भर्खरै :

संयुक्त राष्ट्र सङ्घ अमेरिकाको कठपुतली नहोस्

संयुक्त राष्ट्र सङ्घ अमेरिकाको कठपुतली नहोस्

काठमाडौँ, १३ असोज । ठुला शक्ति राष्ट्रहरूले अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गरे पनि संयुक्त राष्ट्र सङ्घले केही बोल्न नसकेको कारण संसारका स्वाधीन र सार्वभौम मुलुकहरू असुरक्षित भएको राजनीतिक विश्लेषण छ । विश्वमा शान्तिको सन्देश छर्न र विश्वलाई सुरक्षित बनाउन अग्रसर हुनुपर्ने संयुक्त राष्ट्र सङ्घ आतङ्क मच्चाउने शक्ति राष्ट्रहरूको प्रभाव र दबाबमा परेको कारण विश्व असुरक्षित भएको हो । संयुक्त राज्य अमेरिका विश्वमा एकपछि अर्को आतङ्क मच्चाउँदै अघि बढ्दै छ । अमेरिकी आक्रमण र हस्तक्षेपको विरोधमा संसारका जनताको विरोध भए पनि संयुक्त राष्ट्र सङ्घ कानमा तेल हालेर बसेको छ । संयुक्त राष्ट्र सङ्घबाट साम्राज्यवादी देशहरू अमेरिका, इजरायल बेलायत, फान्स तथा जापानजस्ता देशहरूले फाइदा लिँदै छन् । संयुक्त राष्ट्र सङ्घ आफ्नो अधिकार प्रयोग गर्न पछि हट्नु हुँदैन । पछि हटेकै कारण युद्ध भड्केको हो । धन जनको क्षति भएको हो ।
हरेक देश सार्वमौमसत्ता सम्पन्न हुन्छ । हरेक देशको स्वतन्त्रताको सम्मान गर्नुपर्छ । हरेक देशको भौगोलिक अखण्डता हुन्छ । कुनै पनि स्वाधीन देशमा आक्रमण या हस्तक्षेप गर्न हुँदैन । सबै देशले अन्तर्राष्ट्रिय मूल्य र मान्यता पालना गर्नुपर्छ । विश्व शान्ति कायम गर्न, मानव अधिकारको रक्षा गर्न, विश्वका जनतालाई सुरक्षित बनाउन, अन्तर्राष्ट्रिय कानुन लागू गर्न संयुक्त राष्ट्र सङ्घ जुट्नुपर्ने हो । तर, विडम्बना ¤ शक्तिशाली राष्ट्रहरूको दबाब र प्रभावमा संयुक्त राष्ट्र सङ्घ परेको कारण विश्व असुरक्षित बनेको हो । संसारमा देश साना ठुला हुन्छन्† बलिया निर्बलिया हुन्छन्† सम्पन्न विपन्न हुन्छन् । तर, हरेक देशको आ–आफ्नो अधिकार, मूल्य र मान्यता हुन्छ । बलियोले निर्बलियोलाई आक्रमण गर्ने, दबाउने, बेपत्ता पार्ने, हत्या गर्ने काम कुनै पनि मुलुकको लागि सह्य हुँदैन ।
संयुक्त राष्ट्रसङ्घले कुनै देशसामु नझुकिकन आफूसँग भएको अधिकार इमानदारीपूर्वक प्रयोग गरेमा एउटा देशले अर्को देशलाई आक्रमण गर्नेछैन; जबरजस्ती आक्रमण नै गरे पनि रोक्न सकिन्छ । संयुक्त राष्ट्र सङ्घ कुनै पनि देशको दबाबमा झुक्नु हुँदैन; कुनै देशको उठबसमा चल्नु हुँदैन । अहिले संयुक्त राष्ट्र सङ्घ अमेरिकाकै इसारामा रहेको छ । अमेरिका आफ्नो कुरा नमान्ने देशलाई ध्वस्त पार्ने चेतावनी दिन्छ । अरु देशमा रहेको तेल खानी आफ्नो हातमा लिन दबाब दिन्छ । तेल आफ्नो कब्जामा लिन आक्रमण गर्छ । यो अमेरिकी प्रशासनको कुनियत हो; शक्तिको अभिमानी हो । शक्तिको अहङ्कार देखाएर अरु देशमा आक्रमण गर्ने काममा अमेरिका अग्रस्थानमा छ । अतः अन्तर्राष्ट्रिय शान्ति सुरक्षा कायम गर्ने, गराउने विविध क्षेत्रमा सहयोग गर्ने तथा मानव अधिकार र मौलिक स्वतन्त्रता दिलाउने उद्देश्यले स्थापित संयुक्त राष्ट्र सङ्घ अमेरिकाको कठपुतली बनेको कारण विश्वका मुलुकहरू अमेरिकाको विरोधमा गएका छन् ।
इजरायल–प्यालिस्टिन, युक्रेन र रुस तथा इजरायल र इरान युद्ध अमेरिकाकै कारण भएकोमा शङ्का छैन । संसारमा अमेरिकाकै साथ र सहयोगमा धेरै देशमा आक्रमण भयो; कति राष्ट्र प्रमुखहरूको हत्या भयो । तर, विश्वमा शान्ति ल्याउन स्थापित संयुक्त राष्ट्र सङ्घ हे¥या हेरै भयो । अमेरिकी हस्तक्षेप, आक्रमण र दमनको स्थिति हेर्दा संयुक्त राष्ट्र सङ्घ र संसारका देश मिलेर अमेरिकालाई आर्थिक नाकाबन्दी गर्नुपर्ने हो; घेराबन्दी गर्नुपर्ने हो । अब बस्ने सुरक्षा परिषद् महासभाको बैठकमा यस्ता स्वतन्त्रता, सम्प्रभुताको विषयमा गहन छलफल गर्नुपर्छ । सुरक्षा परिषद्मा शक्तिशाली राष्ट्र अमेरिकाको दबाबमा संसार चल्नु हुँदैन; चलाउनु हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *