भर्खरै :

भक्तपुर बहुमुखी क्याम्पसभित्र चुनावी ब्यानरः आचारसंहिताको ठाडो उल्लंघन

भक्तपुर, ६ मंसिर । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन नजिकिँदै जाँदा ठूला दलहरुको आचारसंहिता उल्लंघन गर्ने कार्यले तीव्रता पाएको छ । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा कुनैपनि राजनीतिक दलहरुले सरकारी र सामुदायिक संघसंस्था परिसरभित्र आफ्नो चुनावी प्रचारप्रसारका गतिविधि गर्न रोक लगाएको छ । तर ठूला दलहरुले आचारसंहिता तोड्दै चुनावी प्रचारप्रसार गरिरहेका छन् ।
सोही सिलसिलामा भक्तपुर बहुमुखी क्याम्पस परिसरभित्र नेपाली कांग्रेस भक्तपुरबाट निर्वाचनमा उम्मेदवार बनेका जीवन खत्री र अनिल भुजूलाई रुख चिन्हमा छाप लगाई जिताउन अनुरोधसहितको ब्यानर टाँगिएको छ । आचारसंहितामा उल्लेख भए अनुसार राजनीतिक दलहरुले सार्वजनिक संघसंस्थाको परिसरमा निर्वाचन प्रचार प्रसारका कुनैपनि पोस्टर, पम्प्लेट, पर्चा, ब्यानर, तुल राख्न पाईदैन । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको भक्तपुर बहुमुखी क्याम्पसभित्रै आफ्ना उम्मेदवारलाई भोट हाल्ने अपीलसहितको ब्यानर टाँगिनु र आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दलहरुमाथि कुनै कारबाही नहुनुले निर्वाचन आयोग र सम्बन्धित निकाय कति निरीह र गैर जिम्मेवार छ भन्ने कुरा अहिले स्थानीय जनताहरुमाझ चर्चाको विषय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *