भर्खरै :

शिक्षालाई उत्पादन श्रमसँग मिलाउनुपर्नेमा जोड

शिक्षालाई उत्पादन श्रमसँग मिलाउनुपर्नेमा जोड

भक्तपुर, २४ चैत । बासु मा.वि.मा कार्यरत शिक्षक–कर्मचारी तथा व्यवस्थापन समितिका पदाधिकारीबिच शनिबार भेटघाट तथा शुभकामना कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेमकिपाले स्थापनाकालदेखि नै शिक्षालाई उत्पादन श्रमसँग मिलाउनुपर्ने आवाज उठाइरहेको बताउनुभयो ।
शिक्षालाई उत्पादन श्रमसँग नजोडिएको कारण आज ८० लाखभन्दा बढी नेपाली विदेशी भूमिमा छन्, उहाँले भन्नुभयो ।
विद्यार्थीलाई पाठ्यक्रममा आधारित ज्ञान दिनुका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीति एवं घटनाक्रमबारे पनि ज्ञान दिनुपर्ने आवश्यकता अध्यक्ष बिजुक्छेँले औँल्याउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सांसद सुरेन्द्रराज गोसाईले समुदायमा आधारित विद्यालयले समाजसँगको सम्बन्ध राम्रो बनाउन आवश्यक गतिविधि सञ्चालन गर्नुपर्ने र विभिन्न विद्यालयका असल अभ्यासहरूको आदानप्रदान गरी स्तरोन्नतिमा जोड दिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “सिर्जनात्मक गतिविधि तथा अध्ययन–लेखनको क्षेत्रमा लाग्न विद्यार्थीहरूलाई निरन्तर उत्प्रेरणा दिनु आवश्यक छ; विद्यालय, शिक्षक र कर्मचारीले आत्मसमीक्षा, अन्तरक्रिया तथा अध्ययनमार्फत समय सुहाउँदा परिवर्तनका निम्ति तयार हुँदै योगदान गर्नु आवश्यक छ ।”
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बासुकलाले विद्यालयको गुणस्तर बढाउन शिक्षकहरूले थप मेहनत गर्नुपर्ने आवश्यकता औँल्याउँदै विद्यार्थीको परीक्षा नतिजाबारे गहन विश्लेषण गर्नुपर्छ भन्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष कृष्णबहादुर कर्माचार्य, विद्यालयका प्रअ अम्बिका न्याइच्याई, कम्प्युटर इन्जिनियरिङका संयोजक रमेश प्रजापति, सहायक प्रअद्वय राजकुमार ह्यौँमिखा र रविलाल प्रधान, मावि इन्चार्ज सुनिता घटुवा, शिक्षकहरू रामकुमार निरौला, जगतलक्ष्मी पहिजु र विष्णुप्रसाद दुमरूले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *