भर्खरै :

उद्योगी–व्यापारी देश र जनताको सेवामा समर्पित हुनुपर्ने

उद्योगी–व्यापारी देश र जनताको सेवामा समर्पित हुनुपर्ने

भक्तपुर, २० फागुन । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले उद्योगी व्यापारीहरूको भेलामा आ–आफ्नो पेसामा सबै इमानदार हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सांसद सुवालले परनिर्भर अर्थतन्त्रमा देश र जनताले दुःख पाउने उल्लेख गर्दै आत्मनिर्भर अर्थतन्त्रको लागि उद्योगी–व्यापारीहरू लाग्नुपर्नेमा जोड दिनुभयो ।
सांसद सुवालले भन्नुभयो, “सामान लुकाउने, कालो बजार गर्ने, कृत्रिम मूल्य बढाउने, मिसावट गर्नेलगायत गलत कामलाई निरूत्साहित गर्नु जरूरी छ । कसैले गलत गर्दैमा आफू पनि गलत काममा लाग्नु हुँदैन । देश र जनताको इमानदारीपूर्वक सेवामा लाग्नु जरूरी छ ।”
“कतिपय नेपालीहरूको छोराछोरी विदेशमा पठाइएको छ, उमेर घट्दै गएपछि एक गिलास पानी खुवाउने नहुने अवस्था छ, आदर निकेतन खोल्नेतर्फ ध्यान जानु जरूरी छ, समयमा औषधि खान नपाएर पक्षघात हुने सम्भावना छ, पैसा र सम्पत्ति भएर मात्र हुँदैन, मति पनि राम्रो हुनु जरूरी छ”, सांसद सुवालले भन्नुभयो ।
“दोस्रो विश्व युद्धमा सोभियत सङ्घले हिटलरको नाजीवादी जर्मनीलाई पराजित गरेपछि संसारमा धेरै देशहरू स्वतन्त्र भएका हुन् । युरोपका कैयौँ देशहरू स्वतन्त्र भए । भारत पनि स्वतन्त्र भयो । अहिले अमेरिकी साम्राज्यवादले युक्रेनमा रूसविरूद्ध आक्रमण गर्दै छ भने इजरायललाई हातहतियार दिएर प्यालेस्टिनी भूमि कब्जा र जातीय नरसंहार गर्दै छ । एमसीसी सम्झौतासँगै नेपालमा पनि युक्रेन र प्यालेस्टिनको अवस्था आउने खतरा छ । उद्योगी–व्यापारीहरू पनि सचेत भएर बस्नु जरूरी छ”, सांसद सुवालले भन्नुभयो ।
भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले पनि बोल्नुभएको सो भेलामा उद्योगी व्यापारीहरूले कृषि अनुदान र पर्यटन उद्योगमा अनुदान मन्त्रीका आफन्तहरूले मात्र पाएको, पैसा भएर पनि संस्कार नभएकाहरूको कारण अप्ठेरोमा पर्ने, प्राङ्गारिक खेती उत्पादनलाई जोड दिनुपर्ने, भक्तपुरमा रात्रिकालीन पर्यटकीय गतिविधि सुरू गराउनुपर्ने र नयाँ पुस्तालाई व्यवहारिक शिक्षा दिनुपर्ने विषयहरू उठेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *