भर्खरै :

बर्दियामा नेमकिपाको कार्यकर्ता भेला

बर्दियामा नेमकिपाको कार्यकर्ता भेला

बर्दिया, ४ चैत । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा ठाकुरबाबा नगरपालिकाको भुरी गाउँमा आइतबार कार्यकर्ता भेला भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले देश र जनताको सेवा गर्नुपर्ने शासक दलहरूले विदेशीको दलाली गर्दा देशको नदीनालामात्रै होइन देश नै नरहने खालको एमसीसी, नागरिकता विधेयकजस्तो देशघाती सम्झौता गरेकोले देशघाती कदमको विरोधमा सबै पार्टीका इमानदार कार्यकर्ताले विरोध गर्नुपर्छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “नेपालका लेन्डुप दोर्जे, जेलेन्स्की र नेतन्याहुजस्ता दलाल शासकहरू तयार गर्न अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद लागिपरेका छन् ।”
जनताको सुझबुझपूर्ण एकताले नै देश जोगाउन सकिने धारणा राख्दै केन्द्रीय सदस्य थापामगरले सबै क्षेत्रमा इमानदार भई काम गर्ने श्रम शक्ति तयार गर्न सके देश अगाडि बढ्ने बताउनुभयो ।
महिलालाई राजनीतिकरूपमा सचेत गराउन सके पुँजीवादी शासक दलहरूले विश्वासघात गर्ने नसक्ने उहाँले स्पष्ट पार्नुभयो ।
नेमकिपा बर्दियाका अध्यक्ष हरिलाल न्यौपानेले नेमकिपाको उद्देश्य भनेको नै देश र जनताको इमानदारीपूर्वक सेवा गरी समाजवादी व्यवस्था स्थापना गर्नु हो भन्नुभयो ।
महिला शिक्षित भए समाज परिवर्तन छिटो हुने धारणा राख्दै नयाँ पुस्तालाई शिक्षित र इमानदार बनाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरूङले आफ्नो अधिकारको लागि शासक दलहरूसँग लड्नुपर्ने बताउनुभयो ।
निरन्तर सङ्घर्षले नै सफलता प्राप्त हुने चर्चा गर्दै उहाँले हाम्रा बालबालिकालाई असल व्यवहार र आचरण सिकाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “प्रतिक्रियावादीहरूले जति दबाउन खोजे पनि हामीले जनतालाई शिक्षित पार्न छोड्नुहुन्न ।”
स्वास्थ्यकर्मी रविना सुवालले मानसिक रोगबारे जानकारी गराउँदै समय समयमा स्वास्थ्य परीक्षण गराउनुपर्ने बताउनुभयो ।
स्वास्थ्यबारे हेलचक्र्याइँ गर्नुहुन्न†, समयमा उपचार नगर्दा मानसिक रोगले विकराल समस्या निम्त्याउने खतरा भएकोले चिकित्सकहरूबाट समयमै परामर्श लिनुपर्छ”, उहाँले भन्नुभयो ।
नेमकिपा बर्दियाका धर्मराज आचार्यले समाजलाई अस्थिर हुनबाट जोगाउन गाउँलाई मदिरा निषेध क्षेत्र बनाउन आवश्यक भएको बताउनुभयो ।
नेक्रामहिला सङ्घ बर्दियाका अध्यक्ष पवित्रा शाही, थिरबहादुर ओली, सवित्रा थापालगायतले कार्यक्रममा बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *