भर्खरै :

“भाजुपुखू र जलेश्वर मन्दिरले पुनर्जीवन पाएको छ”

  • फाल्गुन २८, २०८०
  • वसन्त भट्टराई, प्रमुख प्रशासकीय अधिकृत, भनपा
  • विचार विशेष
“भाजुपुखू र जलेश्वर मन्दिरले पुनर्जीवन पाएको छ”

भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र, जीवित सङ्ग्रहालय तथा सांस्कृतिक नगर निर्माण गर्ने नीतिअनुरूप कला संस्कृतिको जगेर्ना तथा सम्पदाको पुनर्निर्माणका कार्यहरू भइरहेको व्यहोरा यहाँहरूलाई अवगत नै छ । २०५८ सालदेखि सोच बनाई थालनी भएको यस भाजु पुखू र जलेश्वर मन्दिर पुनर्निर्माण कार्यले आज यस क्षेत्रलाई पुनर्जीवन प्रदान गरेको छ । भौतिक संरचनाले पुनर्जीवन प्राप्त गरेसँगै यसको इतिहास, महत्व, अवस्था र पुननिर्माणको सन्दर्भमा भएका प्रयासहरूको बारेमा आम नागरिकहरूलाई सार्वजनिक गरिएको ‘भाजु पुखू तथा जलेश्वर मन्दिर पुनर्निर्माण’ नामक पुस्तकबाट ज्ञान हासिल गर्ने सुअवसर प्राप्त भएको छ ।
सभ्यता विकास र जीवन निर्वाहको प्रमुख आधार पानी हो । काठमाडौँ उपत्यकाको इतिहास अध्ययन गर्दा पानीको संरक्षणको लागि यसको स्रोतको आधारका रूपमा रहेका पोखरी, इनार, कुवा, ढुङ्गेधारा निर्माण गर्ने संस्कारको विकास भएको पाइन्छ । यसका अलावा उपत्यका अझै विशेषगरी भक्तपुरका पोखरीहरूमा विभिन्न धार्मिक, सांस्कृतिक मान्यता र विश्वाससमेत जोडिएका छन् । जस्तैः– तलेजु मन्दिरभित्र रहेको दुमाजु पोखरीमा रुञ्चे लागेका बच्चाबच्चीलाई आइतबार वा बिहीबारका दिन मुख धुवाएमा रुञ्चे निको हुन्छ मान्यता रहेको छ भने पोखरीको डिलमा रहेका नेवार समुदायका इष्ट देवताप्रतिको आस्था होस् वा नित्यकर्मका लागि पोखरीको पानीको प्रयोग होस् । यी पोखरीहरू हाम्रो जीवनपद्धतिसँग जोडिएका छन् ।
यस नगरका अन्य पोखरीहरूजस्तै यस पोखरीको पुनर्निर्माणका माध्यमबाट पनि भक्तपुरको शोभा र महत्व बढ्दै जानेछ भने पर्यटकीय गतिविधिमार्फत यस क्षेत्रमा नागरिकहरूको आर्थिक गतिविधिमा बढोत्तरी हुने अपेक्षा गरिएको छ । प्राकृतिकरूपमा जल पुनर्भरण गर्न सहयोगी हुनेछ भने जलेश्वर मन्दिरले धार्मिक गतिविधि र धार्मिक पर्यटनमा टेवा पु¥याउनेछ ।
अब उप्रान्त यस पोखरीको सौन्दर्य प्रवद्र्धनका लागि सरसफाइ, फूलबारी र बिरुवा संरक्षण, संवद्र्धन तथा पर्यटकीय गतिविधि सञ्चालन र विकासका लागि आम जनसमुदाय, स्थानीयवासी नागरिक, जनप्रतिनिधिलगायतलाई सक्रिय सहभागिताका लागि आग्रह गर्दछु । जनहितको साझा उद्देश्य बोकेको यस जिल्लाकै पुरानो क्याम्पस भक्तपुर क्याम्पसबाट पनि यस पोखरी र मन्दिरको संरक्षण र प्रवद्र्धनका लागि सबै प्रकारको सहयोगको अपेक्षा गर्दछु ।
लोप नै हुन लागेको यस पोखरीलाई हालको अवस्थामा ल्याउन सहयोग पु¥याउनुहुने अध्ययन समितिका संयोजक पुरुषोत्तमलोचन श्रेष्ठलगायत सदस्यहरू, उपभोक्ता समितिका संयोजकहरू लक्ष्मीनारायण राजलवट, कृष्णप्रसाद दुमरु, केशव कोजु, जीवन दुवाललगायत जनप्रतिनिधिहरू, समाजसेवी, स्थानीयवासी, सम्पूर्णलाई हार्दिक आभार प्रकट गर्दछु ।
आजको यस भव्य कार्यक्रममा आफ्नो अमूल्य समय र मार्गदर्शन प्रदान गर्नुहुने यस समारोहका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) प्रति हार्दिक आभार प्रकट गर्दछु । हामीलाई निरन्तर मार्गनिर्देश गर्नुहुने प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईलाई हार्दिक धन्यवाद प्रदान गर्दछु । हाम्रो निमन्त्रणलाई सहस्र स्वीकार गरी आफ्नो व्यस्त समयका बाबजुद कार्यक्रममा उपस्थित भई शोभा बढाउनुभएका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठ, पूर्वन्यायाधीश गौरीबहादुर कार्की, भक्तपुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख, विभिन्न कार्यालयका कार्यालय प्रमुखलगायत सम्पूर्ण अतिथिहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । आज यस कार्यक्रमका सम्मानित हुने सम्पूर्ण महानुभावहरूलाई हार्दिक बधाई प्रदान गर्दछु । आजको यस समारोहलाई यस क्षणमा ल्याई पु¥याउन खटिने जनप्रतिनिधि, कर्मचारी नागरिक सेवालाई मूलमन्त्र मान्ने आदरणीय नगर प्रमुख तथा उपप्रमुख, नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरू, शाखा प्रमुख कर्मचारी साथीहरूलगायतका महानुभावहरूलाई हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्दछु ।
(२०८० फागुन २५ गते सम्पन्न भक्तपुरको भाजु पुखू र जलेश्वर मन्दिर उद्घाटन कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईद्वारा व्यक्त मन्तव्य)

default

Leave a Reply

Your email address will not be published. Required fields are marked *