भर्खरै :

इजरायली दूतावासबाहिर आत्मदाह गर्ने अमेरिकी वायुसेना जवानको मृत्यु

इजरायली दूतावासबाहिर आत्मदाह गर्ने अमेरिकी वायुसेना जवानको मृत्यु

वासिङ्टन डिसी, २७ फेब्रुअरी । गाजामा इजरायली युद्धको विरोधमा वासिङ्टन डिसीस्थित इजरायली दूतावासबाहिर ‘फ्री प्यालेस्टिन’ भनी चिच्याउँदै एरोन बुसनेलले आत्मदाह गरे । बुसनेल अमेरिकी वायुसेनाका सैनिक थिए । अमेरिकी रक्षा मन्त्रालयको कार्यालय पेन्टागनले उनको मृत्यु भइसकेको बताएको छ ।
अमेरिकी मिडिया रिपोर्टहरूले जनाए अनुसार आत्मदाह गर्दा बुसनेल सैनिक पोशाकमा थिए । सामाजिक सञ्जाल प्लेटफर्म ट्वीचमा आत्मदाहको प्रत्यक्ष प्रसारण गर्दै बुसनेलले शरीरमा प्रज्ज्वलनशील पदार्थ खन्याउनुअघि उनले “नरसंहारमा संलग्न नहुने” घोषणा गरे ।
त्यसपछि भुइमा नढलेसम्म उनले ‘फ्री प्यालेस्टिन’ नारा लगाउँदै आत्मदाह गरे ।
एक विज्ञप्ति जारी गर्दै अमेरिकी वायुसेनाले सोमबार भन्यो, “घाउका कारण टनामा संलग्न व्यक्तिको हिजो राति मृत्यु भयो ।”
वायुसेनाले बुसनेलका आफन्तलाई सूचित गरेपछि मात्र थप जानकारी उपलब्ध गराउने जानकारी दिएको छ ।
गाजामा इजरायली युद्धको विरोधमा संरा अमेरिकाभर प्रदर्शन जारी रहेको बेला उक्त घटना भएको हो । गत डिसेम्बरमा पनि एटलान्टा राज्यमा इजरायली वाणिज्य दूतावासबाहिर एक प्रदर्शनकारीले आत्मदाह गरेका थिए । घटनास्थलमा प्यालेस्टिनी झण्डा फेला परेको थियो भने सो आत्मदाहलाई तीव्र राजनीतिक विरोधका रूपमा हेरिएको थियो।
अक्टोबर ७ मा हमास लडाकुहरूले इजरायलमाथि आक्रमण गरेका थिए । सो आक्रमणमा परेर इजरायली पक्षमा कम्तीमा १,१३९ जना मारिएको र करिब २५० जनालाई बन्धक बनाइएको थियो ।
सो आक्रमणपछि इजरायलले जल, थल र हवाई माध्यमबाट प्यालेस्टिनी भूभागमा तीव्र बमबारी ग¥यो र स्थल कार्बाही चर्कायो । प्यालेस्टिनी अधिकारीहरूका अनुसार इजरायली आक्रमणका कारण २९,००० भन्दा बढी प्यालेस्टिनीहरू मारिएका छन् ।
(स्रोतः अल जजिरा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *