भर्खरै :

मतको किन–बेचले भोलि देश बेचिने सम्भावना छ

 भक्तपुर, १३ मंसिर । ‘मतको किन–बेचले भोलि देश बेचिने सम्भावना छ । मत–किनबेचको समस्या नेपालमा व्याप्त छ । राजनीतिक दलहरुले लोभलाच देखाएर मत तान्ने भन्दा पनि आदर्श समाज निर्माणको लागि सक्रिय हुनु आवश्यक छ ।’ 

बिहीबार पर्यटक व्यवसायीहरूको भेलामा सम्बोधन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)ले उक्त विचार राख्नुभएको हो । उहाँले पर्यटन उद्योगको विकाससँगै देशको आर्थिक वृृद्धि र प्रतिव्यक्ति आम्दानी पनि बढ्ने भएकोले सरकारले यस क्षेत्रमा उल्लेख्य भूमिका खेल्नुपर्ने बताउनुभयो । तिब्बतको विकासले नेपालको उत्तरी क्षेत्रको र नेपालको विकास हुने बताउँदै चिनियाँ पर्यटकहरूलाई प्राथमिकतामा राखेर पर्यटक उद्योगीहरू अगाडि बढ्न सके नेपालले धेरै लाभ प्राप्त गर्न सकिने विचार व्यक्त गर्नुभयो । एमाले–माओवादी पार्टी भागबण्डामा भाग लिने र राष्ट्रघाती सम्झौताको समर्थन गर्ने पार्टी भएकोले यी दुवै वामपन्थी होइन भन्दै अध्यक्ष बिजुक्छेंले प्रतिपक्षी पार्टीहरूले सरकारको नीतिगत रुपमा आलोचना गर्ने सामथ्र्य राख्नुपर्ने बताउनुभयो । उहाँले वाम गठबन्धनलाई ठगहरूको गठबन्धन भएको बताउनुभयो । कार्यक्रममा नेमकिपा प्रदेशसभा ३ का प्रत्यक्ष उम्मेदवार सुरेन्द्रराज गोसाईंले शासक पार्टीहरूले नयाँ पुस्तालाई आर्थिक प्रलोभन देखाएर निर्वाचन प्रचारमा लगाई युवा बिगार्ने खेल भइरहेको बताउनुभयो । शासक दलहरूले आचारसंहिताविपरीत काम गर्दा पनि निर्वाचन आयोगले ती पार्टीहरूलाई कारबाही गर्न नसक्नु निर्लज्जता भएको बताउनुभयो । कार्यक्रममा संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठ, व्यवसायी विनोदचरण राय तथा उपस्थित पर्यटन व्यवसायीहरू, प्रदेश नं. ३ का प्रदेशसभा समानुपातिक उम्मेदवार सृजना सैंजू र कृतिका प्रजापतिले आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

 
 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *