भर्खरै :

कर्मचारीहरू इमानदार भए बढीभन्दा बढी जनताको हित हुने

कर्मचारीहरू इमानदार भए बढीभन्दा बढी जनताको हित हुने

काठमाडौँ, १९ फागुन । नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्ला समितिको आयोजनामा नेमकिपाप्रति आस्थावान कर्मचारीहरूको भेला शनिबार भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले कर्मचारीहरू इमानदार भए बढीभन्दा बढी जनताको हित हुने चर्चा गर्दै इमानदार कर्मचारीले देशको सार्वभौमिकता जोगाउन सक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “व्यक्तिगत स्वार्थले प्रेरित भ्रष्ट कर्मचारीहरूको कारण इमानदार कर्मचारीहरूको समेत बद्नाम भइरहेकोले नेमकिपाप्रति आस्थावान कर्मचारीहरू अरूको निम्ति उदाहरण बन्न सक्ने गरी काम गर्नुपर्छ ।”
नेमकिपाले अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवाद र भारतीय एकाधिकार पुँजीको विरोध गरिरहेको उहाँले बताउनुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य राजवीर डंगोलले सचेत र सङ्गठित शक्तिले मात्र समाज परिवर्तननमा योगदान गर्न सक्ने भएकोले पार्टीप्रति आस्थावान कर्मचारीहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेमकिपाले पार्टी कार्यकर्ताहरूलाई इमानदार भई जनताको निःस्वार्थपूर्वक सेवा गर्न प्रशिक्षित गरिरहेको चर्चा गर्दैै उहाँले कर्मचारीहरू अनुशासित र सुसंस्कृति हुनुपर्ने बताउनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले नेमकिपा समाजवादी व्यवस्था स्थापनाको लागि सङ्घर्षरत रहेको चर्चा गर्दै पुँजीवादी व्यवस्थाले दुई–तीन सय वर्षमा गरेको विकास समाजवादी देशहरूले ३०–४० वर्षमा गरेको देखाएको बताउनुभयो ।
राजनीतिकरूपमा सचेत नभएका व्यक्तिलाई हुलले निर्देशित गर्न सक्ने भएकोले कर्मचारीहरू सचेत हुनु जरूरी रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “असल मान्छेहरू राजनीतिबाट टाढा भएसम्म खराब आचरणका व्यक्तिको समाजमा राज हुनेछ । राजनीतिबाट अछुटो कोही नहुने यसतर्फ कर्मचारीहरूले मनन गर्नु आवश्यक छ ।”
अमेरिकी स्वार्थ र लगानी भएको एमसीसी सम्झौता नेपालको हितविपरीत रहेको हुँदा नेमकिपाले एमसीसीको विरोध गरिरहेको उहाँले बताउनुभयो ।
नेपाल कर्मचारी समाजका केन्द्रीय अध्यक्ष गौतमप्रसाद लासिवाले वर्गीय विभेद रहेसम्म कामगरी खाने जनताको हितमा पुँजीपतिहरूले ऐन–कानुन बनाउन दिनेछैन भन्नुभयो ।
नेपाल कर्मचारी समाजले ट्रेड युनियनवादी सङ्गठन होइन । तर कर्मचारीको हक हित र क्षमता अभिवृद्धिको लागि समाजले सहयोग गर्नेछ, उहाँले भन्नुभयो ।
कर्मचारी कामदार वर्गभित्र पर्ने भएकोले कामदार वर्गको हित समाजवादी व्यवस्था स्थापनाको लागि कर्मचारीहरूले वकालत गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *