भर्खरै :

पाक्न लागेको हिउँदे बालीमा असिनाले क्षति

पाक्न लागेको हिउँदे बालीमा असिनाले क्षति

मलेखु (धादिङ), १८ चैत (रासस) । धादिङको उत्तरी क्षेत्रमा हावाहुरीसँगै परेको असिना पानीले हिउँदेबाली नष्ट गरेको छ । उत्तरी क्षेत्रको विकटमा पर्ने अधिकांश गाउँबस्तीमा लगाएको बाली नष्ट भएपछि किसान चिन्तित भएका छन् । वर्षदिनभरी खानका लागि लगाएको अन्नबाली क्षणभरैमै सखाप भएपछि किसान चिन्तित भएका हुन् ।
शनिबार दिउँसो परेको असिना पानीले गहुँ, मकै, जौ, सागलगायत हिउँदेबाली नष्ट गरेको गङ्गाजमुना गाउँपालिका–१ रिगाउँस्थित किचेतका दिनेश तामाङले बताउनुभयो । उहाँका अनुसार गङ्गाजमुना, खनियाबास र रूविभ्याली गाउँपालिकाका अधिकांश किसानले लगाएको बाली असिना पानीले नष्ट गरेको छ ।
फागुनको पहिलो सातादेखि लगाएको मकै, पुस महिनामा लगाएको आलु सबै कामै नलाग्ने गरी बिग्रिएको तामाङको भनाइ छ ।
मकै र आलु खेतीबाट जीविकोपार्जन गर्दै आएका यस यस क्षेत्रका किसानको खुसी असिना पानीले नष्ट पारिदिएको गङ्गाजमुना–१ ताजिमग्राङका इमान तामाङले बतानुभयो । कृषि पेसामा निर्भर हुँदै आएकाहरूको खुसी पलभरमै निराशामा बदलिएको उहाँको भनाइ छ ।
हिउँदमा कडा परिश्रम गरेर लगाएको खेती पाक्ने समयमा यसरी असिना पानीले सखाप पारेपछि यहाँका किसानलाई बर्खामा के खाने भन्ने चिन्ता परेको छ । खनियावासको झार्लाङ, रूविभ्यालीको तिप्लिङ र गङ्गाजमुनाको रिगाउँ आसपासको आलु र मकै देशभर प्रख्यात मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *