भर्खरै :

गोर्की जयन्ती मनाइयो

गोर्की जयन्ती मनाइयो

कैलाली, १८ चैत । नेपाल मजदुर किसान पार्टी जिल्ला समिति कैलालीको आयोजनामा मेक्सिम गोर्कीको १५६ औँ जन्मजयन्तीको अवसरमा पुस्तक अध्ययन गोष्ठी तथा प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा कैलालीका अध्यक्ष रमेशकुमार रावलले समाजवादी क्रान्ति सफल पार्नको लागि राजनैतिक, आर्थिक, सामाजिक, साहित्यिक र सांस्कृतिकरूपमा पार्टी कार्यकर्ताले सुझबुझका साथ अगाडि बढ्नुपर्दछ भन्नुभयो ।
उहाँले पार्टी कार्यकर्ताहरू अध्ययनशील हुनुपर्ने उल्लेख गर्दै आफूले अध्ययन गरेको विषय गाउँ गाउँका मजदुर र किसानलाई बुझाउनुपर्ने बताउनुभयो ।
नेक्राशिसङ्घ कैलालीका अध्यक्ष गुप्तबहादुर शाहीले महान् साहित्यकार गोर्कीको जीवनीबारे प्रशिक्षण दिँदै गोर्कीको २८ मार्च १८६८ रसियामा गरिब परिवारमा जन्मिनुभएको र उहाँको बुबा अरुको घरमा सफा गर्ने काम गर्नुहुन्थ्यो भन्नुभयो ।
उहाँले भन्नुभयो, गोर्की ४ वर्षको हँुदा बुवाको मृत्यु भयो  । ७ वर्षको हँुदा आमाले अर्कोसँग विवाह गर्नुभयो । उहाँ मामाघरमा हजुरआमा बुबासँग बस्नुभयो । हजुरबुबाको खराब आचरणको कारण ८ वर्षको उमेरमा घर छोडेर उनलाई आफ्नो व्यवस्था आफै गर्ने बाध्यता भयो । उनी कामको खोजीमा कम्युनिस्टहरूको सङ्गतमा पुगे जहाँ उनको भेट लेनिनसँग भएको थियो ।
उहाँले मेक्सिम गोर्कीका लेख रचनाहरू कामदारवर्गको निमित्त र जार शासनको विरुद्धमा हुने भएकोले आफ्नो लेख रचनामार्फत सोभियत सङ्घमा समाजवादी व्यवस्था ल्याउन ठुलो भूमिका निभाउनुभएको थियो भन्नुभयो ।
कार्यक्रममा नेक्रामहिलासङ्घ कैलालीका अध्यक्ष लक्ष्मी पुन, नेमकिपा कैलालीका सचिव गगन थापा, ज्योति बडुवाल, हरिकला विष्ट, कृष्णकला शाही, देविसरा अधिकारी, पदम सलामि, भक्तिप्रसाद जैशी, तारा तिरुवा, जानकी सिजापती, नेक्रायुसङ्घ कैलालीका अध्यक्ष प्रेम बडुवाल र नेक्राविसङ्घ कैलालीका अध्यक्ष हिक्मत भण्डारीले पुस्तकबारे बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *