निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
इलाम, ८ वैशाख । वैशाख १५ गते इलाम क्षेत्र नं. २ मा हुन गइरहेको उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीको उम्मेदवार श्यामबहादुर दर्जी (हिमाल) लाई अत्यधिक मतले विजय गराउनको लागि इलामको विभिन्न क्षेत्रमा प्रचार अभियान तीव्र चालु छ । प्रचार अभियानको क्रममा इलाम बजारका विभिन्न क्षेत्रमा जुलुस तथा घरदैलो प्रचार अभियान भइरहेका छन् ।
घरदैलोपश्चात् इलाम चोकमा सम्पन्न जनसभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा कोशी प्रदेश संयोजक उकेश कवांले ठुला दलका शासकहरूको अदूरदर्शी नीतिले गर्दा ८० लाख युवाहरू विदेशिएको चर्चा गर्दै विगतमा नेपाली काङ्ग्रेस सरकारका अर्थमन्त्री रामशरण महतले प्रत्येक निर्वाचन क्षेत्रमा दुई सय युवाहरूलाई विदेश पठाउने नीति लिएपछि नेपाली युवाहरू रोजगारी र उच्च शिक्षा लिने बहानामा नेपाली युवाहरू विदेशिएको बताउनुभयो ।
“नेपाली काङ्ग्रेसको उक्त गलत नीतिले गर्दा नेपालका गाउँहरूमात्र नभई सहरहरू पनि युवाविहीन भइरहेको छ† नेपाली काङ्ग्रेसको नीतिलाई अरू ठुला पार्टीहरूले पनि कार्यान्वयन गर्दै आएकोले देशमा बुढाबढी र बाल बच्चाहरूमात्र बाँकी रहेका छन्”, उहाँले भन्नुभयो ।
“नेपालका भ्रष्ट नेताहरूले नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिने नाममा करोडौँको भ्रष्टाचार गरेको थियो । विभिन्न काण्डमा फसेका नेता तथा कार्यकर्ताहरूलाई नाम मात्रको कारबाही भयो । नागरिकता विधयेक पास गरेर विदेशिसँग विवाह गरेर गएकी नेपाली चेलीका सन्तानलाई समेत वंशजको नागरिकता दिएको कारणले गर्दा नेपाल फिजीकरण हुने खतरा छ । सुगौली सन्धिपश्चात् नेपालका शासकहरूले गोर्खा भर्ती केन्द्र खोलेर नेपाली युवाहरूलाई विदेशीको दास बनाइरहेको छ ।” उहाँले भन्नुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभाका सदस्य सृजना सैंजुले नेपाल मजदुर किसान पार्टी भनेको इमानको राजनीति गर्ने र देश तथा जनताको सेवा गर्ने पार्टी रहेको चर्चा गर्दै नेमकिपाले देश जोगाउन आन्दोलन गरिरहेको बताउनुभयो ।
शासक दलहरूले सिद्धान्तहीन राजनीति गरिरहेको चर्चा गर्दै उहाँले सत्ताको लागि आपसी हानथापले नेपाली जनता पिल्सिएको धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “शासक दलहरूको भ्रष्ट नीतिले गर्दा अर्थतन्त्र ध्वस्त हुँदै गयो† देशको राष्ट्रिय पुँजीपतिहरू पलायन हुँदै गयो† नेपालबाट युवाहरूमात्र नभई पुँजी समेत पलायन हुँदै छ ।”
नेपालको अर्थतन्त्र विदेशिएका नेपाली युवाहरूले पठाएको रेमिट्यान्सबाट चलेको चर्चा गर्दै उहाँले रेमिट्यान्सले देश झन्झन् गरिब हुँदै जाने बताउनुभयो ।
नेमकिपाको तर्फबाट इलाम क्षेत्र नं. २ का उम्मेदवार श्यामबहादुर दर्जी (हिमाल) ले ठुला दलको आचरण र सिद्धान्त गलत भएको कारणले नै सिद्धान्तनिष्ट र राम्रो आचरण भएको पार्टी नेमकिपामात्र भएको बताउनुभयो ।
इलामेली जनताले नेमकिपाको मादल चिह्नमा छाप लगाएर शासक दलका उम्मेदवारहरूलाई सजाय दिनुपर्ने उहाँले बताउनुभयो ।
आफूले चुनाव जितेको खण्डमा नेपाकिपाले प्रकाशन गरेको चुनावी घोषणापत्र अनुसार कार्य गर्ने बताउँदै उहाँले शिक्षा र स्वास्थ्य निःशुल्क गराउन, ख्वप विश्वविद्यायल विधेयक पारित गराउन, इलामेली जनताको समस्याहरू संंसद्मा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
चुनाव प्रचारप्रसार समितिको संयोजक दिनेश खड्गीको सभापतित्वमा भएको उक्त चुनावी सभामा धन्यवाद मन्तव्य नेमकिपा मोरङका अध्यक्ष शालिकराम राउतले गर्नुभएको थियो भन्ने नेमकिपा खोटाङका अध्यक्ष भोजराज बस्नेतले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । चुनावी सभाको समापनपश्चात इलाम नगरपालिका वडा नं. ५ को विब्ल्यान्टेमा कोण सभा सम्पन्न भयो । देउमाई नगरपालिका विभिन्न वडाहरूमा जुलस तथा देउमाई नगरपालिकाको वडा नं. ४ मङ्गलबार बजारमा पनि कोण सभा सम्पन्न भयो । उक्त कोण सभालाई सम्बोधन गर्दै नेमकिपाका उम्मेदवार श्यामबहादुर दर्जीले इलामेली जनताको समस्यासँग आफू भुक्तभोगी भएको र ती समस्यालाई हल गर्नको लागि मादल चिह्नमा छाप लगाएर अत्यधिक मतले जिताउन मतदातालाई अनुरोध गर्नुभयो । इलाम क्षेत्र नं. २ को चुलाचुली गाउँपालिकाका वडा नं. २, ३ र ४ वडाहरूमा पनि घरदैलो कार्यक्रम सम्पन्न भयो । उक्त घरदैलो कार्यक्रममा मतदाताहरूसमक्ष उम्मेदवार दर्जीले देश र जनताको सेवाको लागि तथा इलामेली जनताको समस्या संसद्मा पु¥याउनको लागि मादल चिह्नमा छाप लगाएर जिताउनको लागि अनुरोध गर्नुभयो ।
Leave a Reply