भर्खरै :

पुँजीवादी तत्वहरूको विरोध गरिनुपर्दछ

पुँजीवादी तत्वहरूको विरोध गरिनुपर्दछ

देश सामन्ती अर्थतन्त्रबाट पुँजीवादी अर्थतन्त्रतिर अग्रसर हुँदै छ । यसको अर्थ नेपाली समाजमा पुँजीवादको विकास हँुदै छ । पञ्चायती प्रशासन पनि त्यसअनुसार पुँजीवादउन्मुख हुँदै छ । थिचोमिचो र आर्थिक लोभलालचको उपायबाटै पञ्चायती सरकारले जनताको सङ्घर्षलाई थिच्ने र मोड्ने गर्दै आएको छ । क्रान्तिकारी तरिकाबाट समाजलाई फेर्ने ठाउँमा सुधारको उपायलाई बढावा दिई क्रान्तिको आवश्यकता र सम्भावनालाई निस्तेज पार्ने उपायलाई बढावा दिँदै छ । पञ्चायती सरकार जीवनको हरेक क्षेत्रमा विभिन्न देशका विदेशी सल्लाहकारहरूबाट काम गर्छ । सरकारको क्रान्तिविरोधी ती सबै गतिविधिलाई असफल पार्न हामीले पार्टी कार्यकर्ता, समर्थक र जनताको माझमा क्रान्तिकारी सिद्धान्तलाई प्रचार गर्नु आवश्यक छ ।
सुधारवादको विरोधमा क्रान्तिकारी भावनाको झण्डालाई माथि उचाल्दै लान सैद्धान्तिक र व्यवहारिक क्षेत्रमा हामीले एक जिल्लालाई प्रयोगको रूपमा लिँदै छौँ । हाम्रो सफलताले देशका बहुमत कामदार जनताको जीवन अझ अगाडि बढ्नेछ । हाम्रो असफलताले देशका सारा कामदार जनताको सङ्घर्ष अझ पछि पर्नेछ । तर, सैद्धान्तिक र सङ्गठनात्मक रूपबाट हामीले एक जिल्लालाई आवश्यक मात्रामा अगाडि बढाउन सकेका छैनौँ ।
प्रतिक्रियावादी सङ्घ–संस्थामा गई जनताको सेवा गरी त्यसलाई उदाङ्ग्याउने हो वा ‘बहिष्कार’ गरी त्यसलाई उदाङ्ग्याउने हो भन्ने प्रश्न नै केही वर्षदेखि नेपाल कम्युनिस्ट आन्दोलनमा मुख्य छलफलको विषय भई आएको छ । २–४ वर्षको सैद्धान्तिक सङ्घर्ष, विरोधी र आफ्नो पक्षको स्थिति र व्यवहारिक अनुभवपछि नेपाल कम्युनिस्ट आन्दोलनको बहुमत पक्षले ‘बहिष्कार’ गलत हो भन्ने कुरा स्वीकार गरिसकेको छ ।
प्रतिक्रियावादी सङ्घ–संस्थामा गई जनताको सेवा गर्ने र त्यसलाई उदाङ्ग्याउने कुरामा भक्तपुरको पार्टी अगाडि देखिँंदै आएको छ । भक्तपुरको पार्टीलाई त्यसको तुलनात्मक अध्ययन छ । त्यसको पक्ष र विपक्षमा केही व्यवहारिक अनुभव छ । प्रतिक्रियावादी सङ्घ–संस्थामा गई जनताको सेवा गर्ने र उदाङ्ग्याउने पक्षको सैद्धान्तिक कुरा पार्टीले आफ्नो साहित्यमा पहिले नै प्रचार गरिसकेको छ । त्यसको नकारात्मक पक्षलाई पनि पार्टीले बेवास्ता गर्नु हुन्न । त्यसको नकारात्मक कुराहरू यी हुन् –
(क) सैद्धान्तिक र सांस्कृतिक स्तर उठी नसकेको वा सानो पुँजीवादी दृष्टिकोणबाट पार्टी कार्यकर्ताहरू उठी नसकेको हुँदा प्रतिक्रियावादी सङ्घ–संस्था र प्रशासनको सम्पर्कबाट पाइने आर्थिक र अन्य सहुलियतको कारणबाट कार्यकर्ताहरूमा क्रान्तिको महान् उद्देश्त्न्दा साँघुरो सुधारवादी दृष्टिकोण र आफ्नो सानो स्वार्थलाई महत्व दिने प्रवृत्तिको विकास हुन्छ । सरल शब्दमा त्यसलाई ‘महमा परेको माखो’ वा ‘गुलियो भुलियो’ भन्ने वाक्यांश वा उखानसँग दाज्न सकिन्छ ।
(ख) जनताको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनैतिक स्तर उठी नसकेको हँुदा प्रतिक्रियावादी सङ्घ–संस्थामा गएका कार्यकर्ताहरूको चरित्रलाई बिगार्ने र तिनीहरूको व्यक्तिगत महत्वाकाङ्क्षालाई बढाई दिने काम हुन्छ । त्यसबाट कार्यकर्ताहरूमा व्यक्तिवादी वा ‘मै हुँ’ भन्ने स्वभाव र चरित्रलाई नराम्रोसँग बढाई दिन्छ ।
(ग) यी दुवै कारणबाट प्रतिक्रियावादी सङ्घ–संस्थामा गएका कार्यकर्ताहरूले ‘पार्टी र प्रतिक्रियावादी सङ्घ–संस्था फरक छ’, ‘त्यहाँ पार्टीको नीतिअनुसार काम गर्न गा¥हो छ’, ‘पार्टीको निर्देशन त्यहाँ लागू हुन्न’ भनेजस्ता कुराहरू अगाडि सारी उदारवादलाई बढावा दिन्छ । त्यसबाट वर्षाँैसम्म आफ्नो जहान परिवार र स्वार्थलाई त्यागी काम गरेका कार्यकर्ताहरूको रगत र पसिनाबाट केही व्यक्तिले फाइदा उठाउँदा पार्टीमा फुट आउँछ, क्रान्तिकारी जनतामा निराशा आउँछ र साधारण जनतामा भ्रम फैलिन्छ, क्रान्ति, देश र जनतालाई धोखा हुन्छ र प्रतिक्रियावादी (सामन्तवाद, पुँजीवाद, साम्राज्यवाद र पञ्चायती व्यवस्था) लाई सहयोग पुग्छ । सिद्धान्त, क्रान्ति र पार्टीलाई ठीक उल्टो असर पर्छ ।
माथिका नकारात्मक पक्षहरूबाट पार्टीलाई जोगाउने उपाय के हो ? त्यसलाई जोगाउने केही उपाय तल लेखिएका छन् –
(क) पार्टी कार्यकर्ता, समर्थक र जनताको सैद्धान्तिक, सांस्कृतिक र राजनैतिक स्तरलाई उठाउने,
(ख) सामन्तवाद, पुँजीवाद, साम्राज्यवाद र छोटोमा विभिन्न रूपका सरकार विरोधी सङ्घर्षलाई चालू गर्दै जाने,
(ग) मजदुर सङ्गठन, किसान सङ्गठन, युवक सङ्गठन, विद्यार्थी सङ्गठन, प्रतिक्रियावादी सङ्घ–संस्थामा घुसेका साथीहरूको अलग–अलग सङ्गठन बनाउने, त्यसमा पार्टी नेतृत्वलाई बलियो बनाउँदै जाने र पार्टी सङ्गठनलाई झन्झन् गुप्त बनाउँदै जाने, वर्गसङ्घर्ष, पार्टी प्रचार र सङ्गठनलाई विकास गर्दै जाने । यहाँ वर्गसङ्घर्ष र जात–पातको भेदलाई छुट्याउनुपर्दछ ।
त्यसो नगर्दा केही चलाख व्यक्तिहरूमा पुँजीवादी स्वार्थले विकास गर्नेछ र तल्लो वर्गलाई नै क्रान्तिको निम्ति तयार पार्ने उद्देश्य सफल हुँदैन । यसकारण, पार्टीभित्र आउन सक्ने पुँजीवादी स्वार्थको विरोधमा सङ्घर्ष गर्नुपर्दछ ।
(यो हस्तलिखित पत्रिका २७ माघ २०४० मा प्रकाशित ‘मजदुर–किसान’ बाट साभार गरिएको हो । यसमा सामान्य भाषागत सम्पादन गरिएको छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *