के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
गएको मङ्सिरको मसान्ततिरको एक पत्रिकामा लेखक खगेन्द्र सङ्ग्रौलाको ‘नेपाली कम्निस्टका नौ दुःख’ शीर्षकको लेख पढेको थिएँ । त्यस लेखमा ‘कम्निस्ट’ हरूले आफ्नो सम्पत्ति पार्टीलाई बुझाएर असली सर्वहारा हुने आसयको कुरा लेखिएको थियो । त्यस लेखमा ‘नेपाली कम्निस्ट’ भनेर लेखकले सबै कम्युनिस्टलाई एउटै डालोमा राख्नु आफैँमा बुझपचाइ वा अज्ञानता हो । देशमा कम्युनिस्ट साइनबोर्डका पार्टीहरू थुप्रै छन् । तर, व्यवहारमा कतिपय पुँजीवादी पार्टीभन्दा रत्तिभर फरक छैनन् । कम्युनिस्ट भनेको नाम वा बिल्ला होइन सिद्धान्त र व्यवहार हो, सङ्ख्या पनि होइन सिद्धान्तप्रतिको आस्था र निष्ठा, त्यसअनुरूपको क्रियाकलाप हो । जगजाहेर यस तथ्यलाई नदेखेजस्तो गरी सबैलाई एउटै दृष्टिले हेर्नु र मूल्याङ्कन गर्नु सर्वथा गल्ती हो ।
त्यस लेखमा सङ्ग्रौलाले चित्रबहादुर केसीले असली सर्वहारा बन्न आफ्नो ‘बन्जर पाखो’ पार्र्टीलाई बुझाएको कुरा लेखेका छन् तर माओवादी पार्टीका नेताहरूबारे कतै उल्लेख गरेका छैनन् । हिजो जङ्गलमा छँदा सम्पत्ति पार्टीलाई बुझाउने माओवादी पार्टीका नेताहरू सहर पसेको छोटो समयमै लखपति होइन, करोडपति र अर्बपति भएको दाबी धेरैले गरिरहेका छन् । तिनीहरूको आवास, लवाइखवाइ, सम्पन्नता सर्वत्र चर्चाको विषय छ । जङ्गलबाट सहर पसेका माओवादीहरूको ठाँटबाँट रातारात चुलिएको देखिएकै कुरा हो । यस्तो कसरी भयो ? लेखकले किन देखेनन् ?
गएको मङ्सिरमा एक बिहा भोजमा गण्डकी प्रदेशमा गएको थिएँ । त्यहाँ एक व्यक्तिको अलि नपच्ने हाउभाउ देखेर एक कुटुम्बले भनिहाले, “कति मात्तिएको माओवादी !” माओवादी नेतृत्वको काङ्ग्रेसी शासनमा किन माओवादी भनी आक्रोश पोखेको होला ? जबकि उनी आफँै माओवादीको मतदाता हो ।
‘किन आफैँलाई हकारेको ?’
‘तर, म त्यो जस्तो होइन ।’
‘किन ? उसले के ग¥यो र ?’
उनले बेलीबिस्तार लगाए, “माओवादीका एक कमान्डरले ‘जनयुद्ध’ को बेला नोटले भरिएको दुई बोरा उनको घरमा लुकाउन ल्याएको थियो । कमान्डरको परिचित, सायद साथी भएकोले सुरक्षित राख्न र पछि लिन आउँछु भनी बाटो लाग्यो । तर, केही दिन पछि उक्त कमान्डर भिडन्तमा मारिएको खबर आयो । दिनहरू धेरै बिते तर पैसाको बोरा लिन कोही आएन, आउँदै आएन । त्यही पैसाबाट ऊ धनी भयो, व्यापार बढायो । त्यसैबेलादेखि उसलाई सबैले ‘माओवादी’ भन्न थाले ।”
“कमान्डर मारिए पनि अरूले त लिन आउनुपर्ने नि ?” स्वाभाविक जिज्ञासा राखेँ ।
“त्यो पैसाबारे सायद कमान्डरले कसैलाई भनेन होला, भन्न भ्याएन होला या कसैलाई सुइँको नदिई आफैँले पचाउन खोजेको पनि होला ।”
माओवादीले समाजवाद र साम्यवादको नारा लगाएर गरेको ‘जनयुद्ध’ जनताको लागि होइन आ–आफ्नै लागि पो रहेछ !
“सबैले त्यस्तो गरेनन्, तर केही त्यस्तै देखियो” भन्दै उनले आफ्नै एक आफन्त महिला लडाकुको बारे बताए ।
मावि तहमा पढिरहेकी त्यस महिला परिवारले रोक्दारोक्दै भागेर ‘जनयुद्ध’ मा होमिइन् । केही वर्ष लडाकु भएर समाजवाद र साम्यवाद ल्याउन लागिन् पनि । विभिन्न बैङ्क, जमिनदारको सम्पत्ति कब्जामा लाग्दै गइन् । तर, एक दिन तिनी भागेर आइन् । माओवादीहरू तिनलाई खोज्न घरमा, मावली, नातेदारकहाँ पनि पुगे । तर, कतै भेटिइनन् । केही वर्षपछि एक भगुवा माओवादीसँग विवाह गरेको, इम्पोर्टेेड सामग्रीको ठुलो पसल खोलेर सम्पन्न जीवन बिताइरहेको खबर घरका मान्छेले पायो । गाइँगुइँ के चल्यो भने तिनले एक्लै वा प्रेमीसँग मिलेर कब्जा गरेको सम्पत्ति लिएर भागेकी रहिछिन् । ‘जनयुद्ध’ तिनलाई पनि फलिफाप भयो !!
तर, कतिपय लडाकुहरू डुकुभातको लागि भौतारिरहेको, मलेसिया, दक्षिण कोरिया, कतार, साउदी अरबलगायत देशमा सस्तो ज्यामी बनेर रगत पसिना चुहाइरहेका छन्, मरिरहेका छन्, रुसी सेनामा भर्ती भएर युक्रेनसँग लडिरहेको धरातलीय यथार्थ हो । केही वर्ष पहिले त विभिन्न ठाउँमा लुटपाटका घटनामा पक्राउ परेकामध्ये कतिपय ‘पूर्वमाओवादी’ भन्ने समाचार आउने गरेको हामी सबैले पढेकै हो ।
तिनीहरूलाई भने ‘जनयुद्ध’ फलिफाप भएको देखिएन ।
Leave a Reply