भर्खरै :

महत्वपूर्ण सडकखण्ड कहिले सुधार हुने ?

महत्वपूर्ण सडकखण्ड कहिले सुधार हुने ?

प्राचीन कला, संस्कृति, सफा गल्ली र आत्मनिर्भर विकास पद्धतिका कारण भक्तपुर नगरपालिका आज देशभर नै एक उदाहरणीय र नमुना स्थानीय तहका रूपमा स्थापित छ । शिक्षामा स्थानीय तहबाटै कलेजहरूको सञ्चालन, सस्तो र प्रभावकारी नगर स्वास्थ्य सेवा, ऐतिहासिक सम्पदाहरूको मौलिक शैलीमै पुनर्निर्माण तथा घरघरबाट फोहोर सङ्कलन गरी सहरलाई सफा राख्ने कार्यमा भक्तपुरले देखाएको अग्रसरता साँच्चिकै प्रशंसनीय छ । यही कुशल व्यवस्थापनका कारण देश–विदेशमा यसको चर्चा हुने गर्छ । यति हुँदाहुँदै नगरकोट सडकले गर्दा आलोचना गर्ने अवस्था कायमै छ ।
यो पर्यटकीय बाटो हुनाले र दैनिक हजारौँ नागरिक हिँड्ने मुख्य सडक खण्ड वर्षौँदेखि जीर्ण र अस्तव्यस्त अवस्थामा छ । घाम लाग्दा आँखा नदेखिने गरी उड्ने धुलो र पानी पर्दा हिँड्नै नसकिने गरी जम्ने हिलोले गर्दा स्थानीय बासिन्दा, यात्रु र व्यापारीहरूले चरम सास्ती व्यहोर्नु परिरहेको छ । यो आवतजावतको असुविधामात्र नभएर जनस्वास्थ्यमाथिको गम्भीर खेलबाड पनि बनेको छ । दैनिक रूपमा धुलो र प्रदूषणको चपेटामा पर्दा स्थानीय नागरिकहरूमा श्वासप्रश्वास, दम, छाला र आँखासम्बन्धी रोगहरूको जोखिम तीव्र रूपमा बढिरहेको छ ।
यस्ता समस्याको मुख्य जड सडक निर्माणको क्षेत्राधिकार र प्रशासनिक अन्योल हो । सहायक तथा प्रादेशिक मार्गहरू प्रदेश सरकारको मातहतमा हुन्छन् र स्थानीय भित्री सडकहरू मात्र स्थानीय तहको जिम्मामा रहन्छन् । भक्तपुर भएर जाने केही प्रमुख सडक खण्डहरू सङ्घीय सडक विभाग वा प्रदेश पूर्वाधार कार्यालयको क्षेत्राधिकारभित्र पर्ने भएकाले बजेट विनियोजन, ठेक्का प्रक्रिया र अनुगमनमा स्थानीय सरकारको पनि भूमिका हुनुपर्छ । तर, बाटो प्रयोग गर्ने सर्वसाधारण नागरिकका लागि यो केन्द्रको हो, प्रदेशको हो वा नगरपालिकाको हो भन्ने प्राविधिक कुराले कुनै अर्थ राख्दैन† उनीहरूलाई त केवल सुगम र सुरक्षित बाटो चाहिएको छ । वास्तवमा यो सडकको दुरवस्थाका बिच थपिएको अर्को पीडादायी पाटो भनेको सडक बत्तीको समस्या हो । खाल्डाखुल्डीले भरिएको बाटोमा रातिको समयमा सडक बत्ती नहुँदा दुर्घटनाको जोखिम उच्च हुन्छ । तर, विडम्बना ¤ बक्यौता महसुल वा अन्य प्राविधिक कारण देखाउँदै नेपाल विद्युत् प्राधिकरणले सडक बत्तीको लाइन काटिदिने परिपाटीले समस्यालाई झनै विकराल बनाएको छ । रातको समयमा सडक पूरै अन्धकारमय बन्दा महिला, बालबालिका, वृद्धवृद्धा तथा आकस्मिक काममा हिँड्ने बटुवाहरू ठुलो असुरक्षा र डरको वातावरणमा यात्रा गर्न बाध्य छन् ।
कुनै पनि स्थानीय तहको समग्र समृद्धि भौतिक पूर्वाधारको पूर्णता र नागरिकको दैनिक जीवनयापनको सहजतासँग जोडिन्छ । वाग्मती प्रदेश सरकार सडकको कालोपत्रे कार्य युद्धस्तरमा सम्पन्न गर्न सबै सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण हुनु जरुरी छ, ताकि भक्तपुरको विकास साँच्चिकै पूर्ण र जनमैत्री बन्न सकोस् ।
– एक स्थानीय, कमलविनायक भक्तपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *