भर्खरै :

वाग्मती प्रदेशसभामा हिउँदे अधिवेशन सुरु

वाग्मती प्रदेशसभामा हिउँदे अधिवेशन सुरु

हेटौँडा, १५ फागुन । वाग्मती प्रदेशसभाको हिउँदे अधिवेशन मङ्गलबार प्रारम्भ भयो ।
उक्त अधिवेशनमा भाग लिँदै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं प्रदेश सांसद सुरेन्द्रराज गोसाईले भन्नुभयो, “हामी प्रदेशसभाको १५ औँ महिनामा छौँ । गम्भीर समीक्षा आवश्यक छ । आजसम्म आइपुग्दा देश राजनीतिक र आर्थिक सङ्कटमा अझ बढी फस्दै छ । देश कसले चलाउँदै छ ? देशमा सरकार छ र ? जस्ता यक्ष प्रश्न खडा छन् । देश किन विदेश हिँडिरहेछ ? सर्वत्र चिन्ता छ । विदेशी शक्तिसामु शासक नेताहरू किन घुँडा टेक्दै छन् ? प्रश्न खडा छ ।”
उहाँले भन्नुभयो, “नेपाली समाजमा एउटा आहान प्रचलित छ – ‘आगोसँग नजिस्किनु, पानीसँग नजिस्किनु र राजनीतिसँग नजिस्किनु ।’ तर, शासक दलहरू जिस्किरहेका छन् । परिणाम उनैले भोग्नेछन् । राजनीति इमानदारी, नैतिकता, विचार तथा सिद्धान्तमा आधारित हुन्छ । राजनीतबाट यी सबै निकालेको खण्डमा राजनीति लाजनीति बन्छ; अपराधको कर्म बन्छ र ठगनीति बन्छ । शासक दल र वाग्मती प्रदेश सरकारको हिजोआजको राजनीति हेर्दा लाज पनि लजाउँदो हो ! देशका नामुद ठगहरूसमेत प्रदेश सरकारको काइदा देखेर ताजुब मान्दा हुन् ! आफूहरूलाई उछिन्नेहरूको यति चाँडै विकास भएकोमा रणभुल्लमा पर्दा हुन् ! प्रदेश सरकारलाई हेक्का रहोस्, बेइमानी राजनीति होइन र राजनीति बेइमानी होइन ! राजनीतिक बेइमानी धेरै दिन टिक्दैन ।”
सांसद गोसाईले भन्नुभयो, “राजनीतिमा दिएको वचन पूरा गर्न सकिएन, जनताको पक्षमा काम नै गर्न सकिएन, बारम्बार हात उठाउनुपर्ने स्थिति आयो र आफू मातहतका कर्मचारीलाई समेत तह लगाउन सकिएन भने एउटा सरल उपाय बाँकी रहन्छ । त्यो हो – राजीनामा । प्रदेश सरकार पनि बेकामे र अनैतिक भएर पदमा बसिरहनुभन्दा राजीनामा दिएर स्वास्थ्यलाभ गर्न घर बस्नु उपयुक्त हुने जनताको सुझाव छ ।”
काठमाडौँ उपत्यका मन्दिरै मन्दिरको मात्र होइन गल्ली नै गल्लीको सहर पनि हो । अहिलेको वाग्मती सरकारलाई हेर्दा बन्द गल्लीमा हराएको मानिसझैँ अनुभव हुन्छ; न भित्र जान सक्नु, न त बाहिर आउन नै ! चक्रव्युहमा अभिमन्यु फसेझैँ सरकारमा जानसम्म सक्यो तर न सिन्को भाँच्न सक्यो न त ज्यान जोगाएर बाहिर निस्कनै जान्यो ! वाग्मती प्रदेश सरकारको पनि त्यही दुर्दशा नहोस्, कामना छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *