भर्खरै :

देशभक्त बनाउन शिक्षक र प्राध्यापकहरूको महत्वपूर्ण हात

देशभक्त बनाउन शिक्षक र प्राध्यापकहरूको महत्वपूर्ण हात

नेपाली माटोमा पसिना बगाउने हाम्रा गाउँघरका अग्रजहरूले दाजुभाइ तथा दिदीबहिनीहरूलाई भन्ने गर्थे – मेरो सन्तानलाई शिक्षक तथा प्राध्यापकहरूले देशमा आइपर्ने समस्याको सामना गर्नसक्ने, आफ्नो लागि आफैँले बाँच्न सक्ने ज्ञान, सीप सिकाइदिनुहोस्, जीवन सङ्घर्ष हो, सङ्घर्ष नै जीवन हो भनेर सिकाइदिनुहोस् । नेपाली माटोको माया गर्ने, नेपाली माटोमै जीउन सिकाइदिनुहोस् ।
देशका शासकहरूले देश बनाउने खालको शिक्षा नीति ल्याएनन्; देशलाई माया गर्ने शिक्षा व्यवस्था गर्न सकेनन् । उनीहरूले देशलाई आफ्नै खुट्टामा उभिने शिक्षा प्रणाली ल्याउन सकेनन् । उनीहरूले क्युवा, उत्तर कोरिया र चीनको जस्तो उत्पादन श्रमसँग जोडिएको, देश बनाउने, देशलाई माया गर्ने शिक्षाको व्यवस्था गर्न सकेनन् । त्यसैले, आज देशको अवस्था बेहाल भइरहेको छ ।
उनीहरू विदेशीले थोपरेको सहयोगमा मख्ख परेर गौरव गर्थे । उनीहरूले देशको अर्थतन्त्र विदेशीलाई सुम्पँदै आएका छन् । हाम्रा प्रधानमन्त्री, मन्त्री, सांसद तथा उच्चपदस्थ कर्मचारीहरू विदेशीको पैसामा विदेश सयर गरेको खबर सञ्चारमाध्यममा आउन थालेका छन् । सित्तैमा विदेश भ्रमण गर्न पायो भन्दैमा, विदेशीले लावा लस्करसहित रातो कार्पेट बिछ्याएर भव्य स्वागत ग¥यो भन्दैमा मख्ख पर्नुहुँदैन । हाम्रा प्रम, मन्त्री र सांसदहरूलाई विदेशीले सित्तैमा विभिन्न सहयोगको नाममा त्यसै पैसाको खोलो बगाउँछन् र विदेशीले हामीलाई उनीहरूको पासोमा फसाउन लाग्यो है भन्ने कुरा बुझ्नु आवश्यक छ । विदेशीहरूले यसरी नै एसिया, अफ्रिका, ल्याटिन अमेरिकी देशका नेता तथा शासकहरूलाई त्यस्तै सहयोगको पासो थापेर देश कब्जा गरेको, शासकहरूलाई पासोले बाँधेर आफ्नो उठबसमा राखेको र आफूले भनेजस्तो नबस्ने नेताहरूको हत्या गरेको इतिहास हामीले बिर्सनुहुँदैन । प्रम, मन्त्री, सांसद तथा कर्मचारीहरू पनि हिजो शिक्षक र प्राध्यापक भएर देशलाई आत्मनिर्भर बनाउने, देशको रक्षा गर्नुपर्छ भनेर विद्यार्थीहरूलाई पढाउँदै सिकाएका व्यक्तिहरू थिए ।
नेमकिपाका सचिव एवम् सांसद प्रेम सुवालले संसद्मा विभिन्न समितिहरूको बैठकमा विदेशी सहयोगमा, विदेशी पुँजीमा विदेश भ्रमण गर्ने, विदेशी भव्य स्वागत गरेकोमा रमाउने, मख्ख पर्ने र गौरव गर्ने हाम्रा प्रम, मन्त्री, सांसद र उच्चपदस्थ कर्मचारीहरूलाई भनेका थिए, हाम्रा प्रम, मन्त्री, सांसद र कर्मचारीहरूको विदेश भ्रमण नेपालकै पैसामा हुनुपर्छ, भारतलगायतका विदेशीको पैसा, खर्चमा विदेश भ्रमणमा जाँदा भोलि उनीहरूले नेपालको हितमा शिर ठाडो पारेर अडान राख्न सक्दैनन् उनीहरूले भनेका सर्तहरूमा सही गरेर आउनुपर्ने अवस्था आउन सक्छ । नेपाली काङ्ग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीलगायतका मन्त्रीहरू, देशघाती टनकपुर सन्धिमा सही गर्ने गिरिजाप्रसाद कोइराला, महाकाली सन्धिमा ल्याप्चे ठोक्ने शेरबहादुर देउवा, महाकाली सन्धि भयो भने देश झिलीमिली हुने, देशलाई बर्सेनि खरबौँ खर्ब आम्दानी हुन्छ भनेर सही गर्ने खड्गप्रसाद ओली जसले अहिले आएर त्यसमा हाम्रो कमजोरी रह्यो भन्दै पछुताउ गरे । कम्युनिस्टलाई ट्रेडमार्क मात्र हो भन्ने मनमोहन अधिकारीजस्ता पूर्वप्रम र भारतमा गएर कर्णाली बुझाएर आउने प्रम पुष्पकमल दाहाल ‘प्रचण्ड’ जस्ता व्यक्तिहरू हाम्रो देशमा छन् । युरोपेलीहरूले ऐना देखाएर अफ्रिकाको हिरा खानी, खाडी मुलुकको तेल खानी कब्जा गरेका थिए । डिल्लीले सिक्किमका लेन्डुप डोर्जेलाई पनि रातो कार्पेट ओछ्याएर बरोबर स्वागत गरेका थिए । सिक्किम भारतमा विलय भएपछि लेन्डुपको मृत्यु पशुको जस्तै भयो ।
नेपालका नाम चलेका विदेशी सम्बन्धनमा चलाएका निजी कलेज तथा विश्वविद्यालयहरूमा पढाउने शिक्षक र प्राध्यापकहरू नेपालमा केही छैन, नेपालमा केही हुँदैन र विदेशमा झिलीमिली छ भन्दै डलरको खोलो बगाउँछन् । उनीहरूले रुखमा टनक्क लटरम्म पाकेको फलसरि डलर सजिलै झार्न पाइन्छ भनेर सिकाएका छन् । त्यस्तो सोच, विचार र शिक्षालाई शासकहरूले स्वागत गरिदिँदा हाम्रो देशका सुन्दर भविष्यका कर्णधार विद्यार्थीहरू बर्सेनि लाखौँ बिदेसिरहेका छन् । उनीहरूलाई शिक्षक तथा प्राध्यापकहरूले देशभक्ति भावना सिकाएनन् । हामी यही मातृभूमिमै रगत बगाएर देशलाई बनाउन सक्छौँ र बनाउनुपर्छ भनेर सिकाएनन् ।
कर्णालीको माटोले जन्माएका छोराछोरी, सन्तानलाई कर्णालीका शिक्षकहरूले साक्षर त बनाए तर शिक्षित बनाएनन् । प्राध्यापकहरूले जिउनका लागि योग्य त बनाए तर जिउन सिकाएनन्† पुस्तक पढाए तर जीवन दर्शन पढाएनन्, सिकाएनन् । कुनै परिवार शिक्षित, सम्पन्न बनेर समाज, देश सम्पन्न हुन सक्दैन भनी सिकाएनन् । हामी विदेसिएर हाम्रो घर देश सम्पन्न हुँदैन भनेर सिकाएनन् । हामीले सिकेको ज्ञान र सीपले हाम्रो देश नसिञ्चिएसम्म देश बन्दैन । देशभक्ति सोचले समाजलाई नसिँगारेसम्म देश सुन्दर बन्दैन । हामी आफैँले सफा नगरेसम्म न त हामी सफा बन्न सक्छौँ न त देश नै सफा हुनसक्छ । हामी आफैँले रगत पसिना नबगाएसम्म न त हामी आफू बन्छौँ न त देश नै बन्छ । त्यसैको परिणाम आजको देशको दयनीय अवस्था हो भन्दा गलत नहोला ।
हाम्रा शिक्षक आमाबुबाहरू, दिदीबहिनीहरू, दाजुभाइहरूले हिजोका अग्रजहरूले जस्तो हाम्रा सन्तानलाई आफैँ बाच्ने माटोमा लडिबुडी खेल्न, रमाउन दिनुपर्छ । हाम्रा सन्तानहरू बलिया भएनन्, चलाख भएनन् बरोबर बिरामी भए ।
हाम्रा शिक्षकहरूले विद्यार्थीहरूलाई पढाउने नाममा कोठाभित्र थुनेर पाठ्यपुस्तक मात्र घोकाएर राखे । आफ्ना सन्तानलाई जस्तो जीवनलाई चिनाउने, जिउने कला सिकाएनन् , गाउन, नाच्न, खेल्न सिकाएनन् भनेर अभिभावकहरू दुःख पोख्दै छन् । सम्मानको बोली बचन, संस्कार सिकाइएन । त्यसको अनुगमन निरीक्षण अर्थात चेक एन्ड बालेन्स गरिएन । किसानहरूले खेतमा प्रयोग गर्ने औजार मजदुरहरूले कसरी बनाउँछन्, त्यसको लागि कति श्रम गर्नुपर्छ विद्यार्थीलाई थाहा हुँदैन । यसको अर्थ नयाँ नयाँ सूचना प्रविधि, नदेखाउने भन्ने होइन । त्यस्तै सहिद पार्कमा लगेर उनीहरूले देशमा प्रजातन्त्र ल्याउन, देशको रक्षा गर्न पु¥याएको योगदानको इतिहासको भूमिकाबारे बताउनु आवश्यक छ । देशमा सङ्कट आइपर्दा देशको रक्षा कसरी गर्नुपर्छ भन्ने ज्ञान सिक्छन् । उनीहरू आँतिदैनन्, मातिँदैनन् । अनि सकङ्ट पर्दा निरास पनि हुँदैन । त्यसको सामना गर्न सक्षम हुन्छ । उनीहरूले जीवन सङ्घर्ष, हो सङ्घर्ष जीवन हो भनेर सिक्छन्, चिन्दछन् । परीक्षामा विशिष्ट श्रेणीमा वा ए प्लस आउँदैमा उनीहरू संस्कार र संस्कृति हुन्छ भन्ने होइन । आफूलाई जन्मदिने आमा बुबा, मातृभूतिलाई कसम्मान गर्छन् भन्ने छैन । त्यस्ता विद्यार्थीले दिमागमा जसरी भए पनि ‘ए’ प्लस ल्याउने, विदेश जाने सोच राख्छ जुन देशको लागि घातक छ । यसलाई सबै शिक्षक प्राध्यापकहरूले मनन गर्नु आजको आवश्यकता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *