भर्खरै :

अवसरवादी शासक दलहरू !

अवसरवादी शासक दलहरू !

केही दिनअगाडि माओवादी नेता पुष्पकमल दाहाल (प्रचण्ड) ले काङ्ग्रेसलाई विश्वासघात गरेर एमालेका अध्यक्ष केपी ओलीसँग घाँटी जोडी गठबन्धनको सरकार बनाए । त्यो प्रचण्डको विश्वासघाती, अवसरवादी कदमको विरोधमा नेपाली काङ्ग्रेसका नेता रमेश लेखकले संसदको रोस्ट्रमबाट नेपाली काङ्ग्रेसलाई पटकपटक विश्वासघात गरेर धोका दिएको आरोप लगाए । उनले त्यसको परिणाम भविष्यमा भोग्नुपर्ने चेतावनी दिए । हिजो ओलीले पनि त्यस्तै प्रचण्डलाई विश्वासघाती तथा अवसरवादी भनेर आरोप गरेको त्यतिबेलाको सञ्चारमाध्यम हेरेको खण्डमा थाहा हुन्छ । तर, प्रचण्डलाई विश्वासघाती र अवसरवादी बनाउने उनीहरू नै थिए । सत्ता, पद र सुविधाको लागि लाजै नमानिकन उनीहरूले जे पनि गर्न थाले । उनीहरूले देश र जनतालाई बिर्से, धोका दिए । सत्ता र पदको लोभमा सत्ता साझेदार दललाई विश्वासघात र धोका दिएर बचाउको लागि सहयोग माग्न प्रचण्ड, माकुनेहरूलाई बुढानीलकण्ठ र बालकोटमा रातो कार्पेट बिछ्याएर स्वागत गर्ने उनीहरू नै हुन् ।
प्रजातन्त्रको मूल्यमान्यता, मर्म र भावनाअनुसार सत्ता र पदको लोभ नगरिकन राजनीति गरिएको भए अस्थिर सरकार हुने थिएन । यो सबै उनीहरूको बुद्धि, विचार, सिद्धान्त, निष्ठा, आचरणअनुसार स्वाधीन भएर अगाडि बढेको भए यस्तो स्थिति आउने थिएन । नेपालको छवि र प्रतिष्ठालाई विश्वमा ओझेलमा पार्न र नेपालमा सधैँ अस्थिरता कायम गरी फाइदा उठाउँदै आएको दिल्लीले लुम्बिनीमा हुन लागेको नोबेल पुरस्कारप्राप्त, पूर्वराष्ट्रपति, सरकार प्रमुखलगायत करिब सय डेढ सय अन्तर्राष्ट्रिय विशिष्ट व्यक्तित्वहरू सहभागी हुने अन्तर्राष्ट्रिय सम्मेलन स्थगित गराई दिल्लीतिर गर्नुले परिणामतः यसमा दक्षिणको हात रहेको पुष्टि भएको विश्लेषकहरू बताउँछन् ।
अवसरवाद भनेको सानोतिनो स्वार्थ र लोभमा लागेर विचार तथा सिद्धान्त वा प्रमुख उद्देश्यलाई त्याग्नु हो । सच्चा कम्युनिस्टहरूले आफ्नो विचार तथा सिद्धान्त, प्रमुख स्वार्थ छोड्दैनन् । विचार तथा सिद्धान्त भनेको कम्युनिस्ट पार्टी तथा दलको प्राण हो, ज्यान हो । यसलाई छोडेपछि त्यो सच्चा कम्युनिस्ट पार्टी हुँदैन । कम्युनिस्ट विचार तथा सिद्धान्तअनुसार आचरण र व्यवहार भएन भने त्यो कम्युनिस्ट हुनसक्दैन । उनीहरू देश र जनताको हितको लागि क्रान्ति या आमूल परिवर्तन गर्न होइन पुँजीवादी बाटोमा लागे । व्यक्ति, पार्टी र दलले विचार तथा सिद्धान्त त्याग्नु भनेको हिमालमा चिप्लेटी खेल्नुसरह हो ।
हरेक पार्टी एउटा न एउटा विचार, सिद्धान्त तथा वर्गको आधारमा स्थापना गरिएको हुन्छ । त्यो विचार र सिद्धान्त पूरा गर्न दीर्घकालीन र अल्पकालीन योजनाका साथ निरन्तर अगाडि बढिरहेको हुन्छ । तर, वर्तमान शासक दल तथा शासकहरूमा त्यस्तो गुण, व्यवहार, आचरण देखिएन । ती शासक दलहरू साँच्चिकै कम्युनिस्ट भएका भए उत्पादनका साधनहरू सामाजिकीकरण गरिसक्थे या राष्ट्रियकरण गरिसक्थे । वास्तविक खेत जोतिआएका जोताहा किसानहरूको जोत कायम गरेर मोहियानी हक दिलाइसक्थे । तर, तिनीहरू गाउँठाउँका जमिनदार थिए । शिक्षा, स्वास्थ्य, रोजगारी राज्यको दायित्व भएकोले त्यसअनुसार सबै जनताले निःशुल्क गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारी सहजरूपमा पाउनुपर्ने हो । तर, त्यसो हुन सकिरहेको छैन । निःशुल्क गुणस्तरीय शिक्षा सर्वसाधारण जनताले पाउन सकेका छैनन् । ७०÷८० लाख युवाहरूलाई रोजगारीको नाममा घर खेत बेचेर, बन्धकी राखेर विदेश जान शासकहरूले बाध्य पारे । त्यस्तै, देशको सुनौलो भविष्य विद्यार्थीहरूलाई पढ्ने नाममा विदेश जान बाध्य पारे । उनीहरूले ३०–४० वर्ष सत्ताको स्वाद चाखिरहे† त्यही स्वादमा देश र जनतालाई बिर्सेर सत्तामा टाँसिरहे । त्यसैको परिणाम देश र जनताको आजको दयनीय अवस्था हो ।
आजका यी शासक दलहरूले हिजो हामी प्रजातन्त्रप्रति पूर्ण प्रतिबद्ध छौँ भनेर कसम खाएको होइन र ? उनीहरूले नै वर्तमान गणतान्त्रिक संविधान बहुमतले पास गरेका हुन् । उनीहरू सबै यो संविधानको मर्म र भावनाअनुसार अगाडि बढेका भए देशको अवस्था यस्तो डाँवाडोल हुने थिएन । उनीहरू घातप्रति घात वा अवसरवादी हुने थिएन । उनीहरूले राजनीतिलाई लाजनीति गर्ने थिएन† राजनीतिलाई फोहर नीति बनाउने थिएन । उनीहरूमा न विचार र सिद्धान्तअनुसारको निष्ठा छ न नैतिकता बाँकी छ न त कर्तव्य र जिम्मेवारीबोध नै बाँकी छ । उनीहरू कुनै न कुनै भ्रष्टाचार र लुटजस्ता काण्ड तथा अपराधमा संलग्न भएको सञ्चारमाध्यममा आइरहेकै छन् । उनीहरू कुनै न कुनै देशघाती काममा लागेकै छन् । विदेशीको नुन खाँदा उनीहरूको प्रभाव र दबाबले उनीहरू आत्मसमर्पण गर्न, लम्पसार पर्न बाध्य भएको परिणामले देखाइरहेका छन् । चाहे देशघाती वा एसियाघाती एमसीसीमा हुन्, चाहे महाकाली, टनकपुर, कोसी, गण्डक, कर्णालीको सम्झौतामा हुन् । चाहे देशघाती नागरिकता विधेयकमा हुन् चाहे लिम्पियाधुरालगायत ७०–८० ठाउँमा नेपाली भूमि मित्र देश भारतले भनिएको अतिक्रमण गर्दा होस् ।
यी शासकहरू प्रजातन्त्रप्रति साँच्चिकै प्रतिबद्ध भएका भए प्रजातन्त्रको पार्टीको विचार सिद्धान्तअनुसार लक्ष्य प्राप्त गर्न आवश्यक नीति, ऐन कानुन, नियम बनाएर देश र जनताको हितमा सरकार चलाएको हुन्छ । दोस्रो ठुलो दल प्रतिपक्षले छाया सरकार बनाएर सरकारको सबै कदमको निगरानी गर्दछ । बदमासी गर्नासाथ देश र जनतालाई घात र नोक्सान हुने काम गर्नासाथ सदन र सडकबाट तुरुन्त खबरदारी गर्दछ । जनताका बिचमा उडाङ्ग्याउने काम गर्दछ । कुनै पद र सुविधाको मोलमोलाइ गर्दैन । देश र जनताको हितको लागि चटानझैँ अडानमा बस्छ । तर, आजसम्मका प्रतिपक्षमा बसेका भनिएका कुनै दल र नेताले त्यसो गर्न सकिरहेको अवस्था छैन । ती सबैले सरकार, शासक दललाई देश र जनताको हितमा काम गर्न घुँडा टेकाउन सकेनन् । तिनीहरूले पद र सुविधाको मात्र मोलमोलाइ गरिरहे । उनीहरू पद र सुविधामा मात्र डुबिरहे, टाँसिरहे । यदि त्यसो नहुँदो हो त उनीहरू सत्ता पक्षले घात गर्नासाथ खबरदारी र विरोध गर्थे । त्यसले पनि भएन भने जनतासामु आएर सदन र सडकबाट राजीनामा माग्थे । जनताको साथ र सहयोगमा सशक्त आन्दोलनको आँधीबेहरी ल्याएर राजीनामा गर्न बाध्य पार्थे । पद र सुविधाको मोलमोलाइ वा लोभमा डुब्ने थिएन । आजसम्ममा जनताले त्यसो बाध्य पारेको हेर्न, देख्न, अनुभव गर्न पाएका छैनन् ।
सत्तामा आउने शासक दलहरू पनि उही ड्याङका मुला हुन् । उनीहरूले प्रजातन्त्रको मूल्य र मान्यताअनुसार, प्रजातान्त्रिक तौरतरिकाअनुसार सरकार चलाएको देखिएन । प्रजातन्त्र शासक धनी, पैसावाल वर्गलाई आए पनि बहुसङ्ख्यक गरिब, अशिक्षित जनतासमक्ष पुगेन । उनीहरूले न त शिक्षा, स्वास्थ्य निःशुल्क र सहजरूपमा पाए न त रोजगारी नै पाए । उनीहरूले भोक र रोग पाए । उपचार नपाएर मर्न बाध्य भए ।
सच्चा प्रजातन्त्रमा देश र जनतालाई घात गरेर अवसर कसैले खोज्दैन । कोही अवसरवादी हँुदैन । प्रजातन्त्रमा जनताको भावना र मर्मअनुसार नैतिक मूल्य र मान्यता मुख्य हुन्छ । निष्ठा, पारदर्शिता, कर्तव्य, जिम्मेवारी प्रजातन्त्रको गहना हुन्छ । देश र जनता जहिले पनि केन्द्रबिन्दुमा हुन्छ । आफूले जनता, देशसमक्ष गरेको वाचा, प्रतिबद्धताअनुसार परिणाममुखी काम गर्न सकेन भने, देश र जनतालाई आफ्नो, निर्णय कामबाट नोक्सान, घात भयो भने त्यसको जिम्मेवारी लिनुपर्छ । यहाँ माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल (प्रचण्ड) ले ठुला भनिएको नेपाली काङ्ग्रेस र एमालेले जनतामाथि पालैपालो गरेर शासन गरिरहेका छन् । बाहिर कुकुर झगडाजस्तै घात गर्छन् तर भित्र भित्र काम र परिणामले उनीहरू सहमति गर्छन् ।
त्यसैले सबै दल प्रजातन्त्रको मूल्य र मान्यताअनुसार परिणाममुखी हुने गरी लागेको खण्डमा पद र सुविधाको सिद्धान्त, विचार, व्यवहार छोडेर अवसरवादी नहुने हो भने देश र जनताको निःस्वार्थ सेवामा लागेको खण्डमा देश र जनताको विकास चाँडै हुने कुरामा दुईमत नहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *