भर्खरै :

किसानको आक्रोश

किसानको आक्रोश

लघु कथा

धत् ! यस्तो पनि किसान मजदुरको सरकार हुन्छ ? भन्ने बेलामा किसान र मजदुरको दुःखपीडा बुझेको पार्टी र सरकार रे ! ओहो, गर्मी पनि कति बढेको भन्दै टोपी फुकालेर पसिना पुछ्दै तरकारी खेती गर्दै आएका किसान साहिँला चौतारीतिर आराम गर्न गए । चौतारीमा बसेर गफिँदै गरेका अर्का गाई भैँसी पाल्ने किसान काहिँलाले जिज्ञासा राख्दै सोधे, “किन हो साहिँदा, भुटभुटाउँदै आउनुभएछ ?” तातोपानी भन्सारमा छिमेकी मित्र देश चीनले लाखौँ बोरा पठाएको मल किसानलाई समयमा वितरण नगरी थुपारेर राखेकोमा आक्रोश पोख्दै साहिँलाले काहिँलालाई भने, “यिनीहरू साँच्चैको किसानको सरकार भएको भए त मल कुहाएर राख्छ ? खेतीपातीको समयमा जहिले पनि मलको हाहाकार छ । किसानको आँसु पुछ्ने सरकार तथा पार्टीले कहीँ खेत बाँझो राख्छ ? काम गर्ने हाम्रा लाखौँ युवालाई विदेशीको ज्यामी बन्न पठाउँछ ? सिँचाइको राम्रो बन्दोबस्त नगरी बस्न सक्छ काहिँला ? प्रजातन्त्र, बहुदल र गणतन्त्र आएको यतिका वर्ष भइसकेका छन् ।”
हो साहिँला, यिनीहरूले दक्षिणको दानापानी खाएर, उनीहरूको कुरा सुनेर त्यसो गरेको हुनुपर्छ । त्यस्ता कृषिमन्त्री, कर्मचारी, नेताल जोसुकै होऊन् यिनीहरूलाई त फाँसी दिनुपर्छ । होइन भने कमसेकम जेलमा जाक्नुपर्छ । दक्षिणको साँढेलाई खुलमखुला आउन दिएपछि हाम्रो बाली सिध्याइदिँदैन ? विदेशी साँढेहरूलाई आउन दिएपछि हाम्रो खेतीपाती, अन्न आदि कहाँ बाँकी राख्छ र ? न त तपाईँहरूले पसिनाको उचित मूल्य पाउनुभएको छ न त हामीले दूधको उचित मोल र पैसा नै पाएका छौँ । देशमा भएको कलकारखाना तथा उद्योगहरू कौडीको मोलमा विदेशीलाई बेचिदिँदा हाम्रा न मजदुरले काम पाएका छन् । मन नपरी घरखेत बेचाएर, बन्धक राखेर हाम्रा युवाहरूलाई विदेशीको ज्यामी बन्न जान बाध्य पारेका छन् यिनीहरूले, होइन त साहिँला ?
साहिँला र काहिँलाको आक्रोश र असन्तोष कुरा सुनेका कुखुरापालक किसान कान्छाले दुवैको विचारलाई समर्थन गर्दै भने, “यिनीहरू साँच्चिकै किसान र मजदुरको सरकार या पार्टी भएको भए हामी कृषिप्रधान देशका किसानहरूको यस्तो दुर्दशा हुने थिएन । देशको अवस्था यस्तो बेहाल हुने थिएन । उनीहरूले आफ्नो बलबुट्टाले एउटा मल कारखाना त खोल्ने आँट गर्न सकेनन् । हाम्रो व्यवसाय अलि फस्टायो कि यहाँका विदेशी दलालहरूले बर्ड फ्लु आयो भनेर हल्ला फैलाइदिन्छन् । यसले हाम्रा कैयौँ किसानहरूको घरखेत उडाइदिएका छन्† रोजगारी सिध्याइदिएका छन् । अबको चुनावमा देशभरका किसान मजदुर मिलेर यिनीहरूलाई ठेगान लगाउनुपर्छ ।” साँच्चिकै काम र परिणामले किसान र मजदुरको आँसु पुछ्ने पार्टी तथा नेतालाई जिताएर पठाउन कम्मर कस्नुपर्दछ है भन्दै तिनै जना आ–आफ्नो घरतिर गए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *