भर्खरै :

पुजारी मठ माटो जोडाइबाट पुनःनिर्माण गरिने

पुजारी मठ माटो जोडाइबाट पुनःनिर्माण गरिने

भक्तपुर, २० फागुन । पुरातत्व विभागको चालु आ.व. २०८०/८१ को स्वीकृत कार्यक्रमअन्तर्गत भक्तपुर दरबार क्षेत्र परिसरमा अवस्थित लाल बैठक संरक्षण कार्य र भक्तपुर दत्तात्रयस्थित पुजारी मठ पुनःनिर्माण कार्यबारे सरोकारवालाहरूसँगको छलफल कार्यक्रम आइतबार सम्पन्न भयो ।
पुजारी मठ पुनःनिर्माणमा देखिएको समस्याबारे छलफलको लागि बोलाइएको उक्त बैठकले पुजारी मठ मौलिक स्वरूपअन्तर्गत माटो जोडाइबाट पुनःनिर्माण गर्ने विषयमा सरोकारवालाहरू सहमत भएका छन् ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले यसअघि नै सरोकारवालाहरूको बैठक राखी पुजारी मठ पुनःनिर्माण माटो जोडाइबाट गर्ने निर्णय गरिसकेको बताउनुभयो ।
मौलिक प्रविधि प्रयोग गर्ने विषयमा भक्तपुर नपा अग्रसर रहेको बताउँदै उहाँले सम्पदा संरक्षण र पुनःनिर्माण कार्यमा विज्ञहरूको राय–सल्लाहअनुसार नै अगाडि बढाइरहेको प्रस्ट पार्नुभयो ।
सम्पदा संरक्षण संवेदनशील विषय भएको धारणा राख्दै उहाँले भक्तपुर नपाले विदेशी सहयोगविना नै सम्पदाहरू पुनःनिर्माणमा जोड दिँदै आएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले माटो जोडाइबाट पुनःनिर्माण गर्ने भनिएको पुजारी मठमा सुर्की चुना प्रयोग भएपछि पुनःनिर्माणको कार्य रोकिएको बताउनुभयो ।
पुरातत्व विभागका महानिर्देशक शौभाग्य प्रधानाङले माटो जोडाइ प्रविधि भरपर्दो र बलियो हुने धारणा राख्दै भूकम्पप्रतिरोधी सम्पदा निर्माणमा पुरातत्व विभागले जोड दिँदै आएको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले माटो जोडाइबाट पुजारी मठ पुनःनिर्माण हुनुपर्ने पक्षमा वडावासीहरू रहेको बताउँदै वर्षाको समय नजिकिएसँगै निर्माण सामग्रीहरूलाई सुरक्षित र व्यवस्थित गर्नेतर्फ जोड दिनुभयो ।
कन्जर्भेसन आर्किटेक्ट इ. सुदर्शनराज तिवारी र विज्ञ इन्जिनियर प्रेमनाथ मास्केले पुजारी मठ पुनःनिर्माणको सन्दर्भमा माटो जोडाइबाटै हुनुपर्नेमा आफूहरू सहमत भएको र पुनःनिर्माणको समयमा प्रयोग हुने माटो तथा इँटाको गुणस्तरमा पनि सम्बन्धित सरोकारवालाहरूले विशेष ध्यान दिनुपर्छ भन्नुभयो ।
स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरका प्रमुख अरूणा नकर्मीले विज्ञहरूको राय सुझावअनुसार मठ पुनःनिर्माण कार्य अगाडि बढाउनु उपयुक्त हुने धारणा राख्नुभयो ।
राष्ट्रिय कला सङ्ग्रहालय परियोजना प्रमुख एवम् सङ्ग्रहालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले कार्यक्रमको उद्देश्यमाथि प्रस्ट पार्नुभयो ।
पुरातत्व विभागका स्ट्रक्चरल इन्जिनियर पुरूषोत्तम डंगोलले पुजारी मठ र कला सङ्ग्रहालयको अवस्थाबारे प्रस्तुतीकरण दिनुभएको थियो ।
पुरातत्व विभागका इ. विनिता भण्डारी, ख्वप इन्जिनियरिङ कलेजका प्राध्यापक चन्द्रकिरण कवां, निर्माण व्यवसायी प्रतिनिधिलगायतले बोल्नुभएको थियो ।
उक्त कार्यक्रममा भक्तपुर दरबार क्षेत्रमा अवस्थित न्ह्यकं झ्या दरबार र लाल बैठक संरक्षणबारे पनि छलफल भएको थियो । छलफलमा लाल बैठकको संरक्षणका विभिन्न विकल्पहरूबारे सहभागीहरूले विचार प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *