कोरियाली मजदुर पार्टी केन्द्रीय समितिको विस्तारित बैठक सम्पन्न
- मंसिर २५, २०८२

सहकारी अभियान आज हाम्रो दैनिक जीवनको अभिन्न अङ्ग हुँदै छ । हाम्रो प्रत्येक चोक र गल्लीमा कुनै न कुनै सहकारी संस्था भेटिन्छ । एकको लागि सबै र सबैको लागि एकको आदर्श बोकेको सहकारी अभियानमा संलग्न नभएका हामी सायदै हौँला । तर, सहकारीको मूल मर्म र आदर्शको भावनालाई आत्मसात गरी कति सहकारी संस्थाहरू कार्यरत छन् भन्ने प्रश्न तड्कारोरूपमा उठिरहेको छ । सरल भाषामा भन्दा सामुदायिक स्वार्थको लागि कार्य गर्नुपर्ने सहकारी संस्थाका अगुवाहरू अथवा सञ्चालकहरू नै निजी स्वार्थमा लिप्त भएर सामूहिक सम्पत्तिलाई निजी स्वार्थमा उपयोग गर्दै सहकारीको नाममा चोक, गल्लीमा सामान्य बचतकर्ताहरूलाई त्राहिमाम पार्दै छन् । अस्वाभाविक बढी ब्याजको पासो थपी सर्वसाधारणको घर खेत, भविष्यका सपनाहरू चकनाचुर पार्ने आपराधिक कार्यसमेत हुँदै आएको देख्दा यसलाई सहकारी आतङ्कभन्दा अन्यथा नहोला । यस्तो प्रवृत्ति किन र कसरी भयो भन्ने कारणलाई खोतल्दा सहकारी ऐननियम र सरकार जिम्मेवार भएको भेटिन्छन् । तर, आज यो आलेखको उद्देश्य सामूहिक स्वार्थमा समर्पित हुनुपर्ने सहकारीहरू कसरी व्यक्तिगत शुभलाभका लागि काम गर्दै छन् भन्ने कारण खोतल्नुभन्दा व्यक्ति र व्यक्तिवादभन्दा कसरी सामूहिकतावादले सबैको हित गर्छ भन्ने दार्शनिक पक्षलाई चर्चा गर्नु हो ।
आदिम समाजमा सामूहिकता
वैज्ञानिक समाजवादका प्रवर्तक कार्ल माक्र्स र एङ्गेल्सले मानव समाजको विकासको एउटा चरणलाई आदिम साम्यवाद (Primitive Communism) नामकरण गरेका छन् । मानव सभ्यता सुरु हुनुभन्दा धेरै समयअघि मानव समाजको एउटा अवस्था थियो, जुनबेला कुनै व्यक्तिको आफ्नै व्यक्तिगत सम्पत्तिको व्यवस्था भएको थिएन । मानिसहरू सँगै बस्थे, खानाको लागि सबै मिलेर सिकार गर्थे र बाँडीचुँडी खान्थे । त्यतिबेला परिवारको पनि विकास भएको थिएन । केटाकेटीका बुबा को हुन् छुटिँदैनथे । सङ्कट पर्दा सबै मिलेर सामना गर्थे तर जीवन सहज थिएन । धनी, गरिब र उँचनीचको भेद नभएकोले समाज सामान्य थियो । कुनै जटिलता थिएन । सबैको सामाजिक तह बराबर थियो र वर्ग विभेद पनि थिएन । प्रविधिको कुनै विकास नभएको यस अवस्थामा मानिसको मुख्य शक्ति भनेकै उसको शारीरिक परिश्रम थियो । व्यक्तिभन्दा सामूहिकताको भावना प्रबल थियो । त्यसैले, यस चरणको समाजलाई माक्र्सले आदिम साम्यवादको दर्जा दिएका थिए । तर, मानव समाज विकासको क्रम अगाडि बढ्दै जाँदा समाजको आकार पनि ठुलो हुँदै गयो र सोहीअनुसार जटिलता पनि बढ्दै गयो । कृषि कर्म हुँदै मानव समाज सभ्यताको युगमा प्रवेश गरेपछि विस्तारै समाजमा जटिलता थपिँदै गयो । (आदिम साम्यवादसम्बन्धी थप जानकारीको लागि साहित्यकार हरिबहादुर श्रेष्ठद्वारा लिखित ‘समाज विकासको एक झलक अध्ययन गर्नुहोला ।)
जटिल समाजको बारेमा चिन्तन
दासयुग, सामन्तवादी युग हुँदै पुँजीवादी चरणमा समाज पदार्पण हुँदा समाजमा झन्झन् जटिलता थपिँदै गयो । मानव समाज सभ्यताको युगमा प्रवेश गर्दै जाँदा बिस्तारै जटिलता थपिँदै गयो । मानव–मानवबिच धेरै कुरामा विभेद देखिँदै गयो । धनी र गरिब, उच्च जात र तल्लो जात, महिला र पुरुष, दास र दास मालिक, जमिनदार र भूदास गर्दै मानव समाज वर्गमा विभाजित हुनथाल्यो । यी वर्गबिच कलह र द्वन्द्व पनि थपिँदै गयो । समाजमा जटिलता थपिँदै गएअनुसार मानिस–मानिसबिच असमानता, थिचोमिचो, शोषण रअन्याय पनि थपिँदै गयो ।
समाजका अधिकांश सामान्य मानिसलाई यी असमानता र शोषण सामान्य र सहज लाग्थ्यो । उनीहरू यसलाई प्राकृतिक नियम र प्राकृतिक वस्तुसँग तुलना गर्थे । मानव समाजमा देखिएका यी असमानताहरूलाई मानव सिर्जित ठान्दैनथे । तर, मानव समाजमा देखिने परिवर्तनलाई गहिरिएर नियाल्ने केही मानिसहरूले यसबारेमा मिहीनरूपमा चिन्तन गर्थे र असमानता र अन्यायको जरा पहिचान गरी समाधानको उपायको बारेमा सोच्थे । यसरी चिन्तनमनन गर्ने चिन्तकहरू नै दार्शनिक भए । मानव समाजको मात्र होइन प्राकृतिक घटना र परिघटनाबारे पनि यी दार्शनिकहरू चिन्तनमनन गर्थे । ईसापूर्व करिब ६०० देखि ५०० वर्षतिर युनान (ग्रीस) मा थालेज, अनाक्सागोरस, पाइथागोरसहरू देखापरे जसले पृथ्वीमा भएका पानी, माटो अनि आकाशको बारेमा चिन्तन सुरू गरे । त्यस्तै ईसापूर्व ४०० पछि समाजको बारेमा चिन्तन गर्ने सुकरात, प्लेटो, अरस्तुदेखि अरू धेरै दार्शनिकहरू युनानमा देखिए । यता दक्षिण एसियामा बुद्ध, महाविर वर्दमान, पूर्वी एसियामा कन्फ्युसियस र लाओत्सेहरू जन्मिए जसले समाजमा देखिएका असमानता र विभेदको बारेमा चिन्तनमनन गरे तथा त्यसका निराकरणको उपाय सोचे र सुझाए । यसरी मानव समाजमा देखिने नयाँ जटिलता र समास्याको बारेमा सोच्ने र चिन्तन गर्ने दार्शनिकहरू हरेक युगमा जन्मेको देखिन्छ ।
![]()
प्रवोधन (Enlightenment) को युग र परम्परागत मान्यतामा प्रश्न
१६ औँ र १७ औँ शताब्दीमा युरोपमा विकास भएको बौद्धिक चिन्तनको युग (Age of Enlightenment) ले हरेक घटनाको कारण हुन्छ र त्यसको प्रभाव पनि हुन्छ अथवा कार्य र प्रभाव (Cause and Effect) को सम्बन्ध हुन्छ भन्ने मान्यतालाई स्थापित गर्यो । वास्तवमा यही प्रवोधनको युगको कारणले युरोपमा विज्ञान र प्रविधिको विकासमा मलजल गर्यो । प्रवोधनको युग अनि यसले विज्ञान र प्रविधिको विकास गर्न गरेको सहयोगले हिजो समाजमा सदियौँदेखि व्याप्त परम्परागत मान्यताहरूमाथि ठूलो प्रश्न चिह्न उठायो । मानव जीवन र भौतिक संसारका विभिन्न पक्षहरूका बारेमा जानकारी लिन तत्पर हुने र हरेक विचार र कथनलाई आँखा चिम्लेर विश्वास गर्नेभन्दा किन र कसरी भनेर आलोचनात्मक दृष्टिकोणले वास्तविकतासम्म पुग्न सामान्य मानिस पनि सचेत हुन मानिसलाई सिकायो । यही युगको परिणामस्वरूप मानिसहरूले त्यतिबेला सोच्न थाले–हामी आफ्नो आँखाले देख्न नसक्ने अमूर्त र निराकार ईश्वरको कुरा र चिन्ता किन गर्छौँ ? बरू यही धरती, जीव र जगत अनि हाम्रै आफ्नै मानव शरीरको बारेमा बढी चिन्तन र मनन किन नगर्ने ? प्रवोधनको युगले सिकाएको यही नवीन विचारले युरोपमा वैज्ञानिक विचार फुल्न र फल्न उर्वरभूमि प्रदान गर्यो । यही युगले भोल्टायर, रूसो, मोन्टेस्क्यु, जेरमी बेन्थम, डेभिड ह्युम, आडम स्मिथ, इमान्युल कान्त र थोमस जेफरसनजस्ता दार्शनिक व्यक्तित्वहरूलाई जन्मायो । यी व्यक्तित्वहरूको विचार र चिन्तनले युरोप र पश्चिममा अर्को राजनैतिक उथलपुथलको बिजारोपणसमेत ग¥यो ।
प्राकृतिक मानिस आधुनिकतिर लम्किँदा
प्रवोधनको युगको कारण तत्कालीन समाजमा मानिसहरूको सोच र व्यवहारमा आएको परिवर्तन तथा अन्य भौतिक परिवर्तनलाई धेरै चिन्तकहरूले सकारात्मकरूपले लिए र यसले नै मानव समाजको कल्याण हुने दाबी ग¥यो । तर, केही चिन्तकहरूले यसलाई सूक्ष्म र आलोचनात्मक ढङ्गले सोच्ने गरे । यति नै बेला व्यक्तिको स्वतन्त्रता र व्यक्ति विशेषलाई केन्द्रमा राख्नुपर्छ भन्ने एउटा विचार देखापर्यो र अर्को विचारले समूह वा सामूहिकतालाई जोड दिँदा व्यक्ति विशेषले स्वतन्त्रता पाउने र उसको कल्याण हुने धारणा अगाडि बढ्यो ।
व्यक्तिलाई प्राथमिकतामा राख्नुपर्ने विचारका पक्षधरमध्ये एक थिए अग्रज दार्शनिक जोन लक (सन् १६३२–१७०४) । जोन लक बाँच्न पाउने अधिकार, स्वतन्त्रताको अधिकार तथा सम्पत्तिको अधिकारका पक्षधर थिए । जोन लक ठान्थे, ‘यी अधिकारहरूको रक्षा गरूञ्जेल मात्र कुनै सरकारको वैधानिकता रहन्छ । जब सरकारले जनताका यी अधिकारहरूको प्रत्याभूति गर्न सक्दैन, जनताले शान्तिपूर्वक वा हिंसात्मक उपायले उसलाई सत्ताच्युत गर्छन् । वास्तवमा जोन लकजस्ता चिन्तकको विचारले नै पछि उदारवादी विचारको उदय भयो । यसरी व्यक्तिगत स्वतन्त्रतालाई महत्व दिने क्रममा केही चिन्तकहरूले समाजलाई भिन्नै कोणबाट अध्ययन गरे ।
प्रवोधनको युगले समाजमा ल्याएको परिवर्तनलाई फरक दृष्टिकोणले हेर्ने एक चिन्तक थिए जाँ जाक रुसो (सन् १७१२–१७७८) । प्रवोधनको युगले समाजमा ल्याएको परिवर्तन एवं विज्ञान र कलाको पुनःस्थापनाका कारण मानिसहरूले त्यस समयप्रति ठुलो गर्व गर्दै गर्दा स्वीट्जरलैन्डको जेनेभामा जन्मेका रुसोको फरक दृष्टिकोण र व्याख्या आजको हाम्रो समाजको सन्दर्भसँग कता कता मेल खान आउँछ । रुसोको विचारमा आधुनिकतातिर लम्कँदै गरेको भनिएको त्यो समाज वास्तवमा कृत्रिमता र देखावातिर गइरहेको थियो । विज्ञान, कला र प्रविधिलाई जोड दिइरहेको त्यो समाजमा मानिसले आफ्नो प्राकृतिक गुण र मौलिक स्वभावलाई बिर्सदै गएको ज्ञान र विज्ञानको विकासको नाममा मानिसले आधारभूत मानवीय विशेषता गुमाएको र पढेलेखेका र बौद्धिक भनिएका मानिस खुसी दासजस्ता भएको रुसोको ठम्याइ थियो । रुसोका अनुसार आधारभूत मानवीय गुणहरू भनेका साहस, समानता, दया, देशभक्ति र धर्मप्रतिको आस्था थियो । प्राकृतिक स्वरूपमा रहेको मानिस आधुनिक भनिएको समाजको हिस्सा भएपछि मानिसको लागि वस्तुको उपभोग आवश्यकता नभएर देखाउने चिज हुन गयो, अरूभन्दा आफू कसरी फरक र समृद्धि हुने भन्नेमा तल्लीन हुनथाल्यो, मानिसमा लोभ र आकाङ्क्षा बढ्न थाल्यो, आफूसँग नभएको कुरा पनि भएको जस्तो देखाउन मानिसले नक्कलबाजी गर्न थालेको रुसोको मत थियो । मानवीय गुण र स्वभावमा आएको यस परिवर्तनले समाजमा विस्तारै असमानता बढ्न थालेको र प्राकृतिकरूपमा आफू बाँच्दै गरेको मानिस आधुनिक समाजमा आफू बाहिर र अरूका लागि बाँच्ने गरेको मानिसलाई रुसोले बुर्जुवा प्रवृत्ति भने ।
निजी होइन सार्वजनिक स्वार्थ
आधुनिक भनिएको समाजमा मानिसको प्राकृतिक स्वभावमा आएको परिवर्तन र यसले समाजमा ल्याएको असमानताको चर्चा गर्न रुसो मानिसको स्वतन्त्रताको पक्षमा पनि द¥हो उभिएको पाइन्छ । रुसोको चर्चित भनाइ हो – मानिस स्वतन्त्र जन्मन्छ तर जताततै साङलाले बाँधेको हुन्छ । यसको तात्पर्य हो, मानिस प्राकृतिकरूपमा स्वतन्त्र हुन्छ । तर, विभिन्न सामाजिक बन्दोबस्त जस्तैः वर्ग विभाजन, उत्तरदायित्व र शक्तिको असमान वितरणले मानिसको स्वतन्त्रता कुण्ठीत हुन्छ । मानिसको स्वतन्त्रताको रक्षा कसरी हुन्छ भन्ने उपायको खोजीमै रुसोले सार्वजनिक वा व्यापक इच्छा (General Will) र निजी इच्छा वा स्वार्थ (Private Will) को अवधारणा प्रस्तुत गरे ।
रुसोका अनुसार, मानिसले आफ्नो निजी स्वार्थ र चाहनालाई त्यागी समूह र सामूहिक सदस्यको हैसियतले सबैको हित रक्षा गर्नसक्ने स्वार्थ तय गर्ने अवस्थामा ‘सार्वजनिक वा व्यापक इच्छा’ को निर्माण हुन्छ । रुसोका अनुसार, समाजमा भएका खराबीबाट पार पाउन मानिस मानिसबिच सहकार्य आवश्यक हुन्छ । यस सहकार्यले मानिसको राम्रो पक्षको संरक्षण हुन्छ, यो सहकार्य भनेको मानिस मानिसबिचको सामाजिक सम्झौता (Social Contract) हो, यही सामाजिक अनुबन्ध सार्वजनिक स्वार्थको लागि पूर्वसर्त पनि हो । मानिसले आफ्नो निजी स्वार्थ समुदाय वा समूहको स्वार्थमा विलय गरेमा उसको स्वतन्त्रता कायम हुन्छ । रुसोको विचारमा आधुनिक समाजमा देखिने सम्पत्तिको असमानतालाई यस सार्वजनिक स्वार्थको निर्माणले निमिट्यान्न पार्ने होइन, सार्वजनिक स्वार्थले निर्देशित समाजमा मानिसले पाउने समान अधिकार र जिम्मेवारीका कारण उसले समान र उचित व्यवहारसमेत पाउँछ र समानताको अनुभूति हुन्छ ।
यसरी रुसोको सामूहिकतावादको दर्शनले सहकारीको महत्वलाई उजागर गर्नुका साथै समग्र सहकारी अभियानलाई पनि दिशा निर्देश गर्छ । तल झर्दै गरेका हाम्रा सहकारीहरू र यसका अगुवा सञ्चालकहरूले रुसोको सार्वजनिक स्वार्थको अवधारणालाई गम्भीर भएर अध्ययन गर्नु नितान्त जरुरी देखिन्छ ।
स्रोत : संगम साकोस
Leave a Reply