भर्खरै :

‘रुसको डिसेम्बर विद्रोह’ पुस्तकबारे अन्तरक्रिया

ललितपुर, ९ वैशाख । नेपाल क्रान्तिकारी युवा सङ्घ ललितपुरको आयोजनामा ललितपुर महानगरपालिका वडा नं. २२ बुँगमा ‘रुसको डिसेम्बर विद्रोह’ पुस्तकबारे अन्तरक्रिया भयो ।
उक्त कार्यक्रममा २ सय वर्षअगाडि सन् १८२५ को डिसेम्बरमा भएको सैनिक विद्रोहको चर्चा भएको थियो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय वैकल्पिक सदस्य एन. महर्जनले तत्कालीन रुसी राजा जार निकोलस प्रथमको अत्याचार, दमन र भूदासहरूप्रति गरिराखेको शोषणको विरुद्ध खानदान वर्गका सैनिक क्षेत्रमा काम गर्ने जर्नेल, कर्णेल, अफिसरहरूले डिसेम्बर २६, १८२५ मा सैनिक विद्रोह गरेको बताउनुभयो ।
आम जनतामा राजनीतिक चेतना नभएको कारण सैनिक विद्रोह असफल भएको चर्चा गर्दै उहाँले उक्त विद्रोहमा रणनीतिक तथा राजनीतिक त्रुटि भएको बताउनुभयो । उहाँले भन्नुभयो, “करिब एक सय वर्षपछि सन् १९१७ मा त्यही डिसेम्बर विद्रोहबाट शिक्षा लिई तत्कालीन दमनकारीहरूलाई समाजवादी क्रान्ति गरेर बदला लिने कार्य लेनिनको नेतृत्वमा भयो ।”
नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय सदस्य सुवर्ण शाक्यले विद्रोहीहरूलाई अत्यन्त कठिन सजाय दिएको चर्चा गर्दै त्यसमध्ये ५ सेनालाई फाँसी र १२१ जनालाई साइबेरियामा कालापानीको सजाय दिएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “दर्जनौँ महिलाहरूले आफ्नो पतिसँगै साइबेरिया पुगी ३० वर्षसम्म विद्रोही बन्दीहरूलाई आवश्यक सहयोग गरेका थिए ।”
कार्यक्रममा नरेश महर्जन, कवीन्द्र डंगोल, जगतराम महर्जनले हरेक घटनाबाट हामीले सिकेर नेपाली युवाहरूलाई सचेत र सङ्गठित गरी नेपालमा पनि विद्रोहको आवश्यकताबारे चर्चा गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *