भर्खरै :

नयाँ पुस्तामा सारौँ

नयाँ पुस्तामा सारौँ

श्रम गरेर खलखली पसिना बगाएर श्रम गर्ने गरिब जनताको लागि त्यस्तै गरिबलाई माया गर्ने अधिकार दिने सरकार नआउँदासम्म काम गरी खाने गरिब जनताको सेवा हुनसक्दैन । यो कुराको पुनरावलोकन गर्न हाम्रै नेपालको २००७ सालदेखिको सरकारहरूको चरित्र र व्यवहारबाट प्रस्ट हुन्छ, अन्त जानै पर्दैन । तसर्थ, काम गरी खाने जनताले आफ्नो सुन्दर र सुखद भविष्य निर्माणको लागि काम गरी खाने जनता नै सार हो । यो कुरा सानादेखि ठुलासम्म सबै पार्टी र तिनका विभिन्न तहका नेताहरूले आत्मसात गर्नु औचित्यपूर्ण हुन्छ । अन्यथा, गरिब जनताको भलो र सुन्दर भविष्य कल्पनामात्र हुन्छ । नेपालमा २००७ साल अगाडिदेखि जनता जुर्मुराउन थालेका थिए । १९९७ सालमा त पर्चा वितरण गरेको अभियोगमा नेपाली आमाका चार जना सपुत छोराहरूलाई झुन्ड्याएर, गोली ठोकेर सरकारले आफ्नो परिचय सार्वजनिक गरेको कुरा सायद कसैले बिर्सेको छैन । यो बिर्सने कुरा पनि होइन । रहरले कोही पनि सहिद हुँदैन । मुलुकको परिस्थितिले आह्वान गरेपछि तत्कालीन युवा तथा युवा भावना भएका प्रौढहरूले पनि तत्कालीन शासनको विरूद्ध उभिएर नयाँ शासन सत्ता कायम गर्न अपार हौसला देखाए । जिन्दगीभर सँगै दुःख–सुख बाँड्ने अठोटले बिहा गरेका सहिदहरू आफ्ना श्रीमती र छोराछोरीलाई समेत छाडेर मुखसमेत छापेर राणा शासनविरोधी आन्दोलनमा होमिएका कुरा छर्लङ्गै छ ।

आन्दोलन नयाँ पुस्तालाई सिकाऔँ !
तर, परिस्थिति भने आन्दोलनकारीले भनेजस्तो हुनसकेन । यद्यपि, राणा शासन पल्टियो तर त्यसपछि बनेका सरकारहरूले वैदेशिक सहयोगमा मित्र राष्ट्रहरूबाट प्राप्त कलकारखाना कौडीको मूल्यमा विदेशीलाई बेचे । ती विदेशीले केही समयपछि ती कारखाना बन्द गरे । कारखानाहरू चलेका भए नेपाली युवाहरूले काम पाउँथे, तलब पाउँथे र परिवार र केटाकेटी सजिलैसँग पाल्थे । तत्कालीन सरकारहरूले यो कुरा बुझेनन् र कारखाना बेचेको पैसा जथाभावी गरे । अब लाखौँ टन चामल भारतलाई बेच्ने नेपाल, लाखौँ टन चामल भारतबाट आयात गर्नेमा पुग्यो । खेत यहीँ थियो, बीउ यहीँ थियो, गोठे मल हाल्थे, राम्रै उत्पादन हुन्थ्यो । तर, यी सबै कुरामा तत्कालीन सरकारहरूको गम्भीरता त कता कता ? साधारण ध्यान पनि त्यतातिर गएन । वीरगञ्जको कृषि औजार कारखाना, गैँडाकोटको भृकुटी कागज कारखाना, वीरगञ्जकै चिनी कारखाना, जनकपुरको चुरोट कारखानाहरू भटाभट बन्द हुनथाले । ती कारखाना किन्नेहरूले कारखाना राम्रोसँग चलाऔँला, नेपाली युवालाई रोजगारी दिउँला, देशलाई आत्मनिर्भर बनाउँला भन्ने सोचले अघिल्ला सरकारहरूले स्थापना गरेका औद्योगिक संस्थाहरूको यसरी गला थुनियो । फलस्वपरूप चिनीमा, चुरोटमा, कागजमा र कृषि औजारमा आत्मनिर्भर हुनुपर्ने उद्देश्य विफल भयो । ती कारखानामा काम गर्ने युवाहरूको रोजगारी खोसियो । उनीहरूका परिवार भोकभोकै परे ।
भएको बेच्ने र माग्ने ?
देशका कलकारखाना तथा उद्योगहरू ध्वस्त पारेर भारतसँग महँगोमा त्यस्ता वस्तु किन्न बाध्य भयो नेपाल । सरकारका यी निर्णयहरू श्रमिकको होइन, शोषकहरूको पक्षमा खडा भए । देशलाई पनि घाटा हुने विचार व्यक्त गरियो । यसरी, कलकारखाना बन्द भएपछि नेपाली युवकहरू भारतमा कामका लागि तँछाड मछाड गरी प्रवेश गर्न लागे । उत्पादन घट्दा नेपाल के खाएर चुठौँ भन्ने अवस्थातिर पुग्यो । यसरी सबैथोक आयात गरेर कलकारखाना बन्द गरेर कुन मुलुकले पो संसारमा प्रगति गरेको छ र ? उत्पादन घट्दा देशलाई पनि घाटा हुने पक्ष सरकारले सुनेको नसुन्यै ग¥यो । कान छँदा छँदै बहिरोको परिपाठ गर्नेहरूसँग कसको के लाग्छ र ? पुँजीवादी सरकारहरूले गरिब जनताको सेवा नगर्ने कुरा घामजस्तै छर्लङ्ग छ । आफ्ना युवकहरूलाई विदेश पठाएर संसारमा कुन देशले प्रगति र समुन्नति गरेका छन् ? पुँजीवादी सरकारले आफ्ना जनतालाई भन्दा विदेशबाट आउने मजदुरहरूलाई बढ्ता माया गर्नुपर्ने परिस्थित खडा भयो जसले उत्पादन बढाउनेतिरभन्दा घटाउनेतिर काम ग¥यो । वास्तवमा ज्येष्ठ नागरिकहरूप्रति सहयोग गर्न आदर निकेतनहरू टोलटोलमा बनाई ज्येष्ठ नागरिकहरूको त्यहीँ दिनभरिको सेवा गर्न सकिन्छ तर तत्कालीन सरकारहरूले त्यता ध्यान दिएनन् न त ध्यान दिए । बालबालिकाहरूलाई खेल्ने, मनोरञ्जन गर्ने कुरामा गर्ने ध्यान दिए । बुढाबुढी र केटाकेटीलाई माया नगर्नेहरू सत्तामा पुगे । फलस्वरूप जसलाई हेर्नपर्ने हो, उसलाई हेरिएन । नेतृत्वमा बस्नेहरू अप्ठ्यारोबाट आफूमात्र बच्ने होइन, अरूलाई पनि बचाउनुपर्छ । तर, यो कुरामा सरकारको ध्यान गएन ।

पुराना अनुभव वास्तवमा फलदायी हुन्छ
नेमकिपाले आफ्नो पुराना अनुभवहरू साँढे धपाउने, पाकेको बाली किसानकहाँ पु¥याउने, बिर्तावाल साहुहरूसँग कुत तिरेको भरपाइ लिनेजस्ता आन्दोलन आजको भक्तपुरको नयाँ पुस्ताले कति सम्झन्छ, कति बुझ्छ ? तसर्थ, यी कुरा अघिल्लो पुस्ताबाट पछिल्लो पुस्तामा प्रत्यार्पण हुन जरूरी छ । थाहा पाएपछि न मान्छेहरू चेतनशील हुन्छन् । यसकारण त्यति बेलाको साँढे धपाउने आन्दोलन, बाली भित्याउने आन्दोलन र कुत तिरोको भर्पाई लिने आन्दोलन त्यतिबेलाका मुख्य आन्दोलन थिए । यी आन्दोलनले किसानहरूमा जागृति र चेतना फैलाएको थियो । यी कुरा आजको पुस्ताले बिर्सियो भने अनर्थ हुनसक्छ । तसर्थ, यी ऐतिहासिक कुरा नयाँ पुस्तामा हस्तान्तरण गर्नु जरूरी छ । यस्ता कुरा थाहा नपाई नयाँ पुस्ता विलखबन्दमा पर्छ । हामी अघिल्लो पुस्तालाई थाहा हुँदैमा यसका प्रभावहरू निरन्तर भइरहन्छन् भन्ने प्रत्याभूति हुँदैन । यस्ता मसिना कुरा थाहा पाएन भने क्रान्ति टुप्पोमा पुग्न सक्दैन । अन्तत्वगत्वा, क्रान्तिका लागि यी कुरा आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *