भर्खरै :

पुँजीवादी व्यवस्था र शासक दलहरूविरुद्ध सङ्घर्षको विकल्प छैन

पुँजीवादी व्यवस्था र शासक दलहरूविरुद्ध सङ्घर्षको विकल्प छैन

कञ्चनपुर, १ चैत । ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा कञ्चनपुरको बेलौरी नगरपालिका वैशाखीमा बिहीबार महिला भेला भयो ।
उक्त भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसबारे चर्चा गर्दै पुँजीवादी शोषणविरूद्ध श्रमिक महिलाहरूले गरेको आन्दोलन र त्यसको उपलब्धिले सम्पूर्ण कामदारवर्गका महिलालाई आफ्नो अधिकारको लागि लड्न शिक्षा प्रदान गरेको बताउनुभयो ।
हक, अधिकार प्राप्त गर्न शोषणबाट मुक्ति पाउन पुँजीवादी व्यवस्था र शासक दलहरूविरूद्ध सङ्घर्षको विकल्प छैन, उहाँले भन्नुभयो ।
आफ्ना बालबालिकालाई राम्रो संस्कारमा हुर्काउन पनि महिलाहरू राजनीतिकरूपमा सचेत र शिक्षित हुनुपर्नेमा केन्द्रीय सदस्य थापामगरले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “शिक्षा, स्वास्थ्य निःशुल्क, स्वदेशमै रोजगारी, साना बालबालिकाका लागि शिशु स्याहार केन्द्र र बाल उद्यानका साथै नगरपालिकाको आफ्नै स्कूल र अस्पताल भए देशको विकासमा टेवा पुग्नेछ ।”
शासक पार्टीहरू देशको निम्ति क्यान्सरजस्तै हुन्; नेमकिपा देश र जनताका सेवा गर्ने पार्टी हो । देश र जनतालाई क्यान्सररूपी शासक दलहरूबाट जोगाउन नेमकिपा सङ्घर्षरत छ, केन्द्रीय सदस्य थापामगरले भन्नुभयो ।
उहाँले भन्नुभयो, “महिलाहरूले देशघाती एमसीसी, एसपीपी, नागरिकता विधेयकजस्ता सन्धि–सम्झौताको विरोध गरे देश जोगाउन सकिन्छ ।”
नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले जनताको हितका लागि कुन पार्टीले बोल्यो† जनतालाई दिएका वाचाहरू कुन पार्टीले पूरा ग¥यो ?, तुलनात्मक अध्ययन गर्नुपर्छ भन्नुभयो ।
सरकार राम्रो भए जनावरसमेत सुरक्षित हुन्छ; हामीले पाउने सुख–दुःखमा सरकारकै हात हुन्छ, शिक्षा–स्वास्थ्यलगायत सबै क्षेत्र लथालिङ्ग हुनुमा सरकार गएका पार्टीहरू दोषी छन्, उहाँले भन्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरूङले शोषणको विरोधमा महिलाहरू उठेको र अधिकारको निम्ति सङ्घर्ष गरेको दिन मार्च ८ भएको बताउनुभयो ।
नयाँ पुस्तालाई शोषणको विरोधमा लड्न सिकाउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले अन्याय, अत्याचारको विरोध नगर्नेहरू कम्युनिस्ट नहुने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “कृषि उत्पादन बढाएर जीविकोपार्जन सजिलो बनाउन विषादीको प्रयोग नगरी प्राङ्गारिक मल प्रयोग गर्नुपर्छ । कतिपय तरकारी तथा बालीको जरा पातले नै कीटनाशक औषधिको काम गरिरहेको हुन्छ । त्यसबारे जानकारी हुनु आवश्यक छ ।”
स्वास्थ्यकर्मी रविना सुवालले महिलाहरूमा देखिने स्तन र पाठेघरको मुखको क्यान्सरबारे सचेत भई समय–समयमा स्वास्थ्य परीक्षण गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “शरीरको कोठीको आकारप्रकार र रङ परिवर्तन भए स्वास्थ्य चौकी गएर जाँच गराउनुपर्छ ।”
कार्यक्रममा नेमकिपा कैलालीका रमेश रावल र रत्ना शाहीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *