भर्खरै :

शासक दलहरूकै कारण उद्योगी र व्यापारीहरूबाट देशलाई आर्थिक सङ्कटको पूर्वाभ्यास

‘अविश्वासको खम्बामा निर्मित विश्वासको महल’ शीर्षकमा ‘राजधानी दैनिक’ ले प्रचण्ड अर्थात् वर्तमान प्रधानमन्त्रीले १५ महिनाको अवधिमा तीनपटक विश्वासको मत लिए, पहिलोपटक २६८ मत, दोस्रोपटकको १७२ मत थियो भने अहिले तेस्रोपटकको विश्वासको मत १५७ मात्र थियो । (राजधानी, २ चैत, २०८०)
राष्ट्रपतिको प्रत्यक्ष निर्वाचन र संसद्को निर्वाचनमा हुने मतदानमा एकै मतले पनि बढी भएमा बहुमत वा विजयी घोषणा गर्ने प्रचलन चालु छ– चाहे त्यो निर्वाचन आयोगले गरेको निर्वाचनमा लागु गरेको आचारसंहिताको उल्लङ्घन होस् वा निर्वाचन ऐन–कानुनको विरोधमा पैसा, सामान बाँडेर वा भोजभतेरमार्फत मत दिन लाचार गरेको होस् वा मन्त्री पदको लोभलालच वा अन्य विकास निर्माण एवम् ठेक्कापट्टा वा कुनै सरकारी पदको आश्वासन दिएर होस् ।
निरङ्कुश राजतन्त्र वा संरा अमेरिकाको जस्तो बलको आधारमा आफ्नै देश र विदेशका धेरै देशमा आफ्नो प्रभावको बलमा होस्, अमेरिकी केन्द्रीय गुप्तचर विभाग (सीआईए) को जालसाजी र अपराधी उपाय प्रयोग गरेर होस् वा प्रजातन्त्रको नाममा झ्याली पिटेर होस्, हारजीतको घोषणा गर्दै आएको होस् ।
तर, सच्चाइ के हो भने देशको वर्तमान समस्याको समाधान जसरी झारफुक र धामीझाक्रीहरूले देखिएका रोगहरूको उपचार हुँदैनन् । त्यस्तै, सिद्धान्तहीन राजनीति र उद्देश्यहीन विकासको नाटकले पुँजीवादी गाडी चढेर समाजवादी समाजको निर्माणमा सफलता प्राप्त हुँदैन । जनतालाई शासक दलहरूले दिएको प्रजातन्त्र र गणतन्त्र पनि जनताले अनुभव गर्ने छैनन् । धोका दिनु र झूटा आश्वासनबाट जनतालाई रणभुल्लमा पार्ने काम एक सानो सीमासम्म मात्रै सम्भव छ ।
यसकारण, अमूर्त राजनीतिको खिचडी पकाएर आधुनिक रात्रिभोजको नक्कल गर्नु ‘राजाको नयाँ लुगा’ मात्रै साबित हुनेछ शासक दलका नेताहरू ¤ शासक दलहरूको अराजनैतिक गतिविधि, सिद्धान्तहीन काम कारबाहीकै कारण उद्योग–व्यापारीहरूको आर्थिक सङ्कट चर्कँदै छ ।
पुँजीवादी व्यवस्थाको ऐन ठगीको एक उदाहरण
‘राजस्व छल्न सफल प्लाई उद्योगको बीमा कम्पनी डुबाउने दाउ’, ‘पक्का जोगाएर कच्चा पदार्थमा आगलागी’ र ‘भगवती लेमिनेट्सको आगलागी शङ्कास्पद’ शीर्षकले पुँजीवादी व्यवस्थामा कसरी पुँजीपतिवर्गले देश र जनतालाई धोखा दिएर करोडपति र अरबपति बन्छन् भन्ने एक अपराधको उदाहरण हो । (राजधानी, २ चैत, २०८०)
“२५ करोड राजस्व हिनामिना हुँदा पनि मिलेमतो र सेटिङमा ३२ लाखमात्र तिरेर राजस्व छल्न सफल भएको भगवती लेमिनेट्समा गत सोमबार भएको आगलागीलाई पनि शङ्कास्पद तवरले हेरिएको छ ।”
झापा मेचीनगरस्थित ज्यामिरगढीमा रहेको प्लाई उद्योग भगवती लेमिनेट्सले बीमा रकम हत्याउनका लागि योजनाबद्ध तवरमा आगो लगाएको शङ्का गरिएको छ । तयारी सामानहरू सुरक्षित ठाउँमा राखेर आगलागी गराइएको र आठवटा दमकललाई पनि आगो नियन्त्रणमा लिन हम्मेहम्मे पारेर अन्य कच्चा पदार्थ र संरचना ध्वस्त पारेको आरोप लागेको छ । कच्चा पदार्थका रूपमा रहेका केही काठसहित संरचना जलेको र भगवती लेमिनेट्सको प्लाई उद्योगका मुख्य संरचनाहरू जलेर काम नलाग्ने भएको प्रहरीले उल्लेख गरेको छ । सो भगवती लेमिनेट्समा हुने गरेको कच्चा र पक्का बिलको कारोबार र राजस्व विभागको छानबिनलाई समेत छलेर करोडौँ हिनामिना गरेको अवस्थामा थप अनुसन्धान नहोस् भनेर छल्ने र बीमाबापत करोडौँ आउने भएपछि खाली गोदाममा केही काठ राखेर आगलागी गराइएको स्रोतको दाबी छ ।
‘चामलको ठाउँमा भुस हालेर बैङ्कको गोदाममा आगो लगाई चामलको पैसा लिने’ र भएको पत्रु सामानमा आगो लगाई बीमा पैसा लिने र राजस्व छल्दै भन्सार छल्दै व्यापार गरी देश डुबाउने उद्योगपति र व्यापारीहरूकै बेइमानीले देशको अर्थतन्त्र धुजाधुजा परेको छ । तातोपानी भन्सारमा १०–११ महिनादेखि गोदाममा मल त्यसै राखी नेपाली सामान तिब्बत पठाउने ठाउँ नदिने र चिनियाँ सामान नेपाल ल्याई राख्ने ठाउँ नदिने जालसाजीलाई नेपाली र नेपाली जनताविरोधी देशद्रोही र जनद्रोहीको मुद्दा लगाएर त्यस्ता उद्योगी र व्यापारीहरूलाई काठमाडौँको टुँडिखेलमा ल्याएर जनतालाई चिनाउनुपर्ने देखिन्छ भनी व्यापक चर्चा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *