यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
डोरी मक्किन थालेपछि
कस्सिएर मजबुद रहनुपर्ने डोरीको सिद्धान्त खस्किन थालेपछि
जनताको ढुकुटीमाथि रजाइँ गर्न पल्केका चोरहरूलाई
बाँधेको बहानामात्र बनाई
तिनीहरूलाई भगाउने षड्यन्त्रमा मात्र हुन्छ
उसको प्रयोग,
डोरीप्रतिको जनविश्वास नामेट पार्न
सद्दे, असली डोरीहरूको बिचमा घुसपैठ गराई
जुँगामा ताउ लाउने अवसरवादीहरूले मात्र राख्छ
उसको बारे चासो ।
त्यस्ता मक्किएका डोरीहरू
कामदार किसानहरूको समृद्धिको आधार बनेको खेतमा
छेकबार लाउन पनि काम लाग्दैन,
न उपयोग हुन्छ
पुर्खाको नासो ऐतिहासिक इनारमा पानी तान्न नै ।
जिम्मेवारीले भरिएको डोको बोक्दा
नाम्लोको डोरी मक्किएको पर्यो भने
होनहार अगुवाहरू निराशाको शिकार बन्छन्,
निर्माण हेतु खट बाँध्दाखेरि
मक्किएका डोरीहरू चुँडिए भने
विकास र सम्पदाका अधिकारीहरू नै खतरामा पर्छन् ।
अतिक्रमणकारी बाढी तरेर
सार्वभौम बन्ने आशामा उनको भरमा परेकालाई नै खसाली
धोका दिन्छ उसले, मझ्धारमा,
फुर्सदमा स्वतन्त्र भई पिङमा मच्चिँदै गर्दाको
आनन्दमय वातावरणलाई
पछारी दिन्छ बज्रिने गरी भुइँमा ।
डोरी सम्मेलन र प्रदर्शनीमा भाग लिन पाएर के गर्नु ?
डोरीको वास्तविक भूमिका निभाउने आँट छैन,
न खेलौना, न ज्यावल, न हतियार, कुनै रूपमा
जनताको मन जित्ने छाँट पनि छैन ।
त्यस्ता म्याद सकिएका डोरीका
स्वार्थका छेउहरू एक आपसमा बेरेर
भागबन्डाको सर्तमा गाँठो पारेर
जत्तिसुकै लामो गठबन्धन बनाउँदै गए पनि
जत्तिसुकै फराकिलो मोर्चा फैलाए पनि
तिनीहरूको ध्येय धुजाधुजा हुनु नै छ,
काण्डैकाण्डसँगै पाखण्डका सम्बन्धहरू टुट्नु नै छ,
किनभने,
मक्किसकेका डोरीहरू र तिनका गठबन्धनहरू चुँडिनैपर्ने
विज्ञानले कोरेको विधान हो,
जनसेवाको आदर्शबाट कस्सिएको डोरीलाई जिम्मेवारी सुम्पनु नै
सभ्यताले अनुमोदन गरेको संस्कृति हो,
जनसंस्कृति हो, हो यही जनसंस्कृति हो ।।
Leave a Reply