मालिकहरूद्वारा शोषित भइनैरहने हुँदा चीनमा अर्ध–समाजवादी सहकारी खेतीको समयमै उत्पादनका साधनहरूमा व्यक्तिगत मालिकत्व हटाउँदै लाने कुरो विस्तार विस्तार कार्य रूपमा ल्याएका थिए ।
पूर्ण समाजवादी सहकारी खेतीको अन्त र कम्युनको सुरु सुरुसम्म पनि उत्पादनका साधनहरूमा आंशिक अथवा केही अंशमा व्यक्तिगत स्वामित्व कायमै थियो । तर, पछि कम्युनका सदस्यहरूको राजनैतिक चेतनाको विकास र कम्युनको उत्पादनको स्तर बढ्दै गएपछि उत्पादनका साधनहरूमा सामूहिक स्वामित्व कायम हुँदै गयो । यसरी जनकम्युन एक समाजवादी सङ्गठन थियो जसमा उत्पादनका साधनहरू र उत्पादन सबै सामूहिक हुन्थ्यो ।
माथि भनेझैँ कम्युनका सदस्यहरूमा राजनैतिक चेतनाको राम्रो विकास र कम्युनको उत्पादनको उत्तरोत्तर वृद्धिले उत्पादनका साधनहरूको सामूहिक स्वामित्वबाट सारा जनताको स्वामित्वमा परिणत हुँदै गएको थियो ।
सामूहिक स्वामित्व र सारा जनताको स्वामित्व दुवै समाजवादी स्वामित्व हुन् । त्यसबारे चिनियाँ कम्युनिस्ट पार्टीको आठौँ केन्द्रीय समितिको छैटौँ विस्तारित बैठकको विज्ञप्तिमा पनि उल्लेख गरिएको थियो । सामूहिक स्वामित्व र सारा जनताको स्वामित्व दुवै समाजवादी स्वामित्व हो, तर सामूहिक स्वामित्वभन्दा सबै जनताको स्वामित्व अगाडि बढेको समाजवादी स्वामित्व हो । यस दृष्टिकोणले हेरियो भने चिनियाँ जनकम्युनमा सामूहिक स्वामित्व छ, जो सारा जनताको स्वामित्वमा परिणत हुँदै जानेछ । यसरी जनकम्युन सामूहिक स्वामित्वबाट सारा जनताको स्वामित्वमा परिणत गर्ने सबभन्दा राम्रो किसिमको सङ्गठन थियो, जसमा समाजवादको निर्माण पनि गाँसिएको थियो ।
चिनियाँ कम्युनमा ठुलठुला उत्पादनका साधनहरूमा बाहेक अरु जम्मै वस्तुहरूमा व्यक्तिगत स्वामित्व कायमै थियो । घर हुनेको घर र घरमा भएको सामान (फर्निचर), रेडियो आदि जम्मै उपभोगका सामानहरूमा व्यक्तिगत स्वामित्व छँदै थियो र कुनै व्यक्तिले चाहेमा आफ्नो तलब अथवा ज्यालाबाट आउने रकम सँगालेर राख्ने वा बैङ्कमा राख्ने अथवा अरु कुनै काममा लगाउन सकिन्थ्यो । तर, व्यक्तिगत सम्पत्ति र व्यक्तिगत स्वतन्त्रताको नाउँमा अरुको शोषण हुने कुनै किसिमको कामलाई अवैध गरिएको थियो । साथै कम्युनका सदस्यहरूले आफ्नो घरको वरिपरि केही सीमित जग्गा राख्न सकिन्थ्यो । सोभियत रुसमा पनि त्यस्तै थियो । त्यसबारे तिनीहरू व्यक्तिगत तरकारी लगाउने अथवा फूलबारीको काममा लगाउन सक्थे । यी कुराहरूले के स्पष्ट गर्छ भने चिनियाँ कम्युनमा पनि सम्पत्ति राख्न पाइन्थ्यो र चिनियाँ ‘कम्युनमा व्यक्तिगत सम्पत्ति भन्न पाइन्न’ भन्ने फोहोर प्रचारहरू सरासर गलत थियो ।
परिवारको प्रश्न
चिनियाँ जनकम्युनका विरोधीहरूका लागि चिनियाँ जनकम्युनमा परिवारको सवाल एक जल्दोबल्दो र महत्वपूर्ण प्रश्न थियो । तिनीहरूको प्रचार हेर्दा साधारण मानिसहरूलाई असाध्य आश्चर्यजनक र कौतुहलपूर्ण लाग्थ्यो । संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री डलेसले पनि चिनियाँ समाजको पारिवारिक जीवनलाई नष्ट पारेको गुनासो गरेका थिए । विरोधीहरूले जथाभावी भन्न पाउनुको एउटा कारण थियो, जनकम्युनका आइमाईहरूको सजिलोको निमित्त सञ्चालन गरिएका नर्सरी (शिशुशाला) र किनरगार्डेन (बालोद्यान) हरू । तर, वास्तविकता विरोधीहरूको भनाइको ठीक उल्टो थियो । जनकम्युनले न बालकहरूलाई सरकारको हातमा बेच्थ्यो, न त आइमाई र घरका जहानहरूलाई छुट्टाछुट्टै राख्थ्यो, न त कसैको दाम्पत्य जीवनमा नै बाधा पारेको थियो ।
चिनियाँ जनक्रान्तिभन्दा पहिले चिनियाँ समाज एक सामन्तवादी पितृसत्तात्मक व्यवस्था थियो । त्यो एक पिछडिएको जहानियाँ व्यवस्था थियो र त्यो व्यवस्था पुँजीवादी समाजमै आफैँ विस्तारै बिलाएर जाने थियो । सामन्तवादी पितृसत्तात्मक परिवारमा आइमाईहरू घरेलु दासताको जाँतोमा पिसिएको हुन्थ्यो, चुलोको धुवाँमा तिनीहरूको मुखमण्डलमा स्वतन्त्रताको एक सानो हँसिलो रेखासम्म पनि पाउन सकिँदैनथ्यो र युवायुवतीहरूले पनि सामन्ती अनुशासनको फिक्री लिनुपथ्र्यो । सामन्ती अनुशासनको नाउँमा घरका सदस्यहरूले आफ्नो इच्छा, स्वतन्त्रता र व्यक्तित्वलाई पनि तिलाञ्जली दिनुपर्दथ्यो । हो, यस्तो नसुहाउँदो अप्रजातान्त्रिक पारिवारिक व्यवस्थाको बदला जनकम्युनले चिनियाँ समाजमा एक समाजवादी प्रजातान्त्रिक पारिवारिक व्यवस्था कायम गरिदिएको थियो । समाजवादी र प्रजातान्त्रिक संयुक्त पारिवारिक व्यवस्थामा युवायुवती र अरु सबै परिवारका सदस्यहरूको अधिकारलाई सुरक्षित गरिएको थियो, जसलाई सारा युवायुवती र जनताले सहर्ष स्वागत गरेका थिए ।
कामको समयमा जनकम्युनका सदस्यहरू आफ्ना सानासाना बालबालिकालाई केटाकेटी स्याहार्ने तालिम पाएका धाईहरू (Sisters) भएको बालोद्यान र शिशुशालामा राख्ने गर्थे र काम सकिएपछि आफ्ना नानीहरू लिएर जान्थे । शिशुशाला र बालोद्यानको व्यवस्था जनकम्युन आफैँले गर्दथ्यो । यसै कुरोलाई लिएर विरोधीहरू केटाकेटीहरूलाई सरकारले लिन्छन् भनेर सरासर झूटा हल्लाहरू फैलाएका थिए । वास्तवमा बालोद्यान, शिशुशाला र सामूहिक भान्छाघरको सुरुवात समाजवादी देशमा भन्दा पहिले पुँजीवादी देशहरूमा भएको थियो । फरक यति हो कि पुँजीवादी देशको कामदारहरूको भान्छाघर, शिशुशाला र बालोद्यान पुँजीवादी तरिकाको थियो, जसमा शोषणको प्रचुरता हुन्थ्यो । यसबारे चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको छैटौँ विस्तारित बैठकमा पनि स्पष्टसँग प्रतिवाद गरिएको थियो ।
जनकम्युन चिनियाँ समाजको सबभन्दा तल्लो सङ्गठन हो । त्यसमा उद्योग, खेती, व्यापार, शिक्षा र संस्कृति, न्याय, स्वास्थ्य, सार्वजनिक कल्याण, सैनिक कार्यकलाप, यातायात र प्रशासकीय कार्यहरू आदिको प्रबन्ध एउटै सङ्गठनमा सम्मिलित छ, त्यसको विकासले चिनियाँ समाजमा सहर र गाउँ, मजदुर र किसान, शारीरिक र बौद्धिक श्रमको बिचको भिन्नता मेटिँदै क्रमशः सामूहिक मालिकत्वबाट सारा जनताको स्वामित्वमा, ‘हरेकलाई योग्यताअनुसारको काम र कामअनुसारको ज्याला’ बाट ‘हरेकलाई आवश्यकताअनुसार’ को साम्यवादी समाजमा भित्रिने छ । त्यस उद्देश्यको निम्ति जनकम्युन एक लायक र राम्रो माध्यम हो ।
चिनियाँ जनकम्युनको स्थापनाले नर्सरी, किनरगार्डेन, सामूहिक भान्छाघर, लुगा सिउने दल आदि कुराहरूको व्यवस्था र आइमाईहरूले पनि काम पाएकाले पारिवारिक जीवन झन् सुखी भएका तथ्यहरूलाई विरोधीहरूले कम्युनले पारिवारिक जीवन नै खलबल्यायो भनेर सरासर झूटा कुराहरू प्रचार गरेका थिए । यसले घरेलु दासताबाट मुक्त भएर आफ्नो बौद्धिक स्तर उठाउने अवसर पाउनुको साथै घरको आर्थिक क्षेत्रमा पनि प्रगति भएर चिनियाँ आइमाई र तिनीहरूको घरेलु जीवनमा बढी सुखसुविधा ल्याइदिएको थियो ।
किनरगार्डेन दुई किसिमका छन् – पहिलो, दिनभर अथवा आमाबाबुको कामको समयमा मात्र केटाकेटीलाई राख्ने† दोस्रो, बोर्डिङ स्कूलजस्तै आवासीय । अर्को शब्दमा ‘पार्ट टाइमर’ र ‘होल टाइमर’, पार्ट टाइमर बालोद्यानमा आमाबाबुको काम सिधिएपछि आफ्ना छोराछोरी घरैमा ल्याउँछन् र होल टाइमरमा छोराछोरी त्यही खाने र सुत्ने गर्छन् र बेला मौकामा मात्र तिनीहरू घरमा आउँछन् र आमाबाबु पनि भेट्न जान्छन् । यस किसिमको बोर्डिङ स्कूल सबैजसो पुँजीवादी देशहरूमा पनि छन् । तर, विरोधीहरू यस्तै किनरगार्डेनमा राख्ने कम्युनको प्रबन्धलाई ‘केटाकेटी सरकारी हुन्छन्’ भनी नराम्रो र बङ्गयाइतिङ्गयाइ प्रचार गर्छन् ।
कम्युनको गुण र आकार
अगाडि बढेको सहकारी संस्थाहरूले व्यक्तिगत खेती, पारस्पारिक सहकारी दल, प्राथमिक खेती उत्पादक सहकारी संस्थाहरूले भन्दा उत्पादन वृद्धि गरी जनताको जीवनस्तर पनि पहिले अपेक्षा गरेभन्दा माथि उठाए । तर पनि हजारौँ वर्षदेखि थिचिएका र पिछडिएका चीनको गाउँ–गाउँमा समाजवादको निर्माण गर्न, ह्वाङहो, याङसी र सिक्याङजस्ता भयङ्कर नदीहरूको बाढीबाट आफ्नो देश र जनतालाई बचाउन र सुख्खा, असिनाजस्ता प्राकृतिक प्रकोपहरूबाट बालीनालीलाई जोगाउन सहकारी संस्थाहरूले मात्रै सम्भव थिएन । गाउँगाउँमा समाजवादको निर्माणको लागि उद्योग, यातायात र सञ्चारको विकास गरी खेतीमा यान्त्रिकीकरण र विद्युतीकरण गर्नुको साथै किसानहरूलाई वैज्ञानिक र उच्च प्राविधिक संस्कृतिले सुसज्जित गर्ने काम सहकारी संस्थाहरूले मात्रै गर्नसक्ने थिएन । त्यस आवश्यकतालाई पूरा गर्न पुँजी, पर्याप्त श्रमशक्ति, बढी साधनहरू र प्रचुर प्राकृतिक स्रोतहरू भएको र सहकारी संस्थाभन्दा उच्च प्रकारको सङ्गठनको आवश्यकता थियो । त्यही आवश्यकतालाई पूरा गर्न धेरै धेरै सहकारी संस्थाहरू मिलाएर एक ठुलो सहकारी संस्था जस्तो सशक्त सङ्गठन बनाउन अनिवार्य थियो । त्यस्तो सबल र सुसङ्गठित सङ्गठनको आवश्यकता नै जनकम्युनको स्थापनाको अनिवार्य कारण थियो ।
ठुलठुला योजना सफल बनाउन सहकारी संस्थाहरूले भन्दा कसरी जनकम्युनले सफलता पायो भन्नेबारे होनानको थान्सहुई कम्युनको एउटा उदाहरण उपयुक्त हुन्छ । १६ सेप्टेम्बर १९५६ मा होङ छी नं. ८ (रातो झन्डा) नामक पत्रिकामा चिनियाँ कम्युनिस्ट पार्टीका होनान प्रान्तीय समितिका प्रथम सचिव ऊ छीइ–फुले ‘खेती उत्पादक सहकारीबाट जनकम्युनमा’ भन्ने शीर्षकको लेखमा लेख्नुभएको थियो, ४८ वटा सहकारी संस्थाहरू मिलेर बनेको हसीह काउन्टीको थान्सहुई कम्युनको थान्सहुई नदीको दुवै किनारामा सहकारी संस्थाहरू हुँदा बाढी र सुख्खा रोक्न जम्मा ८० वटा स–साना पानी जम्मा गर्नुपर्ने पोखरीहरू बनाएका थिए । एउटै बाढीले हरेक पोखरीको ८० प्रतिशत भाग क्षति पु¥याइदियो । यसरी हरेक सहकारी संस्थाहरूको अगाडि सुख्खा र बाढी रोक्न पानी जम्मा गर्ने पोखरी निर्माण गर्नुपर्ने एउटा प्रश्न चिह्न खडा हुन्थ्यो । ती ४८ वटा सहकारी संस्थाहरू एक कम्युन बनिसकेपछि ८० वटा पोखरी बनाउने ठाउँमा खालि १३ वटा ठुलठुला पक्की पोखरी बनाएर समस्यालाई हल गरे । यस्तै नान छाऊ काउन्टीको खोइवाङ सहकारीसँग काँचो फलाम (खानी) को प्रचुरता थियो भने कोइलाको अभाव थियो । सँगैको थैछ्वाङ सहकारी संस्थाले प्रशस्त कोइला पूर्ति गर्नसक्थ्यो । तर, काँचो फलाम थिएन । यसरी यी दुई सहकारी संस्थाहरूले राम्रो व्यवस्था मिलाउन सकेका थिएनन् । तर, कम्युनको स्थापनापछि समस्या स्वतः समाधान भयो ।
यस किसिमले सहकारी संस्थाहरूको सबै कठिनाइ र असजिला कामहरू कम्युनको स्थापनाले सुल्झ्यो । त्यस्तै एक दुई ठाउँको उदाहरणले देशभरि जनकम्युन स्थापनाको आन्दोलनको तीव्र लहर फैलियो । सन् १९५९ को केही महिनाभित्रै १२,००,००,००० परिवार अथवा ९९ प्रतिशत किसानहरूले जनकम्युनमा भाग लिए । त्यसमा ७,४०,००० खेती उत्पादक सहकारी संस्थाहरू मिलेर २६,००० जनकम्युनको स्थापना गरेका थिए ।
जनकम्युनको स्थापनाभन्दा पहिले हरेक सहकारी संस्थाहरूको प्रतिनिधिहरूको संयुक्त सभा बस्थ्यो र सभामा सबै कुराहरूको छलफलपछि कम्युनको स्थापना हुन्थ्यो । जनकम्युनको क्षेत्रफल र जनसङ्ख्याको विषयमा धेरैलाई अस्पष्ट थियो । तर, जनकम्युनको क्षेत्रफल र जनसङ्ख्या यति भएपछि मात्रै कम्युन बन्ने र यतिभन्दा घटीबढ्यो भने कम्युन नबन्ने भन्ने कुनै नियम थिएन । त्यो त त्यस खास स्थान वा भौगोलिक अवस्था र स्थानीय परिस्थितिमा आधारित हुन्थ्यो । होफैमा ४२,१८३ सहकारी संस्थाहरूको २५१ जनकम्युन बने, त्यसमा १००० देखि २०,००० परिवारसम्म सदस्य छन् । सालाखाला ८,७०० घर थिए एक कम्युनमा । १९५८ को अप्रिल महिनामा स्थापना भएको होनान प्रान्तको स्वीपिङ काउन्टीको वईशिङ (स्पुत्नीक) कम्युन २७ सहकारी संस्थाहरू मिलेर बनेको थियो । त्यसमा ९,३६९ परिवार थियो र ४३,००० जनता थिए । होनानमा १९५८ को जनकम्युनको स्थापनाको आन्दोलनको सिलसिलामा जम्मा १,३५५ जनकम्युन स्थापना भएको थियो र सालाखाला हरेक कम्युनमा ७५,००० घर थिए । त्यसमध्ये ७९ कम्युनमा ५,००० देखि १०,००० सम्म र १०७ कम्युनमा १८,००० घरभन्दा बढी र बाँकी ५,००० भन्दा कमको थियो । साधारणतया समथर जग्गाको कम्युनमा १०,००० घरभन्दा बढी र पहाडी इलाकाको कम्युनमा २००० देखि ३,००० सम्म सम्मिलित थियो ।
४ सेप्टेम्बर १९५८ को ‘रेनमिन रिपाऊ’ (जन–दैनिक) को सम्पादकीयअनुसार सहरी क्षेत्रको कम्युनमा १०,००० भन्दा कम जनता सम्मिलित छन् । केही सहर मिलेर बनेको कम्युनमा १०,००० घर पनि हुनसक्छ । केही ठाउँहरूमा २०,००० घर भएको कम्युन पनि स्थापना भइसकेको छ । यसरी कम्युनको क्षेत्र र जनसङ्ख्याको कुनै सङ्ख्या तोकिएको हुँदैनथ्यो ।
त्यही सम्पादकीयको भनाइअनुसार केही कम्युनहरू मिलेर ‘जनरल कम्युन’ अथवा ‘काउन्टी कम्युन’ भनेर कम्युनको सङ्घ बनाउने सम्भावना पनि देखाइएको थियो । अध्ययनले कम्युनको उद्देश्य चाँडै र सजिलोसित पूरा हुने देखिन्थ्यो ।
यसरी जनकम्युन चिनियाँ समाजको क्रमिक विकास हो भन्ने कुरा स्पष्ट हुन्छ । चिनियाँ खेतीलाई समाजवादीकरण गर्न क्रमशः पारस्पारिक सहयोग दल, प्राथमिक सहकारी संस्था र अगाडि बढेको सहकारी संस्था हुँदै जनकम्युनको रूपमा परिणत भयो । त्यो चिनियाँ जनताको राजनैतिक चेतना र आर्थिक विकासको फल थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *