भर्खरै :

असल विद्यार्थीका गुण

असल विद्यार्थीका गुण

काक चेष्टा बको ध्यानं श्वान निद्रा तथैवच
अल्पाहारी, गृहत्यागी विद्यार्थी पञ्च लक्षणं ।
(कागको जस्तो चेष्टा (सतर्कता), बकुल्लाको जस्तो गहिरो ध्यान, कुकुरको जस्तो पातलो निद्रा, खाना थोरै खाने, घर छोडेको– यी हुन् विद्यार्थीका पाँचओटा लक्षण ।
गहिरिएर बुझ्ने प्रयास गर्ने हो भने, यो पुरानो श्लोकले एकजना आदर्श विद्यार्थीमा हुनुपर्ने मोटामोटी गुण समेटेको देखिन्छ । यसबाहेक, सामान्यतः विद्यार्थीमा यी गुणहरू पनि हुनुपर्छ :
(क) शब्दकोशको प्रयोग गर्ने : हामी सबैले बोल्ने र लेख्ने भनेकै शब्द हो । शब्दहरू जति बढी जानियो उति बढी कुरा बुझिने हुन्छ । किताबमा लेखिएका कुराहरू राम्ररी बुझ्न र सम्झन पनि शब्दहरू नै जानेको हुनुपर्छ । शरीरलाई त बेलामौकामा सिँगारपटार गरेर राम्रो बनाउन सकिएला तर शब्दभण्डार पर्याप्त छैन भने हामी तिनको सही स्थानमा सही प्रयोग गर्नै सक्दैनौँ । त्यसो हुँदा, भन्न चाहेको कुरो कुनै पनि बेला बताउनै सक्दैनौँ ।
हामीसँग शब्द नै आवश्यक मात्रामा नभएपछि हाम्रो बोली शुद्ध हुनसक्दैन । बोली शुद्ध नभएपछि हाम्रो ‘विद्यार्थी परिचय’ राम्रो बन्ने कुरै भएन । हामीले जानेका सीमित शब्दको गलत प्रयोगले हामी यत्रतत्र हाँसोको पात्र बन्ने सम्भावना हुन्छ । पढेका, बुझेका र सुनेका कुराहरू राम्ररी व्यक्त गर्न पनि शब्दहरूकै आवश्यकता पर्छ । परीक्षामा लेख्दा शुद्ध र सही शब्दकै माध्यमबाट उत्तरलाई आकर्षक र प्रभावकारी बनाउन सकिने हो । यी सबै कुराका लागि हामीलाई हरपल शब्दकोशको आवश्यकता पर्छ । त्यसैले असल विद्यार्थीहरू शब्दकोश किनेर पढ्छन् । शुद्ध शब्दको ख्याल गर्छन् र दिनको एक दुईओटा नयाँ शब्द याद गर्दै गएर शब्दभण्डार बढाउँछन् । कतिले त यसरी शब्दकोशै खाएका हुन्छन् ।
आजकल शब्दकोशका विभिन्न एप पनि पाइन्छन् । शब्दकोशका माध्यमबाट शब्दभण्डार बढाएपछि ती शब्दको उचित प्रयोगबाट शैली राम्रो बनाउन पनि अभ्यास गर्नुपर्ने हुन्छ, जसरी आकर्षक फूलका थुङ्गाहरू मिलाएर उनी माला तयार गरिन्छ ।
(ख) समयको पालना गर्ने : समय ज्यादै मूल्याङ्कन हुन्छ । यो गएपछि फेरि फर्केर आउँदैन । संसारका जति पनि व्यक्तिहरू सफल भए ती सबैले समयको महत्व बुझेर काम गरेका हुन् । यो कुरा मनन गरेर विद्यार्थीहरूले पनि समयको उचित ख्याल गर्नुपर्छ । जसरी विद्यालयमा विभिन्न विषयका लागि निश्चित घण्टी तोकेर पठनपाठनको व्यवस्था मिलाइएको हुन्छ त्यसरी नै असल विद्यार्थीले घरमा पनि उठ्ने, सुत्ने, खेल्ने, खाने, मनोरञ्जन गर्ने, घुम्नेदेखि लिएर पढिने विभिन्न विषयका लागि पनि निश्चित समय तालिका बनाएको हुनुपर्छ । अध्ययनका लागि समय तालिका बनाउँदा गा¥हो विषयलाई धेरै समय र सजिलो विषयलाई थोरै समय दिन सकिन्छ ।
आजकल विद्यार्थीको धेरै समय मोबाइलमा खर्च हुने गरेको छ– त्यो पनि खालि Entertainment मा । कतिपय विद्यार्थी त पहिला मोबाइल नभई विद्यालय नजाने भनेर बाबुआमालाई दुःख दिने र किनिदिएपछि त्यही हेरेर दिन बिताई घरमै बस्ने पनि छन् । यसरी विद्यार्थीको भविष्य चौपट हुँदै छ । Entertainment मा भन्दा पनि विद्यार्थीले Urgent / Important कुरामा ध्यान दिनुपर्ने हुन्छ ।
(ग) दैनिकी लेख्ने : दिनभरि भएका/गरेका घटनालाई बेलुका खासगरी सुत्नुअघि दिनहुँ लेख्ने कामलाई नै ‘दैनिकी लेखन’ भनिन्छ । भाषाका चारओटा सीप (सुनाइ, बोलाइ, पढाइ, लेखाइ) मध्ये लेखाइ सीप विशेष महत्वपूर्ण छ । लेखाइ राम्रो हुँदा मात्रै विद्यार्थी परीक्षामा पास हुन्छ । कुनै पनि पदमा जागिरे हुनसक्छ । कवि/लेखक बन्न सक्छ । ‘दैनिकी लेखन’ ले विद्यार्थीमा मौलिक र स्वतन्त्र लेखन क्षमता बढाउँछ । भविष्यका लागि यो एउटा अभिलेख र इतिहास पनि हो । विश्वका विभिन्न व्यक्तिका दैनिकी आजका पुस्ताका लागि पठनीय सामग्री भएका छन् । तसर्थ, ‘दैनिकी लेखन’ लाई असल विद्यार्थीको एउटा गुणमा समेट्न सकिन्छ ।
(घ) आफूलाई अपडेट बनाइराख्ने : देश तथा विदेशमा विभिन्न उल्लेखनीय घटनाहरू भइरहन्छन् । तीमध्ये आफूलाई काम लाग्ने महत्वपूर्ण घटनाबारे हमेसा जानकार भइराख्नुपर्छ । पत्रपत्रिकामा छापिएका तथा अन्य सञ्चार माध्यमबाट सार्वजनिक भएका कुराहरू पढ्नु÷सुन्नुपर्छ । “सबै कुरा गुगलमा छँदै छ नि ¤ आवश्यक परेको त्यतै खोजौँला न !’ भन्ने सोचाइले पछि परिन्छ । त्यसैले आवश्यक परेको बेलामा हेर्ने, सम्झने र लेख्ने बानीको विकासका लागि पनि असल विद्यार्थीले दुईवटा नोटबुक बनाउँदा राम्रो हुन्छ– एउटा राष्ट्रिय घटना टिपोटका लागि र अर्को अन्तर्राष्ट्रिय घटना टिपोटका लागि ।
(घ) विभिन्न तरिकाले पढ्ने : कुनै पनि कुरा सम्झनका लागि सबै ठाउँमा पुगेर, हेरेर र प्रयोगात्मक कार्य गरेर सम्भव हुँदैन । त्यसका लागि पढ्नु नै पहिलो काम हो । पढेको कुरा याद गर्नका लागि कहिले कराएर पढ्नुपर्छ । कहिले सानातिना नोट बनाएर मनमनै पढ्नुपर्छ । कहिले सारांश बनाएर पढ्नुपर्छ । कहिले लेखेर पढ्नुपर्छ र कहिले गीत बनाएर पढ्नुपर्छ । पढिसकेपछि आफैँलाई प्रश्न गर्ने, पढेका कुरा सम्झन प्रयास गर्ने, घरको आफ्नै अध्ययन कोठामा नमुना परीक्षा दिनेजस्ता कुराले पढाइलाई थप प्रभावकारी बनाउन सक्छन् । याद गर्ने कुरा भए, हिँड्दै पढ्दा छिटो आउँछ । उभिएर पढ्दा पनि बेसै हो । बसेर पढ्नुलाई पनि ठिक्कै मानिन्छ तर सुतेर पढ्नु हुँदैन ।
(ङ) असल व्यक्तिलाई साथी बनाउने : ‘भेडा भेडासँग र बाख्रा बाख्रासँग’ भन्ने उखान छ । हरेक व्यक्तिको सङ्गत आफूजस्तै सँग हुन्छ । यस अर्थमा असल विद्यार्थी बन्न चाहनेले साथी पनि असलै बनाउनुपर्ने हुन्छ । एकजना असल साथीले आफूलाई असल कुरा सुनाउँछ । असल सल्लाह दिन्छ । छलफलमा सहभागी भएर पढेको कुरा सम्झन तथा तर्कशील बन्न सघाउ पु¥याउँछ । विभिन्न विषयका समस्यालाई समाधान गर्न सहयोग गर्छ । असल साथीहरू, पछिसम्म पनि स्मरणीय, आनन्ददायी र प्रेरणाका स्रोत बन्न सक्छन् । त्यसैले असल विद्यार्थीले सधैँ असल साथीको सङ्गत गर्छन् । असल साथीको सङ्गतबाटै असल विद्यार्थी बन्छन् ।
(च) अध्ययनशील बन्ने : आजकलका कतिपय विद्यार्थी पढ्नुलाई एकदम बोझको रूपमा लिन्छन् । बाध्यताको विषय ठान्छन् । गृहकार्य गर्नुप¥यो भने पढेर, बुझेर, खोजेर होइन, सारेर गर्नमा सजिलो मान्छन् । प्रकृति, पुस्तक र कामबाट सिक्ने होइन, एआइ प्रविधिमा रमाउन चाहन्छन् । एआइ प्रविधिलाई सदुपयोग गर्दै पुस्तक अध्ययनमा रमाउने विद्यार्थी नै यथार्थमा असल विद्यार्थी बन्न सक्छन् ।
(छ) अनुशासित, जिज्ञासु र सहयोगी बन्ने : ‘अनुशासन नै विद्यार्थीको गहना हो’ भनिन्छ । विद्यार्थीको अनुशासनभित्र विद्यालयको नियम पालना गर्ने, विद्यालयले आयोजना गरेको कुनै पनि कार्यक्रममा सहभागी बन्ने, साथीभाइसँग सौहार्द सम्बन्ध कायम गर्ने, नम्र बन्ने, आफ्ना शिक्षकहरूसँग राम्रो व्यवहार गर्नेजस्ता कुराहरू पर्दछन् । यस्ता कुराहरू विद्यालयमा मात्र वाध्यतावश देखाइने होइन, घर समाजमा पनि पालना गरिएको हुनुपर्छ । आजका विद्यार्थी नै भोलिका अभिभावक र यो देशका असल नागरिक पनि हुन् । ती आजैदेखि असल बने भने भोलिको देशै असल बन्दछ ।
भनिएको पनि छ :
विदेशेषु धनं विद्या व्यसनेषु धनं मति
परलोके धनं धर्मः शीलं सर्वत्र वै धनम् ।
(विदेशमा रहँदाको धन भनेको विद्या हो । दुःख पर्दाको धन बुद्धि हो अनि परलोकमा जाँदाको धन धर्म । तर, शीलस्वभाव सबैतिर आवश्यक पर्ने धन हो ।)
त्यस्तै, असल विद्यार्थीमा सदैव जिज्ञासा, सहयोगी भावना, सहानुभूति, सकारात्मक सोच, राजनीतिक सचेतताजस्ता थुप्रै गुणहरू पनि हुनु जरुरी छ । उमेर, असल पुस्तकको अध्ययन र असल सङ्गतसँगै उनीहरूमा यस्ता गुणको विकास क्रमशः हुँदै जान्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *