भर्खरै :

नेक्राकिसङ्घद्वारा न्याइच्याईको स्मृति सभा

नेक्राकिसङ्घद्वारा न्याइच्याईको स्मृति सभा

भक्तपुर, १२ चैत । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा नेमकिपाका केन्द्रीय सल्लाहकार, नेक्राकिसङ्घका केन्द्रीय सदस्य एवं पूर्व नगरप्रमुख ज्ञानबहादुर न्याइच्याईको १३ औँ स्मृतिसभा सोमबार सम्पन्न भयो ।
सभामा नेमकिपाका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले नयाँ पुस्तालाई क्रान्तिकारी बनाउनु जरूरी रहेको चर्चा गर्दै नयाँ पुस्ता क्रान्तिकारी नभएमा प्रतिकृयावादीहरूले देश र जनतालाई थप दुःख दिनेछन् भन्नुभयो ।
उहाँले भन्नुभयो, “धन सम्पत्ति सबथोक होइन । नेपालका खर्बपति भनिने विनोद चौधरीले सरकारी जग्गा १० रोपनी कब्जा गरे । यो खर्बपतिलाई २०६४ सालमा एमालेले र २०७४ र २०७९ मा नेकाले प्रतिनिधिसभाको सांसद बनाए ।”
इमानदार र परिश्रमीको कमाइ हुने भए संसारमा मजदुर र किसानहरू नै धनी हुनुपर्ने थियो । तर, नेपालमा ठगहरू र कालो बजारियाहरू धनी भए । यस्ता ठगहरूले नै राजा र प्रजाको कित्ता बनाए, उहाँले भन्नुभयो ।
पशुपंछी आमाको गर्भबाट एकपल्टमात्र जन्मन्छ । मानिस दुईपल्ट जन्मिन्छन् । पहिलो, आमाको गर्भबाट जन्म हुन्छ भने दोस्रो संस्कृति वा समाजबाट जन्म हुन्छ । मानिस स्वभावले खराब हुँदैन । वरिपरिका स्वार्थी तत्वले मानिसलाई प्रतिकृयावादी र खराब बनाउँछ, सचिव सुवालले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “माहिलामाथि दुव्र्यवहार नहुने, सुत्केरी अलपत्र नहुने, चोरी–ठगी नहुने, आत्महत्या र सम्बन्ध विच्छेदसमेत नहुने उदाहरण पहिलो समाजवादी देश रूस थियो । रूसमा पुँजीवाद पुनःस्थापना भएपछि सडकमा माग्ने, बेरोजगारी, धनी–गरिबसमेत देखाप¥यो ।”
“हामी मानव जीवन विचारहीन भएर बिताउनुहुँदैन । चुनावमा पैसा, सामान र भोजको पछि लागेर शासक दलहरूमध्ये कहिले एउटालाई कहिले अर्कोलाई मत माग्ने कार्यकर्ताहरू तिहुन चखुवाजस्तै हुन् । नयाँ पुस्तालाई स्पष्ट र दृढ विचार लिने सचेत नागरिक बनाउनु अहिलेको आवश्यकता हो”, सचिव सुवालले बताउनुभयो ।
नेमकिपा भजिसका सदस्य नारायणबहादुर दुवालले पार्टी निर्देशनअनुसार देश र जनताको हितमा निःस्वार्थ सेवा गर्ने भावना भएका ज्ञानबहादुर दाइबाट सिकेर नयाँ पुस्ता अगाडि बढ्नु आवश्यक भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “धेरै पढेरमात्र निःस्वार्थरूपले देश र जनताको सेवा गर्नसक्छ भने होइन । किताबी ज्ञानको साथै व्यवहारिक सामाजिक मूल्य र मान्यताबारे जानकारी हुनुपर्छ ।”
नेक्राकिसङ्घका केन्द्रीय सचिव हरिराम सुवालले नयाँ पुस्तालाई समाज सेवा गर्ने भावना जागृत गराई अगाडि बढाउन सके भावी पुस्ता तयार हुनेछ भन्नुभयो ।
आयोजक समितिका समितिका अध्यक्ष गोविन्द दुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपेन्द्र सुवाल, केशवप्रसाद तिमिल्सिना र गङ्गाराम ज्याख्वले ज्ञानबहादुर दाइको योगदानबारे बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *