भर्खरै :

सांस्कृतिक पर्व परम्पराको जीवन्तताको लागि कृषि फार्म अनिवार्य

सांस्कृतिक पर्व परम्पराको जीवन्तताको लागि कृषि फार्म अनिवार्य

कृषि जीवनको आधार हो । कृषिकै कारण विश्वमा मानव समुदायको अस्तित्व रही आएको छ । मानिसले आफ्नो र नयाँ पुस्ताको जीवन सुनिश्चित पार्ने काम कृषि अर्थात् खेतीपातीबाट भएको हो । ढुङ्गेयुगको समयमा मानिसले आफ्नो जीवनलाई विभिन्न किसिमका जनावरहरूसँग सङ्घर्ष गरेर बिताउनुपथ्र्यो । यस्तो अवस्थामा मानिस हिंस्रक जनावरहरूसँग आफ्नो अस्तित्वको लागि लड्नुपथ्र्यो ।
समयको विकासक्रमसँगै मानिसहरूले आफ्नो अस्तित्व कायमको लागि सुरक्षित तरिकाले खेतीपाती गरेर विभिन्न किसिमका खाद्यान्नहरूको उत्पादन गर्न सफल भयो । यसैको परिणाम मानिसहरूमा अब जनावरहरूसँग लडेर आफ्नो जीवन सुनिश्चितता गर्ने सोच परिवर्तन भएर मानवीय भावनाको विकास भयो । जसबाट मानिसहरूमा आफ्नो सहजताको लागि कल्पनाशीलता र विभिन्न किसिमका आविष्कारहरू गर्ने परिवेश सृजना भयो । यसर्थ, कृषि वा खेतीपातीलाई आविष्कारको जननीको रूपमा लिइन्छ ।
सामान्यतया कृत्रिम तरिका अर्थात् मानिसको आफ्नो बुद्धि विवेकले आफ्नो जीवनको सुनिश्चिताको लागि विभिन्न किसिमको बाली र पशु तथा पशुजन्य वस्तुको उत्पादन गर्नुलाई नै कृषि भन्ने गरिन्छ । मानिसहरू कृषिमा प्रवेश गरेपछि विभिन्न प्रकारका वस्तुहरूको उत्पादन केकति मात्रामा कसरी गर्न सकिन्छ त्यसप्रति अनुसन्धान र खोज गर्ने गरिन्छ । जसको परिणाम आज कृषि तथा खेतीपातीमा सहजताको लागि विश्वमा विभिन्न किसिमका कृषि प्रविधि र विधिहरूको विकासले उत्पादनमा क्रान्तिकारी परिवर्तन भएको छ । कृषि क्षेत्रमा भएको यही परिवर्तनले आज विश्वमा औद्योगिक क्रान्तिको सफलतासँगै विभिन्न क्षेत्रमा युगान्तकारी परिवर्तन भएको छ ।
नेपाल कृषिप्रधान देश हो । उत्तरतिर चिनियाँ र दक्षिणतिर भारतीय प्लेटमा भूकम्पको टकरावको कारण टेथिस सँगरको पिँध माथि उठेर नेपाल लगायत छिमेकी देशका भूभाग बन्दा नेपालमा पहाडसहित उर्बर माटोलगायत विभिन्न किसिमका हावापानी भएको पाइन्छ ।
विश्वमा औद्योगिक क्रान्तिसहित उपनिवेश तथा विश्वयुद्धको क्रममा नेपालले कृषि प्रविधि नभित्रिएको राणाकालमा विश्वका विभिन्न मुलुकमा धानगहुँलगायत अन्य खाद्यान्न निर्यात गरेको थियो । सोही समयमा नै विभिन्न किसिमका उद्योग तथा कलकारखानासमेत खोलेर पश्मिना, गलैँचा, जुट, सिमेन्ट, कागज, टायर विदेशमा निर्यात गरिन्थ्यो । तर आज २०४६ को जनान्दोलनको परिणाम नेपाली युवाहरूलाई विदेशमा काम गर्न गराउन सकिने नीति ल्याएको थियो । जसबाट आधुनिकताको नाउँमा कृषि उत्पादन छाडेर अन्य आयातीत सामानको व्यापार व्यवसायले उर्वर कृषि भूमिमा प्लानिङ, प्लटिङ तथा आवास योजनाको कारण बाँझो र उत्पादन बिहीन मुलुक भएको छ । जसको परिणाम आज नेपाल खाद्यान्नलगायत पोशाकमा समेत अन्य राष्ट्रहरूको भर पर्नुपर्ने भएको छ । यस्तो अवस्थामा भूपरिवेष्ठित र तीनतिर भारतले घेरिएको नेपालमा नाकाबन्दी गरेमा यहाँको सर्वसाधारण जनताको जनजीवन कष्टकर हुने गर्दछ ।
तर सरकार युवाहरूलाई विदेश पठाएर तिनीहरूले पठाएको रेमिट्यान्समा रमाएको छ । नेपालमा स्वस्थवद्र्धक कृषि उत्पादनको मूल्यहीन बनाएर विदेशबाट अखाद्य रसायनयुक्त खाद्यान्न आयात गर्नुपर्ने बाध्यता छ । योसँगै उक्त विषालु खाद्यान्नले निम्तिने स्वास्थ्य समस्याको उपचार वा निराकरणको लागि विदेशी औषधि उपचार नै प्रयोग गर्नुपर्ने अवस्था एकातिर छ भने अर्कोतिर कृषिमा आधारित सांस्कृतिक पर्व परम्पराको निरन्तरताको लागि परनिर्भर रहनुपर्ने बाध्यता रहन्छ । यसले नेपाली मुद्राको मूल्यहीनता बढेर नेपालको ऐतिहासिक तथा गौरवशाली स्वाभिमान र पहिचानसँगै देशको अस्तित्वसमेत गुमाउनुपर्ने हुन्छ  ।
विश्वका विकसित भएका कृषि सामाग्री नेपालीले प्रयोग गर्न सकिने अवस्था भए तापनि नेपाल सरकार उदासीन छ । जनता पनि सरकारले गरिदिनुपर्ने मानसिकता बोकेर हातपाखुरा बलिया जोशजाँगर भएका युवाहरू विदेशीको लागि आफ्नो पसिना र रगत बगाउन मरिहत्ते गरिरहेका छन् । देशभित्र कुनै उपलब्धि नहुने र नेपालमा भएका उत्पादनले बजार नपाउने जस्ता काल्पनिक तथा भाष्य कुरामा विश्वास गरेर नयाँ पुस्ता विदेश पलायन हुँदा आफलाई सहज हुने मानसिकतामा छन् ।
परिश्रमी र पौरखी युवाहरूलाई देशभित्र कृषि उत्पादनमा उत्साहित नगरी प्रत्येक वर्ष बढेको युवा पलायनले भित्रिएको रेमिट्यान्सको उच्च रेकर्ड देखेर सरकार दङ्ग र खुसी छ । उक्त रेमिट्यान्सको पनि कृषिको उत्पादनमूलक काममा भन्दा बढी अनुत्पादक क्षेत्र फ्रिज, रेफ्रिजेरेटर, ओभन, वासिङ मेसिन, नयाँनयाँ मोटरसाइकललगायत मोटरगाडीको अत्यधिक खरिद र प्रयोगले नेपाली मुद्रा र डलर बाहिरिएका छन् । यसले अझ नेपालमा आर्थिक मन्दी र लुटपात, चोरीडकैती, हत्याहिंसाजस्ता सामाजिक समस्या निम्तिने खतरा छ ।
विश्वमा विकसित कहलिएका देशहरूको समृद्धिमा नेपालबाट पलायन भएका युवाहरूको पनि ठुलो योगदान छ । यही कुरालाई मनन गर्दै सरकारको भर नपरी अब नयाँ पुस्ताले स्वदेशको समृद्धिको लागि कृषि क्षेत्रमा अत्याधुनिक प्रविधि सहित आवश्यक रासायनिक मलखाद, विषाढी, कृषि सामग्रीको सहज उपलब्धता र उत्पादनलाई विशेष ध्यान दिनैपर्दछ । यसबाट नेपालमा कृषिमा आश्रित वा आधारित सांस्कृतिक पर्व परम्पराहरूलाई जीवन्त राख्न सहयोग पुग्दछ ।
यसर्थ, कृषिमा आधारित सांस्कृतिक पर्व परम्पराको जीवन्तता कायम राख्नको लागि विश्वमा विकसित कृषि प्रविधिको सहज प्रयोग र उपलब्धतासहित स्वदेशमै युवालाई रोजगारीको लागि कृषियोग्य जमिनमा हुने अनुत्पादक प्लानिङ, प्लटिङ कारोबार र लगानी रोकी छिट्टै नै व्यवस्थित र सुविधा सम्पन्न कृषि फार्म सञ्चालन गर्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *