भर्खरै :

खेलकुदमा गरिएको लगानीलाई उपलब्धिमूलक बनाउनुपर्नेमा जोड

खेलकुदमा गरिएको लगानीलाई उपलब्धिमूलक बनाउनुपर्नेमा जोड

भक्तपुर, १ भदौ । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरभित्रका संस्थागत तथा सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरूलाई भदौ १ गतेदेखि ५ गतेसम्म खोखो खेलसम्बन्धी आधारभूत प्रशिक्षक प्रशिक्षण तालिम सुरु भयो । भक्तपुरमा खोखो खेललाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको प्रशिक्षणको शुभारम्भ नगर प्रमुख सुनिल प्रजापतिले गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले प्रशिक्षक राम्रो भएमा राम्रा खेलाडी उत्पादन गर्न सकिने बताउँदै विद्यार्थीलाई मेहनती, अनुशासित र योग्य नागरिक बनाउन खेलकुदलाई प्राथमिकता दिइएको उल्लेख गर्दै खेलकुदमा गरिएको लगानीलाई उपलब्धिमूलक बनाउनुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाका खेलकुद समिति संयोजक श्यामकृष्ण खत्रीले प्रशिक्षणमा सहभागी शिक्षकलाई खोखो खेलका आधारभूत सीप सिकाउनुका साथै आगामी दिनमा प्रशिक्षक तथा रेफ्रीको भूमिका निर्वाह गर्न सक्ने गरी प्रशिक्षण दिइने बताउनुभयो । भक्तपुरलाई खेलकुदको हबका रूपमा विकास गर्ने उद्देश्यले खेलकुदलाई प्राथमिकता दिइएको बताउँदै उहाँले नगरपालिकाले हरेक वर्ष विद्यालयस्तरमा करिब १५ वटा खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको र त्यसबाट स्तरीय खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।
नेपाल खोखो सङ्घका अध्यक्ष प्रदीप महर्जनले भक्तपुर नगरपालिकाले खोखो खेललाई प्राथमिकता दिँदै नियमित रूपमा अन्तरविद्यालय खोखो प्रतियोगिता आयोजना गर्दै आएकोमा खुसी व्यक्त गर्नुभयो ।
भक्तपुर प्राविधिक रूपमा खोखो प्रशिक्षण सञ्चालन गर्न सक्षम भइसकेको उल्लेख गर्दै उहाँले अन्तरनगरपालिका खोखो प्रतियोगिता आयोजना गर्ने पहिलो नगरपालिका भक्तपुर बनेको बताउनुभयो । उहाँले यस प्रशिक्षणबाट आगामी दिनमा हुने प्रतियोगितामा भक्तपुरको प्रदर्शन अझ प्रभावशाली बन्ने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले पाँचदिने प्रशिक्षणमा सहभागी शिक्षकहरूको पूर्ण उपस्थिति र सक्रिय सहभागिता रहने विश्वास व्यक्त गर्नुभयो । खोखो खेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल भएको उल्लेख गर्दै उहाँले सक्रिय नागरिक निर्माणका लागि खेलकुद महत्वपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य रञ्जना त्वातीले प्रशिक्षणको उद्देश्यबारे प्रकाश पार्दै नयाँ पुस्तालाई खेलकुदसँगै नैतिकता, अनुशासन र मेहनतको महत्वबारे जानकारी गराउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले धन्यवाद ज्ञापन गर्दै आफूले सिकेको खेललाई विद्यालयमा विद्यार्थीहरूलाई पनि सिकाएर खोखो पोख्त बनाउन सहयोगी भूमिका खेल्न आग्रह गर्नुभयो ।
कार्यक्रमको अवसरमा नगर प्रमुख प्रजापतिले खेल सामग्री हस्तान्तरण गर्नुका साथै सहभागी शिक्षकहरूलाई ट्रयाकसुटसमेत वितरण गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *