भर्खरै :

खेलाडीहरू आफ्नो क्षेत्रबाट देश र जनताको सेवामा समर्पित हुनुपर्ने

भक्तपुर, ६ मंसिर । भक्तपुर नगर क्षेत्रका खेलाडीहरूको बृहत् भेला मङ्गलबार सम्पन्न भयो ।  सो कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले समाजवादी व्यवस्थामा खेलाडीहरूले समान अवसर पाउने बताउँदै खेलाडीहरू देशको जेगडा रक्षक भएको बताउनुभयो ।
अहिले ठूला शासक पार्टीहरूले राजनीतिमा बलको प्रयोग गर्न खोजिरहेको गलत प्रवृत्तिको खण्डन गर्दै अध्यक्ष बिजुक्छेंले राजनीतिक कार्यकर्ताले बौद्धिक रुपमा अरुलाई परास्त गर्नसक्ने क्षमता विकास गर्नुपर्ने बताउनुभयो ।
खेलाडीहरूमा स्वाभाविक रुपमा अगुवाई गर्ने प्रवृत्तिको विकास हुने हुँदा खेलाडीहरू उत्साहित भएर आफ्नो क्षेत्रबाट देश र जनताको सेवामा समर्पित हुनुपर्ने बताउनुभयो ।
नेमकिपाका सचिव एवम् प्रतिनिधिसभा उम्मेदवार प्रेम सुवालले खेलकुदलाई संविधानको मौलिक हकको रुपमा राख्नुपर्ने बताउनुभयो । मानवीय आस्था नामक संस्थाको सहयोगमा एमालेलगायतका दलहरूले चुनावमा करोडौं रकमको छेलोखेलो गरेको बताउँदै गुण्डागर्दी, लोभलालचले राजनीति झन् झन् फोहोर बनाउँदै गएको चर्चा गर्नुभयो ।
प्रदेशसभाका उम्मेदवार सुरेन्द्रराज गोसाईंले खेलाडीहरू राजनीतिमा लागेको खण्डमा युवाहरू सही बाटोमा लाग्ने र उनीहरूको चेतनास्तर अभिवृद्धिमा टेवा पुग्ने बताउनुभयो ।
खेलाडी तथा राष्ट्रिय रेफ्रि विनोदचरण रायले खेलाडीहरूको चाख राजनीतिमा पनि हुनुपर्ने बताउँदै आत्मनिर्भरताको सवालमा नेपालले उत्तर कोरियाबाट धेरै कुरा सिक्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
भनपा वडा नं. १ का वडाअध्यक्ष श्यामकृष्ण खत्रीले युवाहरूलाई कुलतबाट जोगाउन खेल क्षेत्रमा लाग्न आवश्यक रहेको औंल्याउनुभयो ।
भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रदेशसभाका समानुपातिक उम्मेद्वार कृतिका प्रजापतिले नेमकिपाका उम्मेदवारहरूलाई अत्यधिक मतले विजयी गराउन अपिल गर्नुभयोे । कार्यक्रममा उपेन्द्र सुवालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *