महाधिवेशन र कार्यकर्ताको दुखेसो
- असार १४, २०८३
भक्तपुर, ७ जेठ । “हामीले भौतिक विकासमात्र होइन, जनतालाई सैद्धान्तिक र वैचारिकरूपले सचेत र सङ्गठित गर्नुपर्छ ।”
उक्त भनाइ भनपा वडा नं. ९ कार्यालयद्वारा सोमबार आयोजित भक्तपुर नगरपालिकामा जनप्रतिनिधि बहाल भएको दुई वर्षको समीक्षा कार्यक्रममा भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले व्यक्त गर्नुभएको हो । नयाँ पुस्ता या युवाहरूमा राजनीतिक चेतना दिन नसक्दा पच्छिम बङ्गालमा विकास धेरै भए पनि कम्युनिस्ट पार्टी कमजोर हुँदै गएको उहाँले स्मरण गराउनुभयो ।
हरेक पुरानो अनुभव नयाँ पुस्ताको निम्ति ऊर्जा हुने हुँदा पुरानो अनुभव या इतिहास नयाँ पुस्तालाई जानकारी दिनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले शत्रुको प्रशंसाबाट सचेत हुनुपर्ने उल्लेख गर्नुभयो ।
भक्तपुर नगरपालिकाले नेपालको कानुनको घेराभित्र रहेर समाजवादी मोडेलअनुसार कार्य गरिरहेको चर्चा गर्दै शिशु स्याहारदेखि कलेज सञ्चालन, स्वास्थ्य, सम्पदा, सरसफाइमा पनि उदाहरणीय कार्य गरिरहेको बताउनुभयो ।
मौलिकता कायम गर्न, निर्माण कार्य गुणस्तरीय र भरपर्दाे बनाउन, अपनत्व कायम गर्न, स्थानीय स्रोत र साधन प्रयोग गर्न र गराउन तथा स्थानीय श्रम, सीप परिचालन गरी रोजगारीको व्यवस्था गर्न हरेक निर्माण कार्य उपभोक्ता समितिमार्फत कार्य गरिरहेको उल्लेख गर्दै उहाँले भक्तपुर देश विदेशका सरोकारवालाहरूको अध्ययन गर्ने र सिक्ने थलो बनिरहेको स्पष्ट पार्नुभयो ।
विकासको निम्ति स्थानीय जनताको एकता आवश्यक भएको स्पष्ट पार्दै नगर प्रमुख प्रजापतिले वाग्मती प्रदेश सरकारले संविधानअनुसार दिनुपर्ने विशेष अनुदान नदिएर पक्षपात गरेको बताउनुभयो ।
भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले वडाले गरिरहेको विविध गतिविधिको जानकारी दिँदै आउँदो आर्थिक वर्षको लागि गरिने योजनाहरूको निम्ति सुझाव दिन आग्रह गर्नुभयो ।
उहाँले ख्वप अस्पतालको पुरानो भवनको मर्मत सम्भार, शौचालय, ब्रह्मायणी मन्दिर परिसर वरपरको सुधार, खानेपानी वितरण, पीच, पेटीमा ब्लक छाप्ने, स्वास्थ्य शिविर, परम्परागत खेल सञ्चालन, शैक्षिक ऋण, रोजगारी कार्यक्रम, तालिम, छात्रवृत्ति, पुस्तक प्रकाशन आदिबारे जानकारी दिनुभयो ।
पूर्ववडाध्यक्ष कृष्णभक्त लवजुले पार्टीको सिद्धान्त र विचारअनुसार निर्वाचनमा भाग लिई पार्टीको घोषणापत्र र जनताको सल्लाहअनुसार जनप्रतिनिधिहरूले काम गरिरहेको उल्लेख गर्दै घोषणापत्र काम गर्ने मार्ग हो भन्नुभयो ।
वडा सदस्य इन्द्रबहादुर प्याथले स्वागत गर्दै व्यायामशाला, छिकोङ, स्वास्थ्य शिविर, कम्पोस्ट मल, माटो परीक्षण, बीउ वितरण आदिबारे जानकारी दिनुभयो ।
अर्का वडा सदस्य छोरीमैँया सुजखूले कार्यक्रमको औचित्यबारे प्रकाश पार्नुभयो ।
सो अवसरमा प्राविधिक अर्हत् बज्राचार्यले आर्थिक वर्ष ०७९/०८० र ०८०/०८१ मा वडामा भए गरेका विकास कार्य र मर्मत सम्भारको जानकारी दिनुभयो ।
त्यस्तै, वडाका नर्स दिव्या सुवालले घरदैलोअन्तर्गतको स्वास्थ्य सेवाबारे जानकारी दिनुभयो ।
Leave a Reply