भर्खरै :

आजदेखि एसईईको परीक्षा

आजदेखि एसईईको परीक्षा
भक्तपुर, १४ चैत । माध्यमिक शिक्षा परीक्षा (एसईर्ई) को बिहीबारदेखि सुरु हुने भएको छ । उक्त परीक्षा चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुनेछ ।
बोर्डका अध्यक्ष प्रा. डा. महाश्रम शर्माले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको भन्दै प्रश्नपत्र र उत्तरपुस्तिका जिल्लाजिल्ला पु¥याइएको जानकारी दिनुभयो ।
“भोलिदेखि देशभर एकैसाथ सुरु हुने एसईर्ई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । भयरहित भएर ढुक्कसँग परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई आह्वान गर्दछु”, शर्माले भन्नुभयो ।  उहाँका अनुसार चैत १५ गते बिहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुने परीक्षा चैत २७ गते सम्पन्न हुनेछ ।
पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । एसईर्ईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्षलगायत जनशक्तिलाई अभिमुखीकरण गरिएको बोर्डले जनाएको छ ।
परीक्षा दिने पाँच लाख बढी
बोर्डले चैत १५ गतेदेखि सुरु हुने परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ जना गरी कुल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने कक्षा १० परीक्षा नियन्त्रण कार्यालयका एसईर्ई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो ।
परीक्षामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका १५ जना परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार बाँके, चितवन, दाङ, गोरखा, इलाम, खोटाङ, सुर्खेतबाट एक/एक, पर्सा र सप्तरीबाट दुई/दुई, रूपन्देहीबाट चार जना छन् ।
परीक्षाका लागि कार्यालयले दुई हजार ६४ परीक्षा केन्द्र निर्धारण गरेको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा कम मनाङ, मुस्ताङमा एक/एक र सबैभन्दा बढी काठमाडौँमा एक सय २७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
जापानमा एक परीक्षा केन्द्र 
यस वर्षको एसईई परीक्षामा जापानबाट २३ जना सहभागी हुने परीक्षा नियन्त्रक पौडेलले बताउनुभयो । उहाँका अनुसार जापानमा रहेको एभरेस्ट स्कूलमा एक परीक्षा केन्द्रबाट १५ छात्रा र आठ छात्र गरी २३ विद्यार्थीले परीक्षा दिने भएका छन् ।
प्रश्न पत्र र उत्तरपुस्तिका जिल्लाजिल्लामा
परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र र उत्तर पुस्तिकालगायतका सम्पूर्ण सामग्री बोर्डले सम्बन्धित जिल्ला पु¥याएको छ । बोर्डले यस वर्ष पाँच लाख प्रश्नपत्र छापेको जनाएको छ ।
परीक्षा नियन्त्रक पौडेलले परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र बोर्डले देशभरका ७७ जिल्लाका प्रहरी कार्यालयमा पठाइसकेको जानकारी दिनुभयो ।
जापानको परीक्षा केन्द्रको जापानस्थित नेपाली दूतावासले परीक्षाको अनुगमन गर्ने भएको छ । जापानमा केन्द्र रहेको स्कूलको प्रिन्सिपललाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ । हुलाकमार्फतमा उत्तर पुस्तिका पठाइएको जापानमा परीक्षा सुरु हुनुअगाडि इमेलमार्फत प्रश्नपत्र पठाइने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिनुभयो ।
परीक्षाका लागि खटिँदै जनशक्ति 
बोर्डका अनुसार एसईर्ई परीक्षाका लागि प्रत्यक्षरूपमा ७७ हजार चार सय ८५ जना जनशक्ति परिचालन हुने भएका छन् । प्रतिकेन्द्र एक जनाका दरले केन्द्राध्यक्ष खटाइनेछ । देशभर दुई हजार ६४ परीक्षा केन्द्र तोकिएका छन् । त्यस्तै एक सय ५० विद्यार्थी बराबर एक जनाका दरले चार हजार एक सय २८ जना सहायक केन्द्राध्यक्ष, प्रति २० विद्यार्थी बराबर एक जनाका दरले २५ हजार दुई सय २२ निरीक्षक खटाइएको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिनुभयो ।
त्यसैगरी एक सय परीक्षार्थी बराबर एक जनाका दरले पाँच हजार ५४ परीक्षा सहायक खटाइनेछ भने ५० परीक्षार्थी बराबर एक जनाका दरले १० हजार ८१ कार्यालय सहयोगी खटाइने भएको छ । प्रत्येक परीक्षा केन्द्रमा १५ जनाका दरले ३० हजार नौ सय ६० सुरक्षाकर्मी परिचालन गरिने छ ।
परीक्षा उत्तीर्ण हुन ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने 
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट विसं २०७८ पुस ७ गते ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ जारी गरे पनि कार्यान्वयनमा आउन सकेको थिएन । यस वर्षको परीक्षामा भने बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ लागू गरेको छ ।
विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने प्रावधान रहेकामा बोर्डले यस वर्ष पहिलो पटक निर्देशिका कार्यान्वयनमा ल्याएसँगै एसईर्ई परीक्षाको नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनै पर्ने भएको छ ।
परीक्षा नियन्त्रक पौडेलले परीक्षार्थीले कम्तीमा सैद्धान्तिक विषयमा ३५ अङ्क र प्रयोगात्मकमा ४० अङ्क ल्याउनै पर्ने बताउँदै एक सय पूर्णाङ्क रहेको विषयमा ३५ र ७५ पूर्णाङ्क रहेको विषयमा २७ अङ्क ल्याउनुपर्ने जानकारी दिनुभयो ।
परीक्षा नियन्त्रक पौडेलले ३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनुपर्ने प्रावधान रहेको बताउनुभयो । उहाँका अनुसार ३५ अङ्क ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छन् ।
रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *