भर्खरै :

क्षयरोगलाई निर्मूल पार्न सम्बन्धित सरोकारवालाहरूसँग समन्वय

क्षयरोगलाई निर्मूल पार्न सम्बन्धित सरोकारवालाहरूसँग समन्वय

भक्तपुर, १४ चैत । भक्तपुर नगरपालिकाको आयोजनामा विश्व क्षयरोग दिवसको अवसरमा बुधबार अन्तरक्रियात्मक गोष्ठी सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले क्षयरोगलाई निर्मूल पार्न सम्बन्धित सरोकारवालाहरूसँग समन्वय गरी काम गरिरहेको बताउनुभयो ।
स्वास्थ्य सेवा अत्यन्त महँगो हुँदै गएको बताउँदै उहाँले स्वास्थ्य सेवा महँगिँदै जाँदा गरिब जनता उपचारबिना मर्नुपर्ने अवस्था निम्तिरहेको बताउनुभयो ।
नेपालमा स्वास्थ्य उपचारको कारण हरेक वर्ष ५ लाख मानिसहरू गरिबीको रेखामुनि झरेको तथ्याङ्क रहेको उल्लेख गर्दै उहाँले सरकारी अस्पतालहरूमा सुधार नहुँदा बिरामीहरू निजी अस्पतालहरूमा घरखेत बेचेर स्वास्थ्य सेवा लिन बाध्य बनिरहेका छन् भन्नुभयो ।
जनतालाई सहज र सुलभ ढङ्गले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले भक्तपुर नपाले १०० शय्याको ख्वप अस्पताल सञ्चालनमा ल्याएको र स्थानीय जनतासँग हातेमालो गर्दै निरन्तर जनताको सेवामा अगाडि बढिरहेको बताउनुभयो ।
राज्यले स्वास्थ्यमा निजीकरणको बाटो अपनाएकै कारण गरिब जनताले सहजरूपमा स्वास्थ्य सेवा पाउन नसकेको बताउँदै उहाँले निजी अस्पतालहरू सेवाभन्दा पनि नाफा कमाउने व्यापारिक केन्द्रको रूपमा सञ्चालन भइरहेका छन् भन्नुभयो ।
ख्वप अस्पतालको निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले क्षयरोग जनस्वास्थ्यको प्रमुख समस्याको रूपमा रहेको बताउँदै क्षयरोगीहरूको मनोबल बलियो बनाउन क्षयरोगबारे जनचेतनाको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय भक्तपुरका क्षयरोगका स्रोतव्यक्ति भोलानाथ पौडेलले प्रत्येक वर्ष मार्च २४ मा विश्व क्षयरोग दिवस मनाउनुको उद्देश्यमाथि प्रस्ट पार्दै क्षयरोगको परिचय र वर्तमान अवस्थाबारे प्रस्तुतीकरण दिनुभयो । नेपालमा क्षयरोगीहरूको तथ्याङ्क अझ भयावह अवस्थामा रहेको उल्लेख गर्दै उहाँले सन् २०५० सम्ममा क्षयरोगलाई अन्त्य गर्ने लक्ष्य रहेको बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख अस्मिता ओझा र ख्वप अस्पतालका डा. रत्नसुन्दर लासिवाले क्षयरोग सरुवा रोग भए पनि यसको उपचार सम्भव भएको बताउँदै क्षयरोग सर्ने माध्यम, जोखिम र उपचारबारे प्रस्ट पार्नुभयो ।
कार्यक्रममा भक्तपुर नपाका कार्यपालिका सदस्य र विभिन्न स्वास्थ्य केन्द्रमा कार्यरत क्षयरोगसम्बन्धी स्वास्थ्यकर्मीहरूको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *