भर्खरै :

पुँजीवादी व्यवस्थामा कामदार जनताको हित नहुने

पुँजीवादी व्यवस्थामा कामदार जनताको हित नहुने

भक्तपुर, २४ चैत । भक्तपुर नगरपालिका ६ नं. वडा कार्यालयको आयोजनामा शनिबार प्रवचन कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेमकिपाका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले माक्र्सवाद, लेनिनवाद र माओ विचारधाराअनुसार व्यापक जनतालाई राजनीतिकरूपले सचेत र सङ्गठित गर्दै समाजवादी व्यवस्थाको लागि आ–आफ्नो क्षेत्रबाट क्रियाशील हुनुपर्दछ भन्नुभयो ।
उहाँले कृषकहरूको उत्पादनलाई सरकारले उचित मूल्यमान्यता नदिएको भन्दै नेपाली युवाहरू सरकारको गलत नीतिले रोजगारीको नाउँमा ज्यानको जोखिम मोली विदेशी सेनामा संलग्न भइरहेको चर्चा गर्नुभयो ।
भर्पाई आन्दोलन, बाली काट्ने आन्दोलनजस्ता किसान आन्दोलनको चर्चा गर्दै उहाँले पुँजीवादी व्यवस्थामा कामदारवर्गको हित नहुने बताउनुभयो ।
किसान नेता गोविन्द दुवालले एमाले, काङ्ग्रेस, माओवादी पार्टीहरू किसान मजदुरको हितमा काम नगरी लोभलालच, भ्रष्टाचारमा लिप्त रहेको र देशको कलकारखाना निजीकरण गरी ध्वस्त पारेको प्रस्ट पार्दै न्यायाधीशहरूको नियुक्तिमा समेत दलीय भागबन्डा गरेको चर्चा गर्नुभयो ।
नेमकिपाले बहुसङ्ख्यक काम गरिखाने बहुमत जनताको समस्या समाधान गर्न निरन्तर सङ्घर्ष गरिरहेको बताउँदै उहाँले विगतको किसान आन्दोलनबारे नयाँ पुस्तालाई बताइरहनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
निःस्वार्थपूर्वक देश र जनताको सेवा गर्ने सिद्धान्तअनुसार नेमकिपाले इमानदारीपूर्वक राष्ट्रिय अन्तर्राष्ट्रिय सवालमा आवाज उठाइरहेको बताउनुभयो ।
कार्यपालिका सदस्य रोशनमैयाँ सुवालले नेमकिपाले किसान आन्दोलन, भ्रष्टाचारविरोधी आन्दोलन, शिक्षा, स्वास्थ्य, सफाइ तथा सांस्कृतिक आन्दोलन थालेको चर्चा गर्नुभयो ।
भनपा वडा नं. ६ का वडाध्यक्ष एवम् कार्यक्रमका सभापति हरिराम सुवालले विश्व प्रसिद्ध बिस्का जात्रालाई शान्तिपूर्ण बनाउन आ–आफ्नो क्षेत्रबाट योगदान गर्न आग्रह गर्दै वडावासीहरूको साथ, सहयोग र जनश्रमदानमा वडाको विकास निर्माण कार्य अघि बढिरहेको विचार राख्नुभयो ।
कार्यक्रममा समाजसेवी गोपीकृष्ण चाँगुभारी, जगनाथ सुजखु, गणेशराम थुसा र वडा सचिव सिद्धिराम अवालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *