भर्खरै :

गत वर्ष उपद्रो हुनुमा तत्कालीन सरकारमा बसेको एमाले र नेपाली काङ्ग्रेस दोषी

गत वर्ष उपद्रो हुनुमा तत्कालीन सरकारमा बसेको एमाले र नेपाली काङ्ग्रेस दोषी

बाँके, १४ असोज । नेपाल मजदुर किसान पार्टी बाँकेले बुधबार नेपालगञ्जमा प्रशिक्षण तथा ‘श्रमिक साप्ताहिक’को अन्तरक्रिया कार्यक्रमको आयोजना ग¥यो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले गत वर्ष भदौ २३ र २४ गतेको उपद्रो हुनुमा तत्कालीन सरकारको नेतृत्वमा बसेको एमाले र सहयोगी नेपाली काङ्ग्रेस दोषी छन् भन्नुभयो ।
“भदौ २४ गते बिहान राजीनामा नदिने अडान राखेका तत्कालीन प्रधानमन्त्री ओली देश जलिरहँदा सोही दिन अपराह्न राजीनामा दिएर १२ दिन गुमनाम भएर देश र जनताप्रति घात भएको तथा भदौ २६ गते राष्ट्रपतिलाई संसद् बाहिरबाट प्रधानमन्त्री चयनको सिफारिस गरेको पनि देशघात हो”, सचिव सुवालले स्पष्ट गर्नुभयो ।
उहाँले भन्नुभयो, “राष्ट्रपति पौडेलले गत वर्ष भदौ २७ गते संविधानविपरीत पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रम चयन र प्रतिनिधिसभा विघटन गरेको पनि देश र जनताको हितमा होइन ।”
सचिव सुवालले भन्नुभयो, “संयुक्त राष्ट्र सङ्घमा इजरायलका प्रधानमन्त्रीले बोल्न लाग्दा ७७ ओटा देशका प्रतिनिधिहरू बैठक बहिष्कार गरी निस्के । राष्ट्र सङ्घमा ट्रम्प र नेतन्याहुले प्यालेस्टिन र इरानविरूद्ध आक्रमणलाई उचित ठह¥याउन खोजेपछि इरानले दुवैको खण्डन गरेको थियो ।”
नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईंले देश र जनताको सेवा गर्न गहिरो अध्ययन गर्नुपर्नेमा जोड दिँदै वर्गीय शोषणकै कारण समाज सही बाटोमा अगाडि बढ्न नसकेको तथ्य अध्ययनबाटै पुष्टि हुन्छ भन्नुभयो ।
पुँजीपतिवर्गको स्वार्थको निम्ति भइरहेका युद्ध र नाफाको लागि खोलेका कारखानाहरूको कारण पृथ्वीको तापक्रम बढिरहेको तर्फ सचेत हुने जरुरी भएको उल्लेख गर्दै उहाँले पृथ्वीको तापक्रम बढाउन संरा अमेरिका नै मुख्य जिम्मेवार रहेको हुँदा संरा अमेरिकी साम्राज्यवादको विरोध गर्नु आवश्यक छ भन्नुभयो ।
नेमकिपा लुम्बिनी प्रदेश संयोजक हरिसुन्दर बासीले नवउदारवादी नीतिअनुसार अगाडि बढिरहेको सत्तारूढ दल कट्टर दक्षिणपन्थी रहेको चर्चा गर्दै नवउदारवादले धनीलाई धनी र गरिबलाई झन् गरिब बनाउँछ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य बखतबहादुर थापाले व्यक्तिगत स्वार्थमा केन्द्रित हुने पुँजीवादी सोच अन्त्य गर्न अध्ययन र अनुभव आवश्यक छ भन्नुभयो ।
नेमकिपा बाँकेका अध्यक्ष शेरबहादुर बिकको सभापतित्वमा सम्पन्न कार्यक्रममा शेरबहादुर शाही, भूमि महतारा, सुर्जा थापा, हीराबहादुर शाही र धनबहादुर सिजापतिले ‘श्रमिक साप्ताहिक’ मा प्रकाशित रचनाहरूको टिप्पणी गर्नुभयो ।
यसैगरी बुधबार नै कोहलपुरमा नेमकिपा बाँकेको आयोजनामा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *