भर्खरै :

प्रदेशस्तरीय धिमेय बाजा प्रतियोगिता सम्पन्न

प्रदेशस्तरीय धिमेय बाजा प्रतियोगिता सम्पन्न

भक्तपुर, २४ चैत । केन्द्रीय मानन्धर सङ्घको आयोजनामा भएको वाग्मती प्रदेशस्तरीय धिमेय बाजा प्रतियोगिता शनिबार सम्पदास्थल तचपाल टोलमा सम्पन्न भयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उक्त कार्यक्रमको उद्घाटन गर्दै भन्नुभयो, “धिमेय बाजा नेवारहरूले महत्वपूर्ण जात्रा–पर्वहरूमा बजाइने मौलिक बाजा हो; यो बाजा बजाउने सीप नयाँ पुस्तामा हस्तान्तरण भइरहेको छ; आजको प्रतियोगिताले नयाँ पुस्तालाई उत्साहित गर्नेछ ।”
भनपाले संस्कृतिलाई जीवन्तता दिन हरेक वर्ष विभिन्न बाजाहरूको संरक्षण गर्दै आएको र बाजा गुरूहरूलाई सम्मान गर्दै आएको उहाँले बताउनुभयो ।
भक्तपुरमा रहेका मूर्त र अमूर्त सम्पदाहरू हाम्रो साझा सम्पत्ति हो । साझा सम्पत्तिको संरक्षण गर्ने जिम्मेवारी पनि हामीहरूकै साझा हो, प्रमुख प्रजापतिले भन्नुभयो ।
नयाँ पुस्तालाई संस्कृतिको महत्वबारे बुझाउन भनपाले स्थानीय पाठ्यक्रम बनाएर सबै विद्यालयहरूमा पढाइरहेको र यसले नयाँ पुस्तामा संस्कृति संरक्षणको चेतना जागृत हुँदै आएको उहाँले बताउनुभयो ।
प्रतियोगितामा लुनिभाः धिमे खल (सूर्यविनायक नगरपालिका, सिरूटार) पहिलो, ताथली धिमे खल खलः (चाँगुनारायण नगरपालिका) दोस्रो र श्री राज गणेश धिमे खल (मध्यपुर थिमि नगरपालिका) तेस्रो हुन सफल भए ।
पहिलो हुनेलाई नगद २५ हजार, धिमे बाजा दुई वटा, भुछ्या र सिछ्या एक–एक जोर, दोस्रो हुनेलाई नगद १५ हजार, धिमे बाजा एक वटा र भुछ्या एक जोर र तेस्रो हुनेलाई नगद १० हजार र धिमे एक वटा प्रदान गरिएको थियो ।
कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, केन्द्रीय मानन्धर सङ्घका सचिव गजेन्द्रमान मानन्धर, कार्यक्रम संयोजक तुल्सीकाजी मानन्धर, भक्तपुर जिल्ला मानन्धर युवा सङ्घका अध्यक्ष बाबुकाजी मानन्धर र केके मानन्धरले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *