यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, १ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ऐन कानुन व्यवहारिक तथा कार्यान्वयन गर्न सहज हुने ढङ्गले निर्माण गरिनुपर्ने बताउँदै जनताको पक्षमा लेखिएको कानुनले व्यापक जनताको हित गर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ‘ख्वप कलेज अफ ल’ बी.ए.एल.एल.बी.मा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत तथा दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले कानुनविनाको समाज अराजक हुने हुँदा समाजलाई नियमसङ्गत ढङ्गले अगाडि बढाउन ऐनकानुनहरूले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
सङ्घीय सांसदहरूले देशलाई आवश्यक कानुन तथा विधि निर्माण गर्ने जिम्मा पाएको उल्लखे गर्दै उहाँले पुराना कानुनलाई समयसापेक्ष ढङ्गले परिमार्जन गर्नु आजको आवश्यकता रहेको बताउनुभयो ।
कानुनको अज्ञानताले स–साना कुराले ठुलो दुर्घटना निम्त्याउनेतर्फ सजग बनाउँदै प्रमुख प्रजापतिले देशघाती सन्धि सम्झौताविरुद्ध लड्न र देशको सार्वभौमिकताको पक्षमा लड्न कानुनी लडाइँ अपरिहार्य हुने बताउनुभयो ।
ख्वप कलेज अफ लका प्राचार्य अनिता जधारीले कलेजले विद्यार्थीहरूलाई विश्वविद्यालय शिक्षासँगै व्यवहारिक ज्ञान पनि प्रदान गर्दै आएको बताउँदै राज्यलाई बलियो बनाउन कानुनी शिक्षाको विशेष महत्व भएको बताउनुभयो ।
कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालय विषय समिति कानुनका अध्यक्ष रुद्र शर्माले पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत हाल १२५ भन्दा बढी कलेजहरू आबद्ध रहेको बताउँदै ख्वप कलेज अफ लले गरिब विद्यार्थीलाई न्यून शुल्कमा कानुनी शिक्षा प्रदान गर्ने उद्देश्यअनुरुप पठनपाठन गराइरहेको बताउनुभयो ।
कानुन अध्ययन अध्यापन व्यवहारिक र देश तथा समाजको आवश्यकतासँग जोडिनुपर्ने बताउँदै उहाँले संसद्ले बनाएका कानुन निष्पक्ष छ वा छैन भन्ने विषयमा अध्ययन अनुसन्धान हुनु जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठ, ख्वप माविका प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्यले पनि कलेजको शैक्षिक विशेषतामाथि आ–आफ्नो धारणा राख्नुभएको थियो भने शिक्षक शिखा डंगोल र विद्यार्थी प्रतिनिधि एलिसा कुँवरले पनि बोल्नुभएको थियो ।
Leave a Reply