भर्खरै :

देशको अवस्था खोक्रो र दयनीय

देशको अवस्था खोक्रो र दयनीय

नयाँ वर्ष २०८१ को अवसरमा चैत २६ गते हास्यव्यङ्ग्य सिस्नोपानी सांस्कृतिक समाजका चर्चित कवि, कलाकार, डाक्टर साहेबहरूको विभिन्न व्यङ्ग्यात्मक, मार्मिक, तार्किक, आकर्षक प्रस्तुतिहरूले प्रज्ञा भवन कमलादीमा दर्शक, द्रष्टाहरूलाई मनोरञ्जन प्रदान गर्नुका साथै स्तब्ध र भावुक बनाए । कलाकार मनोज गजुरेलले सहिद शुक्रराज जोशी, कलाकार चक्र दवाडीले सहिद दशरथ चन्दको अभिनय गरे । उनीहरूले सहिदहरूको भेष र रूप धारण गरेर सहिदगेटबाट हाम्रो देशमा विदेशीहरू आधुनिक फिरङ्गीको रूपमा अब गोलीगट्ठा, बन्दुक बोकेर आउँदैनन्; उनीहरू सोझै देश कब्जा गर्दैनन्; जमिन कब्जा गर्दैनन्; बरू उनीहरूले हाम्रो नेपाली संस्कृति र मौलिकता मासेर जान्छन्, हाम्रो देशलाई कठपुतली, उपनिवेश बनाउँछन् भन्दै हाम्रा शासक दल र त्यसका नेताहरूलाई खबरदारी र सचेत गराएका छन् । एमसीसी, एसपीपी, लगानीबोर्ड, नागरिकता विधेयक, जलस्रोतसम्बन्धी देशघाती सन्धि, सम्झौताहरू कालो इतिहासको रूपमा सधँै रहिरहनेछ । एनजीओ, आइएनजीओहरू हाम्रो देशमा विकास र सहयोगको नाममा पसेर साँढेले किसानको बाली सखाप पारेजस्तै हाम्रो देशको संस्कृति र मौलिकता पनि मासिरहेको नेपाली जनताले अनुभव गरिरहेकै हुन् । त्यस्ता देशघाती दलालहरूलाई देशभक्त नेपाली जनताले उदाङ्ग्याउनु आवश्यक छ ।
पोखराकी बाल कलाकार प्रियन्सा रेग्मीले देशका भविष्यका कर्णधार बालबालिकालाई बदलिँदो विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने शिक्षा, स्वास्थ्य, सुरक्षाको सरकारले ग्यारेन्टी गर्नुुपर्ने, भाग्यले हामीलाई बनाउने होइन हामीले भाग्यलाई बनाउनुपर्ने अब केही वर्षपछि छिमेकी देश चीन र भारत अमेरिकालाई उछिनेर विश्वको पहिलो र तेस्रो अर्थतन्त्रको देश बन्ने तार्किक र मार्मिक अभिव्यक्ति दिएकी छिन् । चीन र भारत अगाडि बढिरहेको हुँदा छिमेकी देशलाई भिडाउन, चीनलाई विभिन्न नाम र बहानामा घेरा हाल्न, सोभियत सङ्घलाई पछार्न अमेरिकालगायत पश्चिमी देशहरूले नेपालका शासक दल, नेता र दलालहरूलाई हतियारको रूपमा प्रयोग गर्ने प्रयास गरिरहेकोमा देशभक्त, दल र नेपाली जनताले विरोध गरिरहेका छन् । मुटु विशेषज्ञ डाक्टर भगवान कोइरालाले आफ्नो गहकिलो, सन्देशमूलक मन्तव्यमा भनेका छन्, “आफू र आफ्नो परिवारको मात्र स्वार्थ हेर्ने स्वार्थी मानिसहरूलाई बढी मुटुरोग, मस्तिष्कघात हुन सक्ने तर समाज, देशको स्वार्थ हेर्ने, निःस्वार्थ सेवाको काममा लाग्ने मानिसहरूमा त्यस्तो स्वास्थ्य समस्या हुनेछैन ।” उनीहरूमा त्यागको भावना हुने, लोभ, डर, रिस, चिन्ता सामान्यतया नहुने हुँदा त्यस्तो समस्या सा¥है कम हुन्छ । मुटुको विशेषज्ञ डाक्टरले मानिसको महत्वपूर्ण अङ्ग मुटुको उपचार, अप्रेसन गरेर मानिसलाई स्वस्थ बनाउने, मानिसको ज्यान जोगाउने, बचाउने काम गर्छ भने राजनेताहरूले सिङ्गो देश र जनतालाई स्वस्थ राख्ने र बचाउने गर्नुपर्छ ।
त्यसको लागि राजनेताहरू लेनिन, माओ, फिडेल क्यास्ट्रो, होचिमिन्हजस्तो देश र जनताको सेवाको लागि, मुक्तिको लागि दूरदर्शी, त्यागी, नैतिकवान, समर्पित, लगनशील र देशभक्त हुन आवश्यक छ । त्यसैले हिजो लुसुन, चेग्वेभारा, नर्मन बेथुन, कोर्टनिकसजस्ता डाक्टरहरू आफ्नो देशमा मात्र नभएर विश्वका व्यापक गरिब, अशिक्षित जनतालाई सताइरहेको रोग साम्राज्यवाद, उपनिवेशवाद र विस्तारवादी आक्रमणबाट जोगाउन, साथ र सहयोग गर्न स्पेन, चीन, रसिया, बोलिभिया, कंगोलगायतका देशमा गएका थिए । त्यसैले उनीहरू सफल र सम्मानित डाक्टर भएका थिए ।
चर्चित हास्य–व्यङ्ग्यकार कवि अर्जुन पराजुलीले ‘मेरो देशमा’ शीर्षकको कवितामार्फत देशको राजनीतिक नाजुक अवस्थाको चित्रण र व्यङ्ग्य गरेका छन् । उनले कवितामार्फत देशको विकृति विसङ्गतिमाथि चोटिलो प्रहार गरेका छन् । कवि पराजुलीले कवितामार्फत गरिब जनताका छोराछोरी पढ्न विद्यालय जानेबेला नदीमाथि पुल नहुँदा पढाइमा बाधा पुगेको, पढ्नबाट बञ्चित भएको अवस्थालाई व्यङ्ग्य गरेका छन् ।
वर्षात्को समयमा बाढी आएको बेला भेरी, कर्णालीलगायतका देशका अन्य क्षेत्रका विद्यार्थी भाइबहिनीहरू घण्टौँ हिँडेर ज्यान हत्केलामा राखेर नदी तर्न बाध्य छन् । कोही तुइनमा झुण्डिएर नदी तर्न बाध्य छन् । कतिपय दुर्गम गाउँघरमा विद्यार्थी भाइबहिनीहरू तुइन चुँडेर, चिप्लेर, खसेर नदीले बगाएर जीवन अर्पण गर्न बाध्य छन् । विद्यालय जाने बाटो र विद्यालय भवनको अवस्था नाजुक छ । पिपलको रूखमुनि पढाइ हुन्छ । शिक्षक समयमा पुग्दैन । शिक्षकले अनावश्यक बिदा लिन्छ । शिक्षकहरू पनि राज्यबाट पीडित छन् । त्यस्ता ठाउँमा नेताहरू बस्दैनन्; आफ्ना सन्तान त्यस्ता विद्यालयमा पढाउँदैनन् । नेताहरू राजधानी या सहरमा आएर बङ्गला बनाएर बस्छन् । त्यस्ता विद्यालयमा पढ्ने विद्यार्थीको शैक्षिकस्तर कहिले राम्रो हुन्छ ? त्यो उनीहरूको दिमागमा कहिल्यै पनि घुस्दैन । जबसम्म नेताहरू चाहे राष्ट्रपति, प्रधानमन्त्री हुन् चाहे मन्त्री, सांसद, उच्च कर्मचारी हुन् उनीहरू आफू जन्मे, हुर्केको गाउँ–ठाउँमा बस्दैनन् । आफ्ना सन्तानहरूलाई त्यही गाउँको स्कूलमा पढाउँदैनन् । तबसम्म न त्यहाँको शैक्षिक अवस्था उकासिन्छ न त आर्थिक, भौतिक, सामाजिक, शैक्षिक, सांस्कृतिकलगायत जनताको जीवनस्तर उकासिन्छ न त देशको सन्तुलित विकास नै हुन्छ । कहीँ पुल नभएर ज्यान जाने, स्कूल जान नपाउने, कहीँ खोला नभए पनि राज्यले पुल, झोलुङ्गे पुलहरू बनाएको पाइन्छ । भक्तपुरको साँगा, नगरकोटलगायत देशका अन्य क्षेत्रमा राज्यले करोडौँ, अर्बौँ खर्चेर सेल्फी खिच्ने झोलुङ्गे पुल बनाएको छ ।
कानुन सबैको लागि बराबर भनिए तापनि, कानुनले सबैलाई समानरूपले हेर्छ भनिए पनि व्यवहारमा भएको पाइँदैन । गरिबमाथि अन्याय भइरहेको तस्बिरलाई व्यङ्ग्य गर्दै कवि पराजुलीले कवितामार्फत भनेका छन्, “पुलिसले समातेपछि थुन्न गरिबलाई हतकडी लगाएर हिरासतमा लान्छ तर धनीलाई भने एम्बुलेन्समा हालेर अस्पतालमा लान्छ ।” गरिबले केही सय, हजार जरिवाना, धरौती तिर्न नसकेर अनाहकमा वर्षौँ वर्ष हिरासतमा, जेलमा बस्न बाध्य भएका समाचारहरू आइरहेकै कुरा हुन् । त्यसैले नेपालको कानुन प्रशासन सानालाई ऐन, ठुलालाई चैन भनेर त्यसै भनेको होइन ।
कवि पराजुलीको कवितांशले यसरी व्यङ्ग्य गर्छ, “मेरो देशमा भ्रष्टाचार गरेर भ्रष्टाचारको विरोध गर्छ, विरोध गरिसकेपछि फेरि भ्रष्टाचार गर्न जान्छ ।” आज देशमा भ्रष्टाचारी नै सदाचारी, इमानदारी र त्यागी भएका छन्; भ्रष्टाचारी नै नैतिकवान, धर्मात्मा र सेवक भएका छन् । भ्रष्टाचारी नै भ्रष्टाचारविरूद्धको आन्दोलन, सभा, सम्मेलन, बैठकमा अतिथि भएका छन् । उनीहरू नै गेरू वस्त्र धारण गरेर, रूद्राक्षमाला लगाएर एक नम्बरको धर्मात्मा भएका छन् । उनीहरूले भ्रष्टाचार गरेको, लुटेको पैसाले आफूलाई जनताको सेवक, समाजसेवक देखाउन कुवा, धारा, पाटी, मठ–मन्दिर, विद्यालय बनाएर सहयोग गरेको देखाएर उद्घाटन गर्न थालेका छन् । उनैले भ्रष्टाचारको विरूद्धमा घाँटी सुकाइसुकाइ, औँलो उठाइउठाइ, मुट्ठी कसीकसी चर्को भाषण दिन्छन् र भाषण दिन थालेको जनताले देखिरहेकै छन् । उनीहरूले जनतालाई कङ्गाल बनाइरहेका छन् । मञ्चमा बोलुञ्जेल सदाचारी, उपकारी, त्यागी, धर्मात्मा हुन्छन्† त्यहाँबाट बाहिरिएपछि भ्रष्टाचार गर्छन् । उनीहरू अकुत सम्पत्ति सात पुस्तालाई पुग्ने गरी आर्जन गर्छन् । भ्रष्टाचारले गर्दा आज देशको अवस्था खोक्रो र दयनीय भएको हो ।
देश बनाउँछु भन्ने नेताहरूको बोलीको ठेगान नहुँदा त्यस्ता नेताहरूलाई व्यङ्ग्य गर्दै पराजुलीले भनेका छन्, “मेरो देशमा कि बोलीको ठेगान हुन्छ कि नेताको हुन्छ ।” शासक दलका नेताहरूको बोली एकदिन पनि स्थिर हुँदैन । पद र सुविधाको लागि उनीहरू बिहान बोलेको बोली त्यही दिनको अपरान्हसम्म पनि स्थिर हुँदैन । उनीहरूको बोलीवचनलाई न त जनताको विश्वास छ न त नेपाली माटोको छ । अर्को दलहरूबिचमै बोलीको विश्वास छैन । त्यसैले पालिका, प्रदेश र सङ्घमा पद र सुविधाको लागि कुकुर झगडा भइरहेका छन्† भद्रगोल भइरहेका छन् । त्यसको भार देश र जनताले व्यहोरिरहनुपरेको छ ।
‘मेरो देशमा’ जे हुन्छ हिसाब किताबमा हुन्छ । हिसाब किताब नमिलेसम्म बाघ बाघसँग मिल्दैन, बाख्रा बाख्रासँग मिल्दैन । हिसाब किताब मिलेपछि बाघले बाख्रालाई आइ लभ यु भन्छ । बाख्रो बाघसँग डेटिङ जान्छ भनेर कवि पराजुलीले वर्तमान शासक दल र त्यसका नेताहरूको गलत सिद्धान्तहीन, विचारहीन प्रवृतिको विरोध गर्दै व्यङ्ग्य गरेका छन् । आजको देशको राजनीति विष्णुमती र टुकुचा खोलामा बगेको पानीभन्दा फोहोर भएको छ । शासक दलका अधिकांश नेताहरूको सोच, विचार, व्यवहार, परिणाम पनि त्यस्तै फोहोर दुर्गन्धित भएको जनताले अनुभव गरिरहेकै कुरा हुन् । त्यसको परिणाम देशको आज बेहाल र भताभुङ्गको अवस्था छ । चाहे दल ठुलो होस् या सानो, कम्युनिस्ट होस् या गैरकम्युनिस्ट चाहे माओवादी होस् या खाओवादी होस् उनीहरू देश र जनताको सेवा र सुविधाको निम्ति होइन† उनीहरूले जसरी पनि बढीभन्दा बढी पद, सुविधा पाउन लाजै नमानिकन राजधानीमा कम्पाउन्डसहितको बङ्गला ठड्याउन जुट्दै आएका छन् ।
“मेरो देशमा दामको अगाडि लालसलामको केही लाग्दैन र कमरेडको अगाडि कार्लमाक्र्सको केही लाग्दैन ।” भन्दै कवि पराजुलीले कम्युनिस्ट भन्नेहरू पद, पैसाको लोभमा डुबेको र त्यस्ता कम्युनिस्टहरूलाई कार्लमाक्र्सको दर्शन, विचार, सिद्धान्तको बुद्धिले केही गर्न नसक्ने कुराको व्यङ्ग्य गरेका छन् । त्यसैले हिजो देश र जनताको मुक्तिको नाममा दरिलो, कसिलो लालसलामको मुट्ठी कसेर जनयुद्धहरूमा लागेका उनीहरूको विचार, व्यवहार र परिणामले माओवादीहरूमाथि जनयुद्ध होइन धनयुद्ध गरेको आरोप लाग्दै आएको थियो । उनीहरू जसको लागि जीवनमरणको लडाइँ लडे, त्यसको ठीक उल्टो कम्युनिस्ट विचार, सिद्धान्तअनुसारको काम, व्यवहार नगरिकन पुँजीवादी विचार सिद्धान्तअनुसारको लोभमा त्यस्तो काममा फस्दै गए । उनीहरू विभिन्न अपराधको आरोपमा प्रहरीले पक्रेर जेल पठाएका समाचारहरू आइरहेका छन् । अझ कति फसिरहेका छन् । त्यसैले कवि पराजुलीले कम्युनिस्टहरूलाई दामले होइन, वास्तविक काम, कार्लमाक्र्सको कम्युनिस्ट दर्शन, विचार, सिद्धान्तअनुसार अगाडि बढ्न, देशमा आमूल परिवर्तन गर्न, रूस, चीन, उत्तर कोरिया, क्युवामा जस्तो मजदुर र किसानको राज्य व्यवस्था गर्न खबरदारी र सचेत गराएका छन् ।
उनीहरू त्यागी, इमानदार, नैतिकवान, देश र जनताको सेवक थिए, भए । त्यसैले, उनीहरूले माक्र्स, लेनिन, माओ र बीपीलाई आदर्श मान्थे । उनीहरू उनीहरूको तस्बिर छाती, घर, पार्टी कार्यालयको भित्तामा टास्थे । तर आज त्यस्तो रहेन । सबै अमेरिकी साम्राज्यवादलगायत अन्य पश्चिमी साम्राज्यवादी, पुँजीवादी देशहरूको डलर, एनजीओ, आइएनजीओमा बिके, डुबे । त्यसैले अमेरिकी राजदूत एमाले मुख्यालय बल्खुमा आउँदा भित्तामा सजिएको, टाँगिएको माक्र्स, एङ्गेल्स, लेनिन, सत्तासीन र माओको तस्बिर लुकाइयो । उनीहरूले बीपीको आदर्शलाई पनि काम, व्यवहार, परिणामले धोती लगाइदिएका छन् । किनकि उनीहरूमा त्याग र तपस्या छैन । उनीहरू दलको सिद्धान्त र आदर्शअनुसार चलेका छैनन् । दललाई जनताको सेवक भएर, कर्म गरेर देश र जनताको जीवनस्तर उठाएर माक्र्स, लेनिन, स्टालिन, माओको तस्बिर सम्झनास्वरूप जनताको मन मस्तिष्क, घर–घरमा, पार्टी कार्यालयमा, सरकारी कार्यालयमा, चोक–चोकमा जनताले टाँस्ने, टाँगिने वातावरण बनाउनुपर्ने, काम गर्नुपर्नेमा उल्टो भ्रष्टाचारको भित्तामा आफ्नो तस्बिर टाँगिन नेताहरू अगाडि बढ्न थालेकोमा कवि पराजुलीले कवितामार्फत चिन्ता व्यक्त गरेका छन् । कवि पराजुलीले चुनाव आउँदा स्मार्टसिटी आउँछ† चुनाव सकिएपछि सिटामोल पनि आउँदैन भन्दै शासक दल र त्यसका नेताहरूलाई तीखो प्रहार गरेका छन् । दलका नेता, उम्मेदवारहरूले भोट माग्दा चुनावी बैठक, सभामा दिएको वचन, प्रतिस्पर्धाहरूलाई हेर्ने हो भने आजसम्म देशमा, गाउँ–गाउँमा, हिमाल, पहाड, तराईका ठाउँ–ठाउँमा धेरै स्मार्टसिटीहरू भइसक्नुपर्ने थियो । विद्यालय, कलेज, विश्वविद्यालय, अस्पतालहरू, बाटो, पुलहरूमा पनि भइसक्नुपर्ने थियो । त्यो केबल जनताको आँखामा छारो हाल्न, भोट बटुल्न रह्यो । अब खोलो तर्ने पुल, झोलुङ्गे पुल, स्वास्थ्यचौकी, अस्पताल, बाटो, विद्यालय त के सिटामोलसमेत आएन, जनताले पाएनन् । स्मार्टसिटी भनेको व्यापार हो, जहाँ नेपालका गरिब, अशिक्षित जनता बाँच्न सक्दैनन् । नेपाली जनतालाई भक्तपुर, घान्द्रुक, बन्दीपुर, पाल्पा, तानसेनजस्तो नेपाली हावापानी, माटो सुहाउँदो, नेपालीपन झल्केको, नेपाली कला, संस्कृति झल्केको, सानो–सानो गाउँ, बाटो, सहर भए पुग्छ । जसमा नेपालीको आफ्नै पौरखले बनाएको हुँदा त्यसमा नेपाल र नेपालीको शान, मान र गौरव हुन्छ । यसरी कवि अर्जुन पराजुलीले शासक दल र त्यसका नेताहरूको गलत प्रवृत्तिलाई कवितामार्फत जनतासामु उदाङ्ग्याएर सचेत पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *