भर्खरै :

महिला स्वास्थ्य र शिक्षा क्षेत्रमा आमा समूहको ध्यान केन्द्रित हुनुपर्ने

महिला स्वास्थ्य र शिक्षा क्षेत्रमा आमा समूहको ध्यान केन्द्रित हुनुपर्ने

भक्तपुर, १२ फागुन । नेपाल मजदुर किसान पार्टीको ५० औँ स्थापना दिवसको अवसरमा शनिबार भक्तपुर नगरपालिका वडा नं. ७ महिला समूहको आयोजनामा महिला भेला भयो ।
भेलामा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले अध्ययनमा अब्बल छात्राहरूलाई अभिभावकहरूको चेतनाको अभावको कारण चाँडै विवाह गरिदिँदा समाज पछाडि पर्न गएको धारणा राख्दै महिला शिक्षित, दीक्षित र स्वस्थ भए परिवार तथा समाज नै स्वस्थ हुने बताउनुभयो ।
समाज परिवर्तनमा महिलाको भूमिका महत्वपूर्ण हुने भएकोले महिलाहरूलाई हुने विभिन्न स्वास्थ्य समस्याबाट मुक्त गर्न सबै आमा समूह र समाज नै एकताबद्ध भई लाग्नु आवश्यक छ, उहाँले भन्नुभयो ।
अध्यक्ष बिजुक्छेँले बिचमा पढाइ छोडेर बसेका महिलाहरूले पुनः समय मिलाएर अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याउँदै देशमा भइरहेको राजनीतिक परिवर्तन र त्यसबाट जनतामाथि परेको प्रभावको बारेमा पनि थाहापाइराख्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भक्तपुर नेपालकै सबभन्दा उदाहरणीय सहर बनेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पुर्खाले सिर्जेको सम्पत्तिलाई हामीले कला र संस्कृतिको रूपमा जीवन्तता प्रदान ग¥र्याैँ । यो नेमकिपाको स्पष्ट दृष्टिकोण र दूरदर्शिताको कारण सम्भव भएको हो । नेमकिपा पछाडि परेको जनतालाई उठाउने र शोषण र शोषकको विरूद्ध लड्न सिकाउने पार्टी हो ।”
नेमकिपाका केन्द्रीय सदस्य एवं नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष सृजना सैँजूले भक्तपुरका कलेजहरूमा पढ्ने तथा पढाउने दुवैमा महिलाहरूको सङ्ख्या बढी हुनुका साथै पढाइ पनि अब्बल रहेको र यस्तो स्थिति आउनुमा नेमकिपाको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेक्रामसङ्घ र पार्टीको सक्रियतामा समय समयमा महिला स्वास्थ्य शिविरहरू सञ्चालन भइरहेको हुँदा यहाँका महिलाहरूको स्वास्थ्यमा धेरै हदसम्म प्रगति भएको छ । अन्य जिल्लाहरूमा पनि महिलाहरूको लागि नियमित स्वास्थ्य शिविर सञ्चालन हुनु आवश्यक छ ।”
नेपालको शासक दलका नेता तथा नेतृहरू आफू पार्लर जाने र करोडौँ गाडी चढी संसद् जान मन्त्री बन्नेमै ध्यान केन्द्रित हुँदा सिंजाका गरिब महिलाहरू ८० प्रतिशत आङ खस्ने समस्याबाट पीडित रहेको उहाँले बताउनुभयो ।
ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले महिला स्वास्थ्य अशिक्षा र चेतनाको अभावमा अत्यन्त नाजुक अवस्थामा पुग्ने भएकोले महिलाहरूलाई स्वास्थ्य सचेतना कार्यक्रम आवश्यक भएको बताउनभुयो ।
नेमकिपा भनपा वडा नं. ७ एकाइ समितिका अध्यक्ष बलराम गोसाईले नेमकिपाले नेपालको राजनीतिमा प्रकाशस्तम्भको रूपमा काम गरेको बताउनुभयो ।
आयोजक समितिका संयोजक लक्ष्मीकेशरी तुइतुईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा इन्द्रमाया लागे, अञ्जु मचामसी र सुवर्णकेशरी दुवालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *