भर्खरै :

नेपालमा धान बालीको अवस्था

नेपालमा धान बालीको अवस्था

विश्वभरि एक वर्षमा ७५ करोड ५४ लाख ७३ हजार ८ सय मेट्रिक टन धान उत्पादन हुन्छ । त्यसमध्ये हाम्रो छिमेकी देश चीनले एक वर्षमा विश्वमै सबैभन्दा बढी २१ करोड १४ लाख ५ हजार २ सय ११ मेट्रिक टन धान उत्पादन गर्छ । चीनले प्रतिहेक्टर जमिनमा ६.९ मेट्रिक टन धान उत्पादन गर्छ । अर्को छिमेकी देश भारतले एक वर्षमा १७ करोड ७६ लाख ४५ हजार मेट्रिक टन धान उत्पादन गर्छ । उसले प्रतिहेक्टर जमिनमा ४.०५ मेट्रिक टन धान उत्पादन गर्छ ।
नेपालमा ४१ लाख हेक्टर कृषियोग्य जमिन रहेको अनुमान गरिएको छ । त्यसमध्ये करिब १४ लाख ९१ हजार ७ सय ४४ हेक्टर जमिनमा मात्रै धान खेती गरिन्छ । नेपालले प्रतिवर्ष ५६ लाख १० हजार ११ मेट्रिक टन धान उत्पादन गर्ने गरेको तथ्याङ्क छ । नेपालले प्रतिहेक्टर जमिनमा ३.८ मेट्रिक टन धान उत्पादन गर्दै आएको छ । आजभन्दा करिब ६० वर्ष अगाडि विसं २०१८ सालतिर नेपालको प्रतिहेक्टर जमिनमा धान उत्पादकत्व १.९ मेट्रिक टन मात्रै थियो । त्यतिबेला नेपालमा आधुनिक कृषि औजार र रासायनिक मल थिएन । जनसङ्ख्या कम भएको कारण खपत पनि थोरै हुन्थ्यो । यसकारण, सन् १९६५ (विसं २०२२) सम्म नेपाल विश्वका धान निर्यात गर्ने देशहरूको सूचीमा पाँचौँ स्थानमा पथ्र्यो । सन् १९६५ मा नेपालको तराईबाट भारतमा ३ लाख ४८ हजार धान निर्यात भएको थियो तर अहिले त्यो अवस्था रहेन । नेपाल धान, चामलमा भारत निर्भर हुन थालेको छ ।
नेपालको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रले २५.८ प्रतिशतले योगदान गरेको छ । यसमध्ये धानबालीले सबैभन्दा धेरै ११.३० प्रतिशत योगदान गरेको छ भने खेती गरिने कुल क्षेत्रफलको ४२. ६ प्रतिशत स्थान ओगटेको छ । आर्थिक सर्वेक्षण २०७८/७९ को तथ्याङ्कअनुसार अन्नबालीको कुल उत्पादनमा धानबालीको मात्रै ५०.७६ प्रतिशत हिस्सा रहेको छ ।
सन् १९७० को मध्यसम्ममा कहिलेकाहीँ नेपालको केही क्षेत्रमा खाद्यान्न अभाव देखिए तापनि नेपालको कृषि निर्यातले कुल गार्हस्थ उत्पादनमा र विदेशी विनिमय आर्जनमा उल्लेखनीय योगदान पु¥याएको देखिन्छ । तर, सन् १९८० (विसं २०३६) पछि नेपालले गम्भीर आर्थिक सङ्कटको सामना ग¥यो । नेपालमा सन् १९८० पछि उदारीकरणको अभियान चल्यो । त्यसपछि नेपाल अन्तर्राष्ट्रिय मुद्राकोषको जालमा परेको देखिन्छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले आर्थिक स्थिरीकरण कार्यक्रम र संरचनागत समायोजन सुरु गर्ने सर्तमा नेपाललाई ऋण प्रदान ग¥यो । त्यसपछि सरकारले कृषि वस्तु आयातमा प्रतिबन्ध हटाउनुका साथै निर्यातमा भन्सार हटाउन बाध्य भयो । नेपालले कृषि क्षेत्रमा दिइँदै आएको सहयोग खारेज गर्दै दक्षिण एसियामै उदारीकरण र विश्वव्यापीकरणलाई अँगाल्ने पहिलो देशको रूपमा आफूलाई उभ्यायो । सन् २००५ (विसं २०६१) सम्ममा नेपालले खुला व्यापार प्रवद्र्धन र उदारीकरणको नाममा कृषि क्षेत्रलाई दिइने संस्थागत सहयोगलाई पनि बेवास्ता गर्न थाल्यो । यस्तो नीतिले सन् २००४/२००६ सम्ममा नेपालमा खाद्यबालीको आयात निर्भरता अनुपात १.३ प्रतिशत रहेकोबाट सन् २०१६/१८ मा १४.७ प्रतिशत पुग्यो । अहिले झन्झन् नेपालको परनिर्भरता बढ्दै गएको छ । यसकारण, नेपालले विदेशीसँग ऋण लिने विषयमा सचेत हुनु जरुरी छ ।
नेपालले आव २०७३/७४ मा ४ अर्ब २९ करोड रुपैयाँ बराबरको १ लाख ६३ हजार ३ सय २ मेट्रिक टन धान आयात ग¥यो । आव २०७६÷७७ मा लगभग १० अर्ब ४८ करोड रुपैयाँ बराबरको ३ लाख ४८ हजार ३ सय ३६ मेट्रिक टन धान आयात ग¥यो । त्यस्तै आव २०७७÷७८ मा २० अर्ब ५५ करोड रुपैयाँ बराबरको ६ लाख ९८ हजार मेट्रिक टन आयात भयो ।
धानमात्र नभई चामल आयातको अवस्था पनि उस्तै छ । आव २०७३/७४ मा १९ अर्ब ५८ करोड रुपैयाँ बराबरको चामल आयात गरेको थियो भने आव २०७४/०७५ मा २३ अर्ब ५६ करोडको चामल आयात भयो । आव २०७५/७६ मा २५ अर्ब ७५ करोड, आव २०७६/७७ मा २३ अर्ब १७ करोड र आव २०७७/७८ मा ३० अर्ब २४ करोडको चामल आयात भएको तथ्याङ्क छ ।
नेपालमा सबभन्दा बढी छिमेकी मुलुक भारतबाट धान, चामललगायतका खाद्यान्न आयात हुन्छ । आव २०७७/७८ मा ९९.७५ प्रतिशत धान, चामल भारतबाट आयात भएको देखिन्छ । अहिले नेपालको कुल आवश्यकताको करिब २५ प्रतिशत चामल विदेशबाट आयात गरिएको बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्रका प्रमुखले जानकारी दिए । आव २०७७/७८ मा रु २ अर्ब ६१ करोड रुपैयाँ बराबरको कनिका मात्र आयात भयो । सीमावर्ती जिल्लामा बस्ने नेपालीले घरायसी प्रयोजनको लागि भारतबाट ल्याएको चामलको त तथ्याङ्क नै उपलब्ध छैन । त्यो समेत जोड्ने हो भने चामल आयातमा नेपालबाट बाहिरिने रकम अझ बढ्ने निश्चित छ ।
नेपालको कृषि क्षेत्रको कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी धानबालीको योगदान रहेको छ । तर, नेपालमा बढ्दै गरेको अव्यवस्थित बसाइँसराइको कारण घट्दो खेती गरिने जमिन, सिंचाइ सुविधाको अभाव, समयमा मल बीउबिजन उपलब्ध नहुनु र युवाहरू विदेसिनुले धान उत्पादन घट्दै गएको विज्ञहरू बताउँछन् । नेपालको कुल खेती गरिने जमिनको ४० प्रतिशत जमिनमा मात्रै सिंचाइ सुविधा पुगेको छ भने ६० प्रतिशत जमिन आकाशे पानीको भरमा खेती हुन्छ । नदीनालाले भरिपूर्ण देशमा आजसम्मका सरकारहरूले सिंचाइको राम्रो व्यवस्था गर्न सकेनन् ।
नेपालमा गहुँ, कोदो, फापरलगायतका बालीहरूलाई मुख्य खाद्यान्नको रूपमा समावेश नगर्ने प्रवृत्ति अझै छ । धान र चामल नै नेपाली जनताको मुख्य खाद्यान्नको रूपमा रहेकोले चामलको अत्यधिक खपत हुन्छ नेपालमा । केन्द्रीय तथ्याङ्क विभागले सन् २०१५÷१६ मा गरेको घरधुरी सर्वेक्षणअनुसार एक जना नेपालीले वर्षमा सरदर १३१ केजी चामल उपभोग गर्दथ्यो । यो हिसाबले हेर्दा धान उत्पादनलाई वृद्धि गर्न सरकारले विशेष ध्यान दिनु जरुरी छ । तर, सरकार उल्टो बाटो हिँड्दै छ । सरकारहरूले धान फल्ने धनहर खेतमा मान्छेको बस्ती बसाउँदै छ भने पहाड खाली हुँदै छ । मानव बस्ती घटेपछि पहाडमा पनि खेती नहुने र मैदानमा पनि घर बढेर उत्पादन नहुने समस्याले देशलाई टाट पल्टाउने सम्भावना छ । सरकारको बेलैमा चेत खुलोस् ।
(नीति अनुसन्धान प्रतिष्ठानद्वारा २०८० मङ्सिरमा प्रकाशित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको अनुसन्धान प्रतिवेदनमा आधारित)
२०८० चैत ४

Leave a Reply

Your email address will not be published. Required fields are marked *