सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ३
- असार १४, २०८३
अप्रिल महिनाको १९ तारिख । क्याम्पसबाट गाडीमा साढे दुई घण्टाको यात्रापश्चात् हामी सिछुवानको चोङ ह छाङ गाउँमा पुग्दा त्यहाँको महिला सांस्कृतिक टोली हाम्रो स्वागत गर्न तम्तयार थियो । सिछुवान विश्वविद्यालयमा पढिरहेका ३४ देशका एक सत्न्दा बढी विदेशी विद्यार्थी त्यहाँ पुग्दा कार्यक्रमस्थलमा भेला भएका ज्येष्ठ नागरिकहरू ताजुब परेर सबैका अनुहार नियालिरहेका थिए । विभिन्न देश र वर्णका युवायुवती अनेकथरी भेषभूषामा देख्दा उमेरले कम्तीमा ६० कटिसकेका उनीहरूका आँखाको गहिरो उत्सुकता हेर्नलायकको थियो । गाउँको बजारकै झन्डै मध्तगको एउटा भित्री कुनामा सांस्कृतिक गतिविधि गर्न दबु बनाइएको थियो । हामी पुग्दा नपुग्दै महिला सांस्कृतिक टोलीले आफ्नो परम्परागत नृत्यको प्रस्तुति थाल्यो । दबुको एकातिरको कुनामा दुई जना बुढ्यौली उमेरका पुरुषहरू बाजा बजाइरहेका थिए । उनीहरूमध्ये एक जना चिनियाँ ठुलो दमाहा (कु) र अर्का सारङ्गी (अर्हु) बजाइरहेका थिए । नजिकै एकजना युवा सुकेको लौकाबाट बनाइएका मायाको चिनो बेचिरहेका थिए ।
चिनियाँहरूले हुलु भन्ने सुकेको लौकाको चिनियाँ संस्कृतिमा विशेष महत्व हुन्छ । हेर्दा सानो आकारको घ्याम्पोजस्तो देखिने यो सुकेको लौकालाई चिनियाँहरूले अनेक काममा प्रयोग गरेको पाउँछौँ । सुकेपछि हलुका हुने लौका चिनियाँहरूले कुनै बेला नदी तर्न प्रयोग गर्थे । चिनियाँ चलचित्र पहेँलो नदीको दुःख (ग्रिफ ओभर द एल्लो रिभर) का बुढो पात्रले लाल सेनालाई पहेँलो नदी तर्न कसैको मद्दत माग्नुभन्दा सुकेको लौकाको भर पर्न उपदेश दिन्छन् । (नेपालज्ञाता टोनी हेगनले खिचेका पुराना वृत्तचित्र हेर्दा नेपालकै कुनै जिल्लामा पनि मानिसहरूले नदी तर्न यस्ता सुकेका लौका प्रयोग गरेको देख्छौँ ।) हिजोआज भने चिनियाँ बजारमा विभिन्न साना ठुला आकारका सुकेका लौकालाई मायाको चिनोको रूपमा बेच्न राखेको देख्छौँ ।
परम्परागत बाजाको तालमा नाचिरहेका महिला कलाकारहरू उमेरले कम्तीमा पचास नाघिसकेका हुँदा हुन् । तर, मिठो मुस्कानसहित उनीहरू कति पनि नहिच्किचाई छमछम नाचिरहेका थिए । केही बेरमा उनीहरू दबु मुन्तिर झरेर त्यहाँ उभिएका सबै विदेशी विद्यार्थीहरूलाई पनि आफ्नै तालमा नचाउन थाले । चौडा चोकमा तीन चार गोलो घेरा बनाएर सबैजना चिनियाँ परम्परागत तालमा नाच्न थाले । पश्चिम नेपालमा चाडपर्वका बेला मानिसहरू चौरमा देउडा नाचेजस्तो छनक दिने त्यो दृश्य चारैतिर बसेका गाउँले बुढा बाआमाको निम्ति अभूतपूर्व मनोरञ्जन बन्यो ।

खेतमा बीउ राख्ने पर्व
यसअघि पुगेका एकाध चिनियाँ गाउँजस्तै चोङ ह छाङमा पनि युवायुवतीहरूको सङ्ख्या निकै पातलो देखियो । सांस्कृतिक कार्यक्रम हेर्न भेला भएका अधिकांश मानिस कम्तीमा ६० वर्षमाथिका थिए । चोङ ह छाङ छन्तु र छोङछिङ सहर दुवैबाट नजिक पर्ने गाउँ हो । त्यहाँबाट दुई घण्टा यात्रा गर्दा छन्तु वा छोङछिङ पुग्न सकिन्छ । त्यसकारण, गाउँका अधिकांश युवायुवतीहरू आफ्नो भविष्य खोज्न सहर पसेका थिए । चाड पर्वको बेलामा उनीहरू घर फर्कन्छन् । अरु बेला भने गाउँ बुढापाकाकै जिम्मामा छोडिएको हुन्छ ।
चोङ ह छाङ गाउँको बजारलाई सानो भन्न मिल्दैन । त्यहाँ सबैथरीका उपभोग्य सामान बेच्ने पसलहरू छन् । एउटा अस्पताल छ । एम्बुलेन्स सेवा छ । गाउँका प्रत्येकजसो घर पुग्ने बाटो उति चौडा नभए पनि पक्की छन् । गाउँबाट दैनिक आवतजावत हुने सार्वजनिक यातायात सेवा छ । तथापि, फेरि पनि कम उमेरका युवायुवतीहरू भने बाटोमा कमैमात्र देखियो । गाउँका केही घरहरूका मूल ढोकामा लगाइएको भोटेताल्चा र धेरै दिनदेखि नबढारिएको आँगन देख्दा भने सिछुवानका गाउँ घरले पनि नेपालकै गाउँहरूको नियति भोगिरहेको अनुभव हुन्छ । फलामलाई चुम्बकले तानेजस्तै काम गर्ने उमेरका युवायुवतीलाई सहरको चल्ती आर्थिक अवसरले तान्नु स्वाभाविक हो । गाउँ र सहरबिचको भेद हटाउने प्रयास सफल भएपछि भने यो समस्या समाधान हुँदो हो ।
चीनमा सहरमा बस्ने मानिसले जग्गा आफ्नो नाममा राख्न पाउँदैनन् । तर, गाउँमा बस्ने मानिसले भने आफ्नो नाममा जग्गा जमिन राख्न पाउँछन् । कसैले गाउँबाट सहरमा बसाइँ सरेको सरकारी परिचय पत्र बनाए उसले आफ्नो नाममा जग्गा जमिन राख्न पाउँदैन । मित्र फङले एक पटकको भेटमा भनेका थिए, “मैले पनि सहरको परिचय पत्र बनाएँ । अब मेरो नाममा कुनै जग्गा जमिन छैन । हिजोआज धेरै मानिस गाउँको सम्पत्ति त्यागेर पनि सहरको परिचय पत्र बनाउँछन् किनभने सहरमा आर्थिक अवसर धेरै छन् ।”

बीउ राख्ने स्थानीय तरिकाबारे जानकारी दिँदै स्थानीय किसान
फङकी आमा भने गाउँमै बस्छिन् । उनको नाममा भएको जग्गा जमिन उनको शेषपछि अब छोराको नाममा जानेछैन किनभने फङले सहरको परिचय पत्र बनाइसकेका छन् ।
अनि आमाको नामको जग्गा कसको हुन्छ त ? ‘सरकारको । चीनका सबै जमिन सरकारको हुन्छ । जनताले जग्गाको उपभोग मात्र गर्ने हो ।’
फङले यस्तो भन्दै गर्दा नेपाली प्रणालीको सापेक्षमा बुझ्न खोज्दा मेरो मनमा अझै पनि धेरै प्रश्न कुवामा पानी रसाएजस्तै रसाइरहेको थियो ।
चोङ ह छाङ बजारमा युवाहरू ज्यादै कम सङ्ख्यामा मात्र देख्दा पनि वरपरका जग्गा जमिन भने कतै बाँझो थिएन । सायद प्रविधिको विकासले खेतमा काम गर्ने मानिस कम भए पनि उत्पादनमा कमी हुन दिएको छैन । अघिल्लो दिन दिनभर पानी परेकोले आकाश निकै खुलेको थियो । पारिलो घामले वरपरको हरियाली र रनवन अझै गाढा हरियो र चहकिलो देखिएको थियो ।
हामी बसेका गाडीहरू गाउँका अलग अलग घरका आँगनमा रोकिए र हामी क्रमशः ती घरका आँगनमा जम्मा भयौँ । सबै घर पक्की र चौडा थिए । हामी पुगेको केहीबेरमा दुई जना अर्धवैश्य मानिस हातमा डालो र केही मालताल बोकेर आए । उनीहरूले डालोभरि धानको बिउ बोकेका थिए ।
चीनमा वसन्त याम (छुन चिचे) सकिएर गर्मी याम (स्या चिचे) आरम्भ हुने समयमा कुयु पर्व मानिन्छ । अप्रिल र मे महिनाको मध्यमा पर्ने यो पर्वमा पानी पर्ने, जाडो कम हुने र गर्मी बढ्दै जाने भएकोले खेतीपातीको याम आरम्भ गर्न यो पर्व मनाउने गरिन्छ । कृषि अर्थतन्त्रमा आधारित चिनियाँ समाजमा यो पर्वको विशेष महत्व थियो ।
त्यहाँ आएका दुई जना चिनियाँ किसानहरूले सिछुवानको गाढा लवजमा धानको बीउ राख्ने तरिका क्रमशः व्याख्या गर्दै गए । सिछुवानको गाढा लवजमा बोलिएको उनीहरूको व्याख्या हामीलाई बुझ्न हम्मेहम्मे परे पनि उनीहरूले गरेका सबै गतिविधि नियाल्दा उनीहरूको आशय बुझ्न हामीलाई उति गा¥हो भएन ।
थोरै भिजेको धानको बीउमा बलौटे पाँगो माटो अनि कुँडो मिसाएर उनीहरूले प्रत्येक धानका गेडा अलग अलग छुटिने गरी केहीबेर सानो चाक्लो भाँडोमा मज्जाले चलाए । भियतनामका मित्रहरू खुबै चाख मानेर उनीहरूसँग प्रश्न गरिरहेका थिए । उनीहरू भन्दै थिए, ‘हाम्रोतिर भन्दा अलि फरक रहेछ ।’
अफ्रिकीहरूलाई भने सिछुवानका किसानहरू सोध्दै छ, “तिमीहरूको देशमा पनि यस्तै गर्छन्, हो ?”

स्थानीय महिला सांस्कृतिक टोली
चिनियाँ गाउँका गाउँलेसँग जीवन्त अमूर्त सम्पदा नियाल्दै गर्दा लाग्यो, चिनियाँहरूसँग संसारलाई भन्न धेरै कुरा छन् । सिकाउन धेरै ज्ञान छ । सुनाउन धेरै कथा छन् ।
जसै धानको बीउ तयारी भयो, हातमा बटुकाभरि धानका तयारी बीउ बोकेर हामी लस्करै खेततिर झर्यौँ । आज हामीले बीउ राख्ने खेतका वरपर अनेक रङ्गका पताका ठड्याएका थिए । अघिल्लो दिनको वर्षाले खेत पुरै हिलाम्ये बनाएको थियो भने खेत पुग्ने साँघुरो गोरेटो पनि चिप्लो थियो । तथापि, सय जना विद्यार्थीहरू टाउकोमा चाक्लो घाम छेक्ने टोपी लगाएर लस्करै खेततिर लाग्यौँ ।
हाम्रो अघिल्तिर हिँडेका चिनियाँ किसान स्वाभाविक गतिमै हिलाम्ये खेतमा गए । केही विद्यार्थीहरू भने हिलाम्ये खेत देखेर अनकनाए । हामी केही जना भने एक एक गर्दै खेतमा झर्यौँ । असारमा खेत रोपिरहेका हामीलाई त्यो हिलोमा खेल्नु त हजार सुखको कुरा थियो । त्यहीमाथि विदेशी भूमिमा पनि आफ्नै गाउँघरमा जस्तै खेतमा खेल्न पाउनु भाग्यमानी हुनु हो । खेतमा झरेका पन्ध्र बीस विद्यार्थी लस्करै उभिएपछि बिचमा उभिएका किसान काकाले आफूले बोकेको भाँडोबाट दुई वटा लामा वाम माछा निकाले र सबैलाई देखाउँदै हिलोमा छोडे । अनि चिनियाँ भाकामा गीत गाएजस्तै केही बोले । वाम माछा हिलोमा कता हरायो । खेतीपाती राम्रो होस् भनी कुयु पर्वको बेला यसरी वाम माछा छोड्ने चिनियाँ परम्परा रहेछ । त्यसपछि हामी सबैले आफूले बोकेको बीउ क्रमशः खेतमा छर्दै गयौँ ।
जुम्ला र पश्चिम नेपालमा हिले बीउ लगाएको देखेको थिएँ । चोङ ह छाङका किसानहरूले पनि हिलोमै धानको बीउ छरेका थिए । तर, काठमाडौँ उपत्यकामा भने किसानहरूले ओसिलो र मसिनो पारिएको माटोमा धानको बीउ लगाउने गर्छन् ।

चीनका ग्रामीण क्षेत्रमा ज्येष्ठ नागरिक
दुईतिर सानो उचाइका पहाड र जङ्गलको बिचमा अवस्थित गाउँको गैरी खेत अनि खेत खेतसम्म पुग्ने कुलो, खेतीपातीमा निपुण किसानका खस्रो र बाक्लो हात, उनीहरूका निधारमा पसिनाले बनाएका धर्सा अनि जतिसुकै सुकिलो बनाउन खोज्दा पनि कतै न कतै खुजमुजिएका कमिज र सुरुवाल देख्दा मलाई लाग्यो ती सिछुवानका किसान मेरै आफन्त हुन् । मेरै वर्गका मानिस हुन् । उनीहरूले बोल्ने भाषा र मैले बोल्ने भाषा अलग छ । उनीहरूका संस्कृति र परम्परा र म हुर्केको संस्कृति र परम्परा भिन्न छ । उनीहरूको देशको नाम र मेरो देशको नाम फरक छ । तर, उनीहरू र मबिच कति धेरै समानता छन् । खासमा भिन्नताभन्दा पनि समानता धेरै छन् ।
पेचिङ र छन्तुका अग्ला भवन र ठुल्ठुला चहकिला विशाल बजार हेरेर चीन बुझ्न गा¥हो छ । अझै पनि काठका दुई वटा फ्याक राखेर शौचालय बनाइएका गाउँका घरमा बस्ने चिनियाँहरूलाई बुझेर मात्र चीन बुझ्न सकिन्छ सायद । तब त चीन अब धेरै विकसित भयो भन्ने अरुको फुस्रो प्रशंसाबाट चिनियाँ नेताहरू सजग छन् र भन्छन्, चीन अझै पनि विकासशील देश हो । गर्न बाँकी काम धेरै छन्, हिँड्नुपर्ने बाटो अझ लामो छ । सहरका चौडा सडकमा आएका परिवर्तन गाउँ पु¥याउने चीन सरकारको सदासय बुझेका चिनियाँ किसानहरू सरकारी अग्रसरतामा हातेमालो गर्न सक्रिय देखिन्छन् ।
चीनले छिचोलेको लामो उथलपुथलका साक्षी बनेका चोङ ह छाङका ती ज्येष्ठ किसानहरूलाई बिदा गरी हामी छन्तु फर्कियौँ । रात पर्न लाग्यो, जानु छ अझै धेरै टाढा ।
Leave a Reply