भर्खरै :

गैरआवासीय नेपालीलाई नागरिकता दिने कानुनी बन्दोबस्त खारेज गर्नुपर्ने

गैरआवासीय नेपालीलाई नागरिकता दिने कानुनी बन्दोबस्त खारेज गर्नुपर्ने

काठमाडौँ, १३ चैत । नेपालीहरू विभिन्न देशमा गएर नेपालको नागरिकता त्याग गरेर बसेकाहरू लाखौँ छन् । संसारभर छरिएर रहेका नेपाली मूलका विदेशी नागरिकहरू जसलाई गैरआवासीय नेपाली भनिन्छ तिनीहरूलाई संसद्ले नागरिकता कानुनमा संशोधन गरी आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रदान गर्ने व्यवस्था गर्याे । लामो समयदेखि सङ्घर्षरत गैरआवासीय नेपालीहरू त्यस कानुनी व्यवस्थाबाट धेरै खुसी भए र तिनीहरूले शासक दलहरू नेका, एमाले र माओवादीलाई धन्यवाद दिए ।
प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमै बोलाएर त्यही नागरिकता दिए । गैरआवासीय नेपाली नागरिकहरूलाई नागरिकता दिएको जस लिन शासक दलहरूमा एक प्रकारको हानथाप नै देखिएको थियो । नागरिकता लिएकामध्येका एक जनाले तत्कालै भने, “हाम्रो अन्तिम गन्तव्य राजनीतिक अधिकारसहितको नागरिकता हो; अब हाम्रो आन्दोलन राजनीतिक अधिकार प्राप्त नभएसम्म जारी रहनेछ ।”
अहिले भारतबाहेक अन्य तेस्रो देशमा गएर विदेशी नागरिक भएर बसेका नेपाली मूलका विदेशीहरूले सजिलै नेपाली नागरिकता पाउने भएका छन् । गैरआवासीय नेपालीहरूले विदेशमा कमाएका सम्पत्ति वा पुँजी नेपालको विकास निर्माणमा लगानी गराउने, नेपालको आर्थिक र सामाजिक विकासमा सहयोग गर्ने भने शासक दलहरूको उद्देश्य देखिन्छ । तर त्यो सपनामा मात्र सीमित हुनेछ ।
गैरआवासीय नेपालीहरूलाई नेपालको विकास निर्माणमा लगानीको ढोका खोल्नुको अर्थ तिनीहरूलाई शासन र शोषण गर्न खुला गर्नु हो । नेपालप्रति माया भएको भए नेपालको विकासमा सहयोग गर्न यसअघि केले रोकेको थियो ? नेपाली नागरिकता त्यागेर विदेशमा ऐस आरामको जीवन बिताउने, आफ्नो श्रम र सीप विदेशीको लागि खर्च गर्नेहरूले एकाएक देशको निम्ति सहयोग गर्छन् भनेर कसरी विश्वास गर्न सकिन्छ ? तिनीहरू रुस युक्रेनजस्तै युद्ध भएमा वा विदेशमा सङ्कट आए नेपालमा आउने र नेपालमा समस्या परेमा विदेशमा भाग्ने एक प्रकारको अवसरवादी मात्र हुनेछन् । तिनीहरूलाई नागरिकता दिएर नेपाल र नेपालीहरूलाई फाइदा होइन नोक्सान मात्र हुने निश्चित छ ।
विदेशमा बसेका नेपालीहरूलाई मताधिकारको व्यवस्थाबारे पनि चर्चा भएको छ । त्यसमा गैरआवासीय नेपालीहरू पनि पर्ने भए नेपालको राजनीतिमा त्यसले कस्तो असर पार्छ ? ६०–७० लाख विदेशमा बस्ने नेपालीहरू र गैरआवासीयहरूले मतदानको अधिकार पाएमा तिनीहरू स्वयं संसदको उम्मेदवार बन्ने र सांसदको रूपमा निर्वाचित हुने अवस्था आउनेछ । तिनीहरू जुन देशको नागरिकता लिएर बसेका छन् त्यहाँको राजनीतिक प्रभाव अवश्य परेको हुन्छ । त्यस्तो बेला नेपालको सार्वभौमिकतामा कस्तो असर पर्छ ? सोचनीय विषय हो ।
नेपालको संविधानमै गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था गरेको हुँदा संविधान निर्माणकै क्रममा त्यो कमजोर हुन गएको देखिन्छ । अहिले संसद्ले कानुन बनाएर सहज बनाइदिएको छ ।
नेपाली शासकहरू नागरिकता वितरणमा किन यति हतार गर्छन् ? आश्चर्यको विषय हो । यदि देशभक्तिको भावना भएको भए अरू सबै सुविधा दिएर पनि नेपाली नागरिकतामा कडाइ गर्नुपर्ने हो । संसद्ले एकातिर विदेशीलाई सहजै नागरिकता दिने राष्ट्रघाती नागरिकता ऐन बनाउँछ अर्कोतिर गैरआवासीय नेपालीलाई नागरिकता दिने कानुन बनाउँछ । वास्तवमा नेपाल र नेपाली जनताप्रति त्यो एक प्रकारको घात हो र देशघाती कदम हो । गैरआवासीय नेपालीलाई नागरिकता दिने बन्दोबस्त तुरुन्तै खारेज गर्नु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *