भर्खरै :

नेक्रामसङ्घ सुर्खेतको जिल्ला सम्मेलन सम्पन्न

नेक्रामसङ्घ सुर्खेतको जिल्ला सम्मेलन सम्पन्न

सुर्खेत, २२ वैशाख । नेपाल क्रान्तिकारी मजदुर सङ्घ सुर्खेतको प्रथम जिल्ला सम्मेलन सम्पन्न भयो ।
सम्मेलनको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नर्मा गुरुङले भन्नुभयो, “मजदुर सङ्गठनभित्र रहेका काँचा र कोरा समाजवादी विचारलाई खण्डन गरेर एक वैज्ञानिक समाजवादी सिद्धान्त अघि बढाउन सन् १८४७ जूनमा लण्डनमा महासभा भयो । एङ्गेल्सले कार्लमाक्र्सको विचारअनुसार सभा सञ्चालन गर्नुभयो । त्यस बैठकले नयाँ सङ्गठन निर्माण गर्ने निधो गर्दै एक केन्द्रीय समिति चुन्ने, सबै सङ्गठनहरू सञ्चालन गर्ने, सङ्गठनको खर्च व्यहोर्ने, सदस्यले समाजवादी विचार प्रचार गर्ने, नियम पालन नगर्नेलाई पार्टीबाट निकाल्ने, जातीय र क्षेत्रीय कुरा उठाउन नपाइने कानुन बन्यो । सभाले न्यायसभाको ठाउँमा कम्युनिस्ट, सबै देशका दाजुभाइ भन्ने ठाउँमा विश्वका मजदुरहरू एक हौँ भन्ने राखियो ।”
उहाँले भन्नुभयो, “मजदुर नेतालाई फासी दिइएको ७ वर्षपछि पुँजीवादीको अदालत र त्यहाको सरकारले पछुताएको थियो । तर, निर्दोषले सजाय र दोषीले इनाम पाएका थिए ।”
नेपाल मजदुर किसान पार्टी जिल्ला समिति सुर्खेतका अध्यक्ष हरिबहादुर बोहराले सन् १८८९ मा पेरिसमा संसारका मजदुरहरूको बैठकले एक १ मे लाई अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवस मनाउने निर्णय भएअनुसार आज संसारका मजदुर–किसान न्यायप्रेमी जनता मे १ लाई सम्झँदै छन् भन्नुभयो ।
निरकबहादुर शाहीको अध्यक्षतामा भएको सभामा नेमकिपा वीरेन्द्र नगर समितिका अध्यक्ष शेरबहादुर शाही, नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय उपाध्यक्ष लालबहादुर थापा, किसान सङ्घका केन्द्रीय सदस्य प्रेम थापा, महिला सङ्घका जिल्ला अध्यक्ष तुलसी खड्का, मजदुर सङघका केन्द्रीय सदस्य अकल राना, शिवराज दाहाल, मजदुर सङ्घ बाँकेका खड्कबहादुर थापा, दैलेखका प्रतिनिधि खड्क कठायत, मजदुर सङ्घ सुर्खेतका कविराम खड्का, अङ्गबहादुर शाही, मुनबहादुर विश्वकर्मा, प्राध्यापक समाजका टीकाप्रसाद पोखरेल, विद्यार्थी आकृति शाहीले बोल्नुभयो । बन्द सत्रबाट निरकबहादुर शाहीको अध्यक्षतामा नेपाल क्रान्तिकारी मजदुर सङ्घ जिल्ला समिति निर्वाचित भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *