भर्खरै :

जनताको चेतनास्तर नउठेसम्म समाजमा परिवर्तन असम्भव : अध्यक्ष बिजुक्छेँ

जनताको चेतनास्तर नउठेसम्म समाजमा परिवर्तन असम्भव : अध्यक्ष बिजुक्छेँ

भक्तपुर, २३ वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले समाजको विकास र परिवर्तनमा मजदुरवर्गको योगदान र भूमिका उल्लेखनीय रहेको चर्चा गर्दै क्रान्तिकारी नेताहरूको जीवनी अध्ययनमा नयाँ पुस्तालाई प्रेरित गर्दै लानुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज तथा ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा भएको १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित प्रवचन कार्यक्रममा बोल्दै उहाँले सबै विषयमा आलोचनात्मक दृष्टिकोणको खाँचो रहेको औँल्याउँदै जनताको चेतनास्तर नउठेसम्म समाजमा परिवर्तन सम्भव नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “पुँजीवादी पार्टीहरूले कामदारवर्गको पक्षमा बोल्दैनन्, कामदारवर्गले पुँजीवादी पार्टीको विरोधमा वैचारिक सङ्घर्ष गर्न कहिल्यै छोड्नुहुन्न ।”
नक्कली कम्युनिस्टहरूले मजदुर आन्दोलनलाई कमजोर बनाउने कार्य गर्दै आइरहेको बताउँदै उहाँले विदेशीहरूले नेपालमा आफ्नो स्वार्थबिना लगानी नगर्ने र विदेशी लगानी देशलाई उपनिवेश बनाउने माध्यम भएको बताउनुभयो ।
अन्तर्राष्ट्रिय परिस्थितिले नेपालमा पनि प्रभाव पर्ने विषय जोड्दै उहाँले छिमेकी मुलुक भारत स्वतन्त्र नभएसम्म नेपाल स्वतन्त्र हुने सम्भावना नभएको उल्लेख गर्दै उहाँले मजदुुर किसानलाई राजनीतिक रूपबाट शिक्षित पार्ने कम्युनिस्टहरूको मुख्य दायित्व हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले लगानी बोर्ड विधेयक पािरत गर्ने बेलामा नेमकिपाले चर्को विरोध गरेको स्मरण गर्दै विदेशी लगानीले नेपाल साम्राज्यवादीहरूको नवउपनिवेश बन्ने खतरा सिर्जना भएको बताउनुभयो ।
माक्र्स र एङ्गेल्सले सन् १८४८ मा कम्युनिस्ट घोषणापत्र लेखेर वर्गसङ्घर्षको माध्यमबाट पुँजीपतिवर्गको सत्ता मजदुरवर्गले हातमा लिन सकिन्छ भन्ने नयाँ विचारको सुरुवात गरेको बताउँदै उहाँले कम्युनिस्ट घोषणापत्र अध्ययनले संसारका आधाभन्दा बढी मानिसहरू आआफ्नो देशमा समाजवाद स्थापना गर्न पुँजीपतिवर्गको विरुद्ध लडिरहेका छन् भन्नुभयो ।
नेपालका कम्युनिस्ट पार्टीहरूले कम्युनिस्टको सिद्धान्त र विचारअनुसार काम गर्न नसकेको बताउँदै सरकारमा जाने, सत्तामा बस्ने सोचले देश विदेशीको नियन्त्रणमा जान सक्ने खतरा निम्तिएको उहाँले बताउनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले मजदुर आन्दोलनको पृष्ठभूमिबारे प्रस्ट पार्दै शासक दलबाट जनतामाझ कम्युनिस्ट विचारबारे वितृष्णा जगाउने कार्य हुँदै आएको बताउनुभयो । मे दिवसबारे व्यापक छलफल आवश्यक भएको बताउँदै उहाँहरूले मजदुर आन्दोलनले मजदुरको हकहितको निम्ति आवाज उठाउँदै आएको बताउनुभयो ।
कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका उपप्राचार्य डा. सुवेगमान बिजुक्छेँले ‘मोदी फासीवाद’ इ. नरेश खत्रीले ‘मजदुर आन्दोलनको इतिहास’ बारे जानकारी दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *