भर्खरै :

युद्धबाट लाभ उठाउनेहरू शान्तिदेखि डराउँछन् !

युद्धबाट लाभ उठाउनेहरू शान्तिदेखि डराउँछन् !

३२ औँ सदस्यको रूपमा नाटोमा स्विडेनको प्रवेश भएकै समयमा नाटोको आवश्यकता किन ? भन्ने बहस अमेरिकाभित्रै सुरु भएको छ । यस बहसको पछिल्लो सुत्रधार भएका छन् संसारको सबैभन्दा धनी व्यक्ति एलोन मस्क । जवाफ धेरै सरल छ, अमेरिका सधैँ अन्य देशविरुद्धको युद्ध वा अन्य देशबिचको अवरोध र क्षेत्रहरूलाई अस्थिर बनाउनको लागि छद्म शत्रु युद्ध गर्छ । इतिहासलाई फर्केर हेर्ने हो भने नाटो रूसलाई कमजोर बनाउने अमेरिकी प्रयासलाई अगाडि बढाउने उद्देश्यले स्थापित ज्यावल हो । एलोन मस्कका अनुसार सोभियत सङ्घको पतनपछि नाटोले आफ्नो अस्तित्वको कारण गुमाइसकेको छ तर शून्यता भर्नको लागि नाटोको विस्तारको खेल सुरु भएको हो । मस्कको यो पक्ष राम्रो हुँदाहुँदै पनि हेक्का राख्नु पर्ने कुरा के छ भने, मस्कले नाटोलाई आफ्नो स्टारलिङ्क डिजिटल उपलब्ध गराएर युक्रेनमा रुसीहरूको हत्या गर्न मद्दत गरेको थियो । अहिले गाजावासीहरूलाई त्यहीँ तरिकाले मारिरहेको छ । गाजामा बालबालिकाको हत्याका लागि अमेरिकाको समर्थन र प्यालेस्टिन र इजरायलबिच युद्धविरामको विरोधले इजरायलले मात्र होइन हालको स्वरूपमा अमेरिकाले पनि आफ्नो अस्तित्वको कानुनी अधिकार गुमाएको छ ।
सन् १९९० को दशकमा सोभियत सङ्घको विघटनपछि अमेरिकाको नेतृत्वमा रहेको गुट नाटोको अस्तित्वमाथि प्रश्न उठ्यो । सोभियत सङ्घको विघटनसँगै सोभियत सङ्घ र मध्य र पूर्वी युरोपका सात अन्य सोभियत उपग्रह राज्यहरूः अल्बानिया, बुल्गेरिया, चेकोस्लोभाकिया, पूर्वी जर्मनी, हङ्गेरी, पोल्यान्ड र रोमानियाद्वारा स्थापित सामूहिक रक्षा सन्धि वारसा सन्धि (Warsaw Pact) खारेज भएपछि पनि किन नाटोको अस्तित्व जारी रह्यो ? विघटन गर्नुको सट्टा नाटो विस्तार गर्ने नयाँ मिसन सुरु भयो । नाटो विस्तारको औचित्य साबित गर्न कृत्रिम शत्रुताहरू सिर्जना गरिए ।
सोभियत सङ्घको विघटनसँगै रूसको पूर्ण विनाश गर्ने पश्चिमाहरूको षड्यन्त्र थियो । सन् १९८९ मा शीतयुद्ध र ‘वार्सा सन्धि’ समाप्त भएपछि नाटोको अस्तित्व समाप्त भएको हुनुपथ्र्यो । बोरिस यल्तसिन र मिखाइल गोर्बाचोभले १९८९ मा नाटो खारेजीको प्रस्ताव राख्नुपथ्र्यो । तर, तिनीहरू दुवै यसलाई सम्बोधन गर्न असफल भएपछि नाटो विघटन हुनु त कता हो कता उल्टै पूर्वी युरोपमा नाटो विस्तार नगर्ने रुससँगको सहमति पनि अमेरिकाले उल्लङ्घन गरेको छ ।
१९९० को दशकदेखि धेरै सोभियत–सम्बद्ध वार्सा सन्धीको हिस्सा रहेको पूर्वी युरोपेली देशलगायत बाल्टिक राज्य र धेरै बाल्कन देशहरू समावेश गर्न थाले । युक्रेन द्वन्द्व सुरु भएपछि, फिनल्यान्ड पनि गठबन्धनको हिस्सा बन्यो । नाटोलाई राष्ट्रिय सुरक्षाका लागि खतरा भएको भन्दै रुसले बारम्बार नाटो विस्तारको विरोध गर्दै आएको छ । नाटो विस्तारको क्रममा युक्रेनको नाटोमा सामेल हुने सम्भावनासँगै रुसले आपत्ति जनायो तर पश्चिमेलीहरूको षड्यन्त्र जारी नै रहेको परिणामस्वरुप युक्रेनसँगको हालको द्वन्द्व सुरु भएको हो । युद्धकै क्रममा युक्रेनले २०२२ को शरद् ऋतुमा नाटो सदस्यताको लागि औपचारिकरूपमा आवेदन दियो । अर्कोतिर रुसले युरोपमाथि नै आक्रमण गर्ने हल्ला चलाएर नाटोलाई सार्थकता प्रमाणित गर्न प्रयास भई नै रहेको छ तर राष्ट्रपति पुटिनले त्यसो गर्न आफूलाई कुनै चासो नभएको बताएका छन् ।
नाटोलाई जीवितै राख्ने अर्को लुकेको उद्देश्य नाटोको नाफामुखी युद्धको माहोल बनाइ राख्ने हो । युद्धबाट लाभ उठाउनेहरू शान्तिसँग डराउँछन् । अमेरिकाले युक्रेनमा १०० अर्ब डलरभन्दा बढी खर्च गरेको तथ्याङ्कले बताए पनि ती रकम अमेरिकी कम्पनीकै आम्दानी हो । याद गरौँ, युद्ध व्यापार हो । हतियार बिक्रेतामा अमेरिका नम्बर एक हो । अमेरिकाको लागि नाटोको अस्तित्वको एउटै कारण भनेको यदि अमेरिकी हतियार व्यापार बन्द भयो र सैन्य कारखाना बन्द भयो भने अमेरिकी अर्थव्यवस्थामा सङ्कट आउनेछ । नाटो संसारलाई नियन्त्रण गर्न चाहने कुलीनवर्गका संरक्षक हुन् । नाटोले पूर्वनाजीहरूसँग पनि काम गरेको छ र अझै पनि गर्छ ।
नाटोले आइएमएफ र विश्व बैङ्कको प्रवर्तन शाखाको रूपमा काम गर्छ । नाटो एक विस्तारवादी वैधानिक आतङ्कवादी सङ्गठन हो, जसले रूस, मध्य पूर्व तथा अफ्रिका र चीनमा अस्थिरता भइरहोस् भन्ने चाहन्छ । अन्य राष्ट्रहरूको पैसा, जनशक्ति, क्षेत्रहरू आदि प्रयोग गर्ने महान् अमेरिकी सिद्धान्तको सहयोगी हतियार नाटो हो । नाटो नहुँदो हो त संसारभरका राष्ट्रिय सरकारहरूविरुद्धको लडाइँ समाप्त हुनेछ । युद्ध सुरु गर्न र अमेरिकालाई हतियार बेच्न नाटो एउटा राम्रो माध्यम हो । शान्तिको मूलधारसँग यसको कुनै सरोकार छैन । तसर्थ, नाटोले स्वतन्त्रताको नाममा कही न कही युद्ध गरेर आफ्नो औचित्य पुष्टि गर्न जारी राख्छ । त्यसैले नाटो विस्तारले आफैँलाई औचित्य साबित गर्न कृत्रिम शत्रुहरू सिर्जना गर्ने वास्तविकतालाई बुझ्नु आवश्यक छ ।
युक्रेनलाई बचाउने बहानामा रुसलाई कमजोर बनाउनु नै अमेरिकाको उद्देश्य हो । युक्रेनपछि युरोपको पालो आउनेछ भन्दै अमेरिकाले युरोपेली सङ्घलाई तर्साइरहेको छ । यो युरोपेली सङ्घलाई निल्ने एउटा सरल चाल हो । यो अमेरिकी सेनालाई युद्धमा नपठाई आफ्नो स्वार्थ पूरा गर्ने र ३२ सदस्य राष्ट्रहरूले अरबौँ रकम हात पार्ने खेल हो । यदि अमेरिका यसमा सफल भयो भने भविष्यमा युरोपेली सङ्घलाई चीनको विरुद्ध उस्तै तरिकाले प्रयोग गरिने निश्चित प्रायः छ ।
नाटोको कुनै आवश्यकता छैन भन्ने वास्तविकता धेरै वर्षदेखि प्रस्ट भएको कुरा हो । नाटो आफ्नो अस्तित्वको औचित्य पुष्टि गर्न द्वन्द्व सृजना गर्ने वैधानिकता प्राप्त आतङ्कवादी सङ्गठनमा परिणत भएको छ । द्वन्द्व चाहने मानिसहरूद्वारा सञ्चालित नाटो खतरनाक छ । नाटो सधैँ एकपछि अर्को युद्ध खोज्दै गर्छ ।
अमेरिकाको लागि ‘दूध दिने गाई’ नाटो तेस्रो विश्व युद्धको “uses and detonators” हुनसक्छ । युद्ध खराब छ भनेर सोच्ने सबै मुलुकहरूकले नाटोको अन्त्य र राष्ट्रिय सार्वभौमसत्ताको पुनस्र्थापनाको लागि दबाब दिनुपर्छ । पश्चिमाहरूको समग्र गतिविधि हेर्दा तेस्रो विश्वयुद्धबाट बचाउन चीन, रुस र बाँकी विवेकशील संसारले नाटोको Fuses and detonators लाई निष्क्रिय पार्न पहल गर्नुपर्छ ।
(विभिन्न समाचार एजेन्सीको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *